प्रदेश २ का मन्त्री यादवले आफ्नै कार्यकक्षमा सचिव कुटे
प्रकाशित मिति : पुस २९, २०७५ आईतबार
प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मन्त्रालयका सचिवलाई कुटपिट गरेका छन ।
मन्त्री यादवले आइतबार उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन ।
संघीय सरकारले सशर्त अनुदान अन्तर्गतको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका लागि आफ्नो गैरसरकारी संस्थालाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको सचिव झाको आरोप छ ।
कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाले आशयपत्र दिएका थियो । त्यसमा ४० वटा संस्था छनोट भएको थियो । सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मुख्य ढोकामा धर्ना दिएका थिए ।
मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मन्त्री यादवले भने आफूले नकुटेको दाबी गरेका छन । वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश नम्बर २ को मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो ।






