खाजा कटौतीपछि विद्यालय जानै छाडे चेपाङ बालबालिका !


प्रकाशित मिति : पुस २३, २०७५ सोमबार

कृष्ण आचार्य /

२०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् ।

खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै कमजोर भएका चेपाङ समुदायका बालबालिकाको विद्यालयमा भर्नादर र उपस्थिति दर बढेको थियो तर भदौदेखि सरकारले दिँदै आएको खाजा कार्यक्रम हटेपछि चेपाङ समुदायका विद्यार्थी विद्यालयमा नियमित हुन सकेका छैनन् ।

चेपाङ समुदायका बालबालिका मात्रै अध्ययन गर्दै आइरहेको राप्ती नगरपालिका–१३ कालीटारको आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठ खाजा कार्यक्रम हटेपछि विद्यार्थीलाई नियमित बनाउन धौँधौँ भइरहेको बताँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“पाँच महिनादेखि विद्यालयमा विद्यार्थी नियमित आउने दर कम छ” उनले भने, “विद्यालय आउने विद्यार्थी पनि खाना नखाई न्याउरो मुख लगाएर आउने गरेका छन् ।” चिसो बढी भएकाले र भौगोलिक विकटताका कारण पनि बालबालिका नियमित हुन नसकेको श्रेष्ठको भनाइ छ ।

चिसोमा लगाउने स्वीटरसमेत नहुँदा कतिपय बालबालिका नियमित हुन सकेका छैनन् । आधारभूत विद्यालयमा पैदल एक घण्टासम्म हिँडेर बालबालिका विद्यालय आउने गरेका छन् ।

१७२ चेपाङ बालबालिका अध्ययन गर्ने आधारभूत विद्यालयमा अहिले ४० देखि ५० जना मात्रै नियमित विद्यालय आउने गरेका छन् । वडा नम्बर १३ को ग्यामिराङ, थानडाँडा, खोलाधारी, कुमैटारलगायतका क्षेत्रबाट अध्ययनका लागि विद्यार्थी आधारभूत विद्यालयमा आउने गरेका छन् ।

राप्ती नगरपालिकाकै वडा नम्वर १३ को राष्ट्रिय आधारभूत विद्यालयमा पनि विद्यालयमा विद्यार्थी नियमित नहुने समस्या उस्तै छ ।

विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार शाहले ८५ विद्यार्थीमध्ये आधा विद्यार्थी मात्र नियमित विद्यालय आउने गरेको बताए । ८५ मा ८४ जना चेपाङ बालबालिका र एक जना दलित विद्यार्थी छन् । शाहले भने, “डेढ/दुई घण्टा हिँडेर विद्यार्थी विद्यालय आउनुपर्ने बाध्यता छ, गरीबीका कारण सबै अभिभावकले विद्यालय पठाउँदैनन् ।”

धेरै बालबालिका हुने घरमा आमाबुबा मेलापात जाने र विद्यालय आउने उमेरका बालबालिकालाई भाइबहिनी हेर्न लगाउने गरिएको छ । कतिपय विद्यालय आउने बालबालिकासँग न्यानो कपडा, कपीकलम र झोला नहुने शाहकाे भनाइ छ ।

फाइल तस्वीर

खाजा कार्यक्रम हुँदासम्म विद्यार्थीलाई विद्यालयमा टिकाउन सहज भएको थियाे । ठूलो सङ्ख्यामा विद्यालय बाहिर रहेका विद्यार्थीलाई स्कूलमा तान्न र टिकाइराख्न दिवाखाजा प्रभावकारी बनेको राप्ती नगरपालिकाका शिक्षा अधिकृत हुमाकान्त अधिकारी बताउँछन् ।

केन्द्रले बजेट कटौती गरेका कारण नगरपालिकाको स्रोत साधनले खाजा कार्यक्रमलाई निरन्तरता दिन नसकेको उनकाे भनाइ छ।

“नगरपालिकाभित्रका चेपाङ बालबालिकाका लागि मात्रै खाजामा करीब रु ४५ लाख खर्च हुन्छ, अधिकारीले भने, “नगरपालिकाले छुट्टाएको रु १० लाख बजेटले सीमित क्षेत्रलाई पनि पुग्दैन् ।”

नगरपालिकाको पहाडी क्षेत्रको १०, ११ १२ र १३ नम्बर वडामा दुई हजार ८०० विद्यार्थीमध्ये दुई हजार २०० चेपाङ बालबालिका मात्रै रहेका छन् । अन्य ६०० मा पनि अधिकांश जनजाति समुदायका विद्यार्थी छन् ।

भौगोलिक विकटतासँगै घरमा समयमै खाना खान नपाउने भएकै कारण बालबालिका विद्यालयसम्म आउने वातावरण नबनेको अधिकारीको भनाइ छ । उनले बालबालिकालाई नियमित बनाउन न्यानो कपडा वितरण, छलफल, अन्तक्र्रियालगायतका कार्यक्रम निरन्तर गरिरहेको जानकारी दिए ।

बालबालिका टिकाउन विद्यालयमै छात्रावास 

राप्ती नगरपालिकाले पहाडी क्षेत्रका बालबालिका विद्यालयमा टिकाउन छात्रावासको व्यवस्था गर्ने भएको छ । केही विद्यालयमा छात्रावास निर्माण भइसकेका छन् भने केही निर्माण हुने चरणमा छन् ।

राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले भौगोलिक विकटताका कारण बालबालिका समयमै विद्यालय उपस्थित हुन नसकेपछि विद्यालयमै छात्रावासको व्यवस्था गर्न लागिएको बताए ।

वडा नम्बर ११ को थाकलटारमा छात्रावास निर्माण भई सञ्चालनमा आएको छ भने वडा नम्बर १२ को यउरालीटारमा छात्रावास निर्माणाधीनको अवस्थामा रहेको प्रमुख बरालले बताए । अन्य विद्यालयमा पनि छात्रावास निर्माणको लागि प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । (रासस)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com