नेपाली चेली डा. विष्णुमाया परियारलाई अमेरिकी शहर जर्सी सिटीबाट ‘वुमन एक्सन अवार्ड’
प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार
नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट वुमन हिस्ट्री मन्थ (मार्च) को अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला कृयाशील पुरस्कार) द्वारा सम्मानित हुनु भएकोछ। जर्सी सिटी मेयरकी सल्लाहकार डा. परियारले उक्त शहरमा अल्पसंख्यक समुदायको लागि निरन्तर सकृय र सबल नेतृत्व प्रदान गर्दै उल्लेखनीय सामाजिक कार्य गरेको कदर स्वरूप उक्त ‘वुमन एक्सन अवार्ड’ पुरस्कारद्वारा सम्मानित हुनु भएको हो।
डा. परियारको नेतृत्वमा सन् २०१५ र २०१८ मा अमेरिकामा रहेका नेपालीहरूको लागि जर्सी सिटी काउन्सिलबाट टिपिएस रिजोलुसन पास गराउन सफल हुनुभएको थियो भने सन् सन् २०१७ को जुन ३० तारिख नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपबाट अमेरिकी भूमि सिटी हलमा पहिलो पटक नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन सम्पन्न गराउन सफल हुनुभएको थियो । सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकी शहर हो ।
त्यसैगरी, जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेष दूत) को रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यसै वर्ष सन् २०१९ को जनवरी २४ तारिख अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सिस्टर सिटी बनाउने सफलता मिलेको थियो। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन उनकै पहल र काउन्सिल प्रेसिडेण्ट रोलान्डो लाभारोको अगुवाईमा जर्सी सिटी काउन्सिलद्वारा गत डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो।अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो।
View this post on Instagram
डा. विष्णुमाया परियारले आफू संस्थापक अध्यक्ष बनेर सन् १९९८ देखि सुरु गरेको संस्था एड्वानले हालसम्म नेपालका सात जिल्लाहरुका २७ गाबिसमा स्थापित २९२ महिला समूहहरु मार्फत झण्डा ५० हजार महिला तथा उनीहरुका परिवारका सदस्यहरु र ३५ बिद्यालयहरुका २३ हजार भन्दा धेरै बालबालिकाहरुलाई बिविध सामाजिक र शैक्षिक परियोजनाहरू सन्तालन गरी लाभान्बित गरिसकेको छ ।
विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रीय पुरस्कारहरूबाट सम्मानित भईसक्नु भएकी नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको नाममा अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरले सन् २०१५ को सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको थियो भने विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा. परियारलाई सम्मानित गरिसकेको छ ।








