आज श्रीपंचमी, विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी मनाइदै
प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार
आज माघ शुक्ल पंचमी अर्थात् श्रीपंचमी विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी मनाइदैछ । आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिईने गरिन्छ । विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ-अफ्ना कला साधनाका उपादानहरु कापी(कलम, वाद्यययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन । देशभरका विभिन्न सरस्वती मन्दिरहरुमा बिद्यार्थीहरु देवी सरस्वतीको पूजा गरेर मनाएका छन् । आज सरस्वतीको पूजा गरी विद्याराम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
आज विवाह, ब्रतबन्ध र बेलविवाह जस्ता सामाजिक तथा धामिर्क कार्य गर्न साइत हेर्नुपर्दैन । आज बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक(कान छेड्ने गरिन्छ । काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारा स्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि बढ्ने र चेतनाको ज्योति पाइन्छ भन्ने विश्वास छ । यसैगरि आज काठमाडौको हनुमानढोका स्थित नासलचोकमा पुरोहित बाट बिधिपुर्वक कथा बाचन गरि वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । यसैबीच वसन्तपचमीकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौंको वसन्तपुरमा वसन्तश्रवण गर्नुहुनेछ ।







