मोहनविक्रमका लुगामा जुम्रैजुम्रा भेटेँ


प्रकाशित मिति : पुस २१, २०७५ शनिबार

नेकपा मसालका महामन्त्री मोहनविक्रम (एमबी) सिंह, ६५ वर्षदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् । एमबीले २९ वैशाख ०५७ मा आफूभन्दा ३७ वर्ष कान्छी दुर्गा पौडेलसँग बिहे गरेपछि पार्टीभित्रै तीव्र विरोध भयो ।

सम्बन्धविच्छेद गर्नुपर्नेसम्मको बहस भयो । अनमेल विवाह भनेर विरोध गर्नेहरूको पार्टीमा बहुमत पुगेपछि एमबीले बरु महामन्त्रीबाट राजीनामा दिए, दाम्पत्य जीवनलाई जोगाइराखे । अहिले प्रतिनिधिसभा सदस्यसमेत रहेकी दुर्गा पौडेलले प्रेम, विवाह र मोहनविक्रम महामन्त्रीबाट हट्दाको क्षण नयाँ पत्रिकाकर्मी प्रेम गौतमसँग स्मरण गरेकी छिन् ।

विद्रोही स्वभावले राजनीतिक यात्रा

मेरो स्वभाव सानैदेखि विद्रोही थियो । म आफैँलाई पनि प्रश्न गर्थेँ, बाबासँग पनि प्रश्न गर्थेँ, ‘छोरालाई अंश दिने, छोरीलाई नदिने कारण के ?’ बाबा ‘तिमीले भनेको ठीक हो, तर पहिलेदेखि नै चल्दै आएको, छोराले नै काजक्रिया गर्ने भएकाले होला’ भन्नुहुन्थ्यो । ‘छोरीले काजक्रिया गर्न नसक्ने हो ?’ भनेर प्रश्न गर्दा बाबा ‘गर्न सक्छन्’ भन्ने जवाफ दिनुहुथ्यो । मैले यस्ता प्रश्न गर्दा अलमलमा पर्नुहुन्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्को, कसैलाई अन्याय प-यो भने त्यसमा जुट्थेँ । आफू सानो भए पनि ठुल्ठूला केस मिलाउन जाने गर्थेँ । गाउँमा श्रीमान्ले श्रीमतीलाई पिट्ने धेरै हुन्थ्यो । त्यसवेला गाउँ पञ्चायतमा जाने, अंश मिलाइदिनेजस्ता काममा सहभागी हुन्थेँ । गाउँमा केही समस्या भयो कि मलाई बोलाउँथे, म गएर मिलाइहाल्थेँ ।

यसरी अन्यायविरुद्ध जुधिहाल्ने स्वभावका कारण अखिल छैटौँमा संगठित भएर काम गर्न पुगेँ । देवराज पौडेल दाइलगायतले कन्भिन्स गरेपछि ०४२ तिर एकाइ समितिमार्फत विद्यार्थी संगठनमा आबद्ध भएँ । त्यहीँबाट जिल्ला कमिटीमा पनि गएँ । मिटिङ बस्न पनि शनिबारको दिन जंगलमा जानुपथ्र्यो । विद्यार्थी जीवन, हप्तामा एकदिन छुट्टी मिल्थ्यो, त्यो दिन नुहाई–धुवाई गर्छु, कपडा धुन्छु भन्दा पनि संगठनका दाइहरू लिन आइसक्नुहुन्थ्यो । मेरा साइँला दाइ शिव पौडेलले संगठनको मिटिङका लागि जंगलमा लानुहुन्थ्यो ।

मिटिङअघि एउटा गीत सुनाउनुभयो । त्यतिखेरको गीत मलाई अहिले पनि याद छ, ‘संगठन दह्रो चाहिन्छ यहाँ फलामे किल्लाको, अधिकार यहाँ चाहिन्छ भोका र नांगाको ।’ त्यो गीतको भाव मन प-यो । यसरी ‘भोका र नांगा’का लागि अखिल छैटौँबाट मैले राजनीतिक जीवन सुरु गरेँ । त्यसपछि अखिल नेपाल महिला संघको जिल्ला समितिमा रहेर काम गर्न थालेँ । एकैसाथ विद्यार्थी, महिला र सांस्कृतिक टिममा पनि थिएँ ।

त्यति नै वेला अखिल भारत–नेपाल विद्यार्थी संघको कार्यक्रममा भारत गएँ । त्यो पहिलो भारत यात्रा थियो । संगठनको जिम्मा लिँदै, जिम्मेवारी पूरा गर्दै गएँ । त्यतिवेला धेरै अप्ठ्यारो थियो । मसँग पढ्ने साथीहरू संगठनको काममा हिँड्न कोही पनि मान्दैनथे । संगठनमा लागेको थाहा भयो भने पुलिसले लगिहाल्थ्यो । बाबा पनि प्रगतिशील सोचको हुनाले संगठनमा लाग्न मलाई केही सहज भयो । बाबासँग संगठनमा आबद्ध भएको विषयमा कुरा गर्दा उहाँ भन्नुहुन्थ्यो, ‘धेरै अप्ठ्यारो बाटो हो यो छोरी, यस्तो समयमा महिलाले राजनीति गर्न धेरै कठिन हुन्छ ।

म पार हुन्छु, जिन्दगीमा निरन्तर लाग्छु भन्ने हो भने ठीक छ । खोला तर्नेक्रममा तिघ्रा कमाउने स्थिति आयो भने गाह्रो हुन्छ । अहिले नै केही बिग्रेको छैन । संगठनमै हिँड्नुभन्दा समर्थकजस्तो भएर अन्यायविरुद्ध लाग्दा हुन्छ ।’ मैले ‘मलाई त यही बाटो मन प-यो’ भनेपछि बाबाले ‘सक्छौ भने जाऊ’ भन्नुभयो । राजनीतिक यात्रा निरन्तर जारी रह्यो, त्यही जोस, जाँगर र लगनले अहिले यहाँसम्म आइपुगेकी छु ।

मोहनविक्रमसँगको पहिलो भेट

उत्तरप्रदेशको सुरतगन्ज, ०४३ मा । प्रशिक्षण थियो । उहाँ (मोहनविक्रम सिंह) प्रशिक्षण दिन आउनुभएको थियो । त्यो अखिल भारतीय नेपाली विद्यार्थी संघ (अभानेविसंघ)को कार्यक्रम थियो । उहाँ आउनुभयो, प्रशिक्षण दिनुभयो, अनि सोध्नुभयो, ‘तपाईंहरूलाई के गरे हुन्थ्यो जस्तो लाग्छ ?’ मैले त्यतिवेला उहाँलाई भनेको थिएँ, ‘महिलाका लागि एउटा राम्रो क्लासको आवश्यकता छ । सबभन्दा पहिला महिलालाई प्रशिक्षित गराउनु जरुरी छ । त्यतातिर पार्टीले ध्यान दिए राम्रो हुन्थ्यो ।’

च्यादर ओढेर आउनुभएको थियो, कार्यक्रम सकिएपछि गइहाल्नुभयो । प्रशिक्षणमा लिडर आउनुभयो भन्ने भयो, तर को लिडर भन्ने थाहा भएन । नाम पनि कसैले सोधेनन् । भोलिपल्ट हामी नेपाल फर्कनेवेला एकजनाले सोध्नुभयो । ‘हिजो क्लास लिने लिडरलाई तपाईंहरू चिन्नुहुन्छ ?’ हामी त चिन्दैनौँ भनेपछि उहाँले भन्नुभयो, ‘मोहनविक्रम सिंह’ । त्यतिवेला ‘ए नाम त सुनेको हो तर चिनिएन’ भन्यौँ । उहाँको अनुहार पनि राम्रोसँग ख्याल गरिएन ।

पार्टीले महिला संगठनको भेला राख्यो, भारतको गोरखपुरमा । दुईमहिने प्रशिक्षण थियो । त्यो भेटमा मैले उहाँलाई राम्रोसँग चिनेँ । त्यहाँ मोहनविक्रम सिंह, चित्रबहादुर केसीलगायत मुख्य–मुख्य नेता सबै हुनुहुन्थ्यो ।

हाम्रो उमेर मिल्दैनथ्यो, तर महिलालाई हेर्ने उहाँको दृष्टिकोणका कारण म प्रभावित भएँ । महिलालाई सम्मान गर्ने, महिला अगाडि आए हुन्थ्यो भन्ने, कोही महिलाले पढ्न खोजे, अगाडि बढ्न कोसिस गरे भने प्रोत्साहन गर्ने उहाँको स्वभाव थियो । लेखेको लेख्यै, पढेको पढ्यै गर्नुहुन्थ्यो । लेख्दा–पढ्दा उहाँका कापी–किताब छरपस्ट हुन्थे । कतिपय अवस्थामा हामीले पनि मिलाइदिन्थ्यौँ । त्यतिवेला मैले उहाँलाई अभिभावकका रूपमा हेरेको थिएँ । सोही रूपमै मद्दत गरिन्थ्यो । उहाँको स्वभावबाट धेरै प्रभावित भएँ ।

सहयोग नै प्रेममा परिणत 

ठ्याक्कै मिति याद भएन, त्यसपछि पनि भेट हुँदै गयो, पार्टीकै कामले । पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै अगाडि बढेँ । जिम्मेवारीका हिसाबले पनि उहाँसँग भेट हुन्थ्यो । पछि उहाँलाई मद्दत गर्न, सहयोग गर्न मन लाग्न थाल्यो । उहाँको जिन्दगी एकदमै अप्ठ्यारो देखिन्थ्यो । पार्टीको काम सकेर अरू सबै आ–आफ्नो ठाउँ लाग्थे, तर उहाँ भने काममै खटिनुहुन्थ्यो ।

एकदिन मैले ‘काममा मात्र कति खटिनुहुन्छ, जाऔँ हाम्रो घरतिर’ भनेँ । उहाँले ‘जिम्मेवारी धेरै छ, जान सम्भव छैन’ भन्नुभयो । उहाँ महसुस गर्नुहुन्थ्यो कि हुन्थेन, त्यो त थाहा थिएन, तर बाहिरबाट हेर्दा कठिन नै लाग्थ्यो । त्यही कारण पनि बढीभन्दा बढी मद्दत गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । उहाँलाई मद्दत गर्दागर्दै सहयोगी भावना नै प्रेममा परिणत भयो, प्रेम गर्न लागेँ ।

मैले लाइफ पार्टनरमा हुनुपर्ने सबै गुण उहाँमा देखेँ । सुरुदेखि नै मलाई के लाथ्यो भने– मैले बिहे गर्ने केटा रक्सी नखाने, जुवातास नखेल्ने र महिलालाई सम्मान गर्ने परे हुन्थ्यो । तीन–चार वर्ष भइसकेको थियो, उहाँलाई मैले राम्रैसँग माया गर्न थालेको । उहाँले पनि माया गर्नुहुन्छ भन्ने लाथ्यो । बिहे नै हुन्छ, यसरी जिन्दगी बिताउँछौँ भन्ने त त्यतिखेर थाहै थिएन । सम्मान, माया र विश्वासचाहिँ थियो ।

बिहे प्रस्तावको त्यो क्षण

प्रेम प्रस्ताव न मैले राखेँ, न त उहाँले नै राख्नुभयो । पार्टीकै कतिपय कमरेडले ‘बिहे गर्नका लागि राम्रो केटा खोज्नुपर्छ’ भन्नुहुन्थ्यो । पछि उहाँलाई पार्टीकै कमरेडहरूले प्रस्ताव गर्नुभएछ, ‘दुर्गाजीसँग बिहे गर्दा राम्रो हुन्छ ।’ मोहनजीले ‘उहाँलाई नै सोध्नुपर्छ, के भन्नुहुन्छ ?’ भन्नुभएछ । अनि पार्टीबाट साथीहरूले मलाई सोध्नुभयो, ‘मोहनजीसँग बिहे गर्ने हो ?’ त्यतिवेला म पनि अक्क न बक्क परेँ । हुन्छ भन्दा ठीक हो कि हुन्न भन्दा, निक्र्योल गर्न सकिनँ । बिहेको डिसिजन गर्ने कुरा गाह्रो हुँदोरहेछ । बाँकी नयाँ पत्रिकामा 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com