२ हजार रुपयाको नोट छपाई बन्द
प्रकाशित मिति : पुस २१, २०७५ शनिबार
भारतले त्यहाँको सबैभन्दा ठूलो कागजी नोट दुई हजार रुपयाको छपाई बन्द गरेको छ । अहिले प्रचलनमा पर्याप्त नोटहरु भएकोतर्फ औल्याउँदै सरकारले छपाइ बन्द भएको संकेत गरेको हो । अहिले वित्तीय प्रणालीमा रहेका कुल नोटहरुमा २ हजार रुपयाका हिस्सा ३५ प्रतिशतभन्दा बढी भएकोले तत्कालै नोट छाप्नेबारे कुनै निर्णय नगरिएको आर्थिक मामिला सचिव सुभाष चन्द्र गर्गले एक ट्विटमा शुक्रवार भने ।
सन् २०१६ को नोभेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले नोटबन्दीको अभियानअन्तर्गत ५ सय र १ हजारका कागजी नोट बदर गरेको थियो । त्यसलगत्तै वित्तीय प्रणालीमा देखिएको संकट कम गर्न रिजर्व बैङ्क अफ इण्डिया (आरबीआई)ले नयाँ पाँच सयको नोटसहित २ हजार रुपयाको नोट जारी गरेको थियो ।
आरबीआईको तथ्यांकअनुसार सन् २०१७ को मार्चसम्ममा वित्तीय प्रणालीमा ३ अर्ब २८ करोड ५० लाख थान दुई हजार रुपयाको नोट थियो । सन् २०१८ को मार्चसम्मा भने यो संख्या बढेर ३ अर्ब ३६ करोड ३० लाख थान पुग्यो ।






