बीपीएलमा पनि चम्किए सन्दीप, डेब्यु खेलमा लिए दुई विकेट
प्रकाशित मिति : पुस २२, २०७५ आईतबार
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको डेब्यु खेलमा चम्किएका छन् । उनले आइतबार डेब्युु खेलमै शानदार प्रदर्शन गरेका छन् । सन्दीपले बीपीएलको डेब्यु खेलमा आइतबार दुई विकेट लिए ।
कोमीला भिक्टोरियन्सविरुद्ध डेब्यु गरेका सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका हुन् । उनले सोयव मलिकलाई १३ रनमा आउट गरे भने इनामुल हकलाई ५ रनमा बोल्ड गरे ।
सन्दीपको टोली सिलेट सिक्सर्स पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्ससँग चार विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सिलेटले २० ओभरमा आठ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो ।
एक सय २८ रनको विजय लक्ष्य पछ्याएको कोमिल्लाले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । सन्दीप अष्ट्रेलियाको बिग बास लिगमा चार खेल खेलेर उतैबाट बीपीएल खेल्न बंगलादेश गएका हुन् । सन्दीपले बिग बासमा खेलेमा चार खेलमा आठ विकेट लिएका थिए ।






