भारतीय बजारमा नेपाली उपभोक्ता किन धाउँछन? यस्तो छ कारण


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

दशैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपर्छ ।

नेपालगञ्ज सदरलाइनमा जुत्ता चप्पलको व्यापार गर्दै आउनुभएकी मिरा सिलवालको गुनासो हो यो । दशैंलाई लक्ष्य गरेर नेपालगञ्जमै व्यापारीहरुले नयाँ नयाँ सामान मगाए पनि सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा जाने गरेको सिलवाल बताउनुहुन्छ ।

दशैंको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित छन् । यो समस्या अहिलेको होइन । नेपाली उपभोक्तालाई नेपालगञ्जमै रोक्ने लक्ष्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गर्दछ तर, निर्वाचन पछि सेलाउँछ । सङ्घका अध्यक्ष नन्दलाल वैश्य भन्नुहुन्छ – “हामीले सङ्घको तर्फबाट धेरै नै प्रयास गरेका छौं ।

हाम्रो मात्रै प्रयासले केही हुन सकेको छैन ।” सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहाप्रति आकर्षित भएका बताइन्छ । उहाँका अनुसार सस्तोमा पाइने लोभमा खाद्यान्नदेखि लत्ता कपडासम्मको किनमेलका लागि नेपाली उपभोक्ताको सीमावर्ती भारतीय बजार रुपैडिहामा भीड लाग्ने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालगञ्ज उपमहानगरपालिका वडा १० की गृहिणी मंगली श्रेष्ठको बुझाइमा नेपालगञ्जका व्यापारीहरुले पसलै पिच्छे फरक फरक दरमा सामान बेचेर विश्वास गुमाएका छन् ।

उहाँ भन्नुहुन्छ – “यहाँ एउटै सामानको दर फरक फरक हुन्छ । ग्राहकलाई राम्रो व्यवहार पनि हुँदैन । त्यसैले रुपैडिहा जान्छन् ।” सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको बाक्लो उपस्थितिले नेपालगञ्जका व्यापारीलाई वर्षौंदेखि पिरोल्दै आएको छ ।

सरकारी निकायको उदासीनताका कारण नेपालगञ्जमा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताउनुहुन्छ ।

“गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, भारतीय व्यापारीको तुलनामा नेपालगञ्जका व्यापारीहरुले प्रतिष्पर्धात्मक व्यापार गर्न नसक्नु र रुपैडिहामा सस्तोमा पाइन्छ भन्ने भ्रम चिर्न नसक्नु कमजोरी हो,” अध्यक्ष गौतमले भन्नुभयो – “नेपालगञ्जका व्यापारीमा उपभोक्ता आकर्षण गर्ने व्यावहारिकता भन्दा पनि वस्तु तथा सेवा लाद्ने गलत प्रवृत्ति रहेको छ ।”

चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहामै निर्भर रहने गरेका छन् । नेपालगञ्जमै सस्तो पाइने सामान किन्नसमेत नेपाली उपभोक्ता भारतीय बजार जाने गरेका छन् ।
“हामीले बेला बेलामा उपभोक्ता जागरण कार्यक्रम गरेर सम्झाउने काम गरेका छौं,” नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैश्य भन्नुहुन्छ – “तर, भारतीय बजारमा सबै सामान सस्तो पाइन्छ भन्ने भ्रम हट्न सकेको छैन ।”

सङ्घको तथ्याँक अनुसार भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताले प्रत्येक दिन करीब रु पाँच करोड मूल्य बराबरको घरायसी सामान खरिद गर्ने गरेका छन् । सङ्घ अन्य संस्थाहरुको सहयोगमा नेपालगञ्जमा दशैं सस्तो बजार सञ्चालन गरेर रुपैडिहा किनमेल गर्न जाने नेपाली उपभोक्तालाई स्वदेशमै रोक्ने तयारीमा छ । यो समस्यालाई कम गर्न यसपाली नेपालगञ्जमा दशैं सस्तो बजार सञ्चालन गर्न थालिएको अध्यक्ष वैश्यले बताउनुभयो ।

नेपालगञ्जमा पाइने नेपाली उपभोग्य वस्तु सस्तो र गुणस्तरीय भए पनि जानकारीको अभावमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहामा जाने गरेको नेपालगञ्ज वितरक सङ्घका अध्यक्ष अमित बस्नेत बताउनुहुन्छ ।

दशैंको किनमेल नेपालगञ्जमै गराउन यसपाली यहाँका व्यापारी र उपभोक्तामा सचेतना जगाई दशैं सस्तो बजार सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । सीमावर्ती भारतीय बजार रुपैडिहामा खरिद गर्न जाने उपभोक्तालाई स्वदेशी वस्तुको मूल्य र गुणस्तरबारे जानकारी गराई नेपाली उत्पादनको प्रवद्र्धन गर्ने यसको उद्देश्य हो ।

नेपाली बजारमै वस्तुको मूल्य सस्तो हुँदाहुँदै भारतीय बजार जाने उपभोक्तालाई लक्ष्य गरेर नेपालगञ्जस्थित विभिन्न वस्तुगत सङ्घको समन्वयमा एकहप्ते दशैं बजार सञ्चालन गरिने अध्यक्ष बस्नेतले बताउनुभयो ।

बेलाबखत गरिने उपभोक्ता सचेतनाका कार्यक्रम र पर्व केन्द्रित सस्तो बजार सञ्चालन गर्दैमा भारतीय बजार जाने उपभोक्ताको मन परिवर्तन हुने सङ्केत देखिँदैन । त्यसैले नीतिगत तहबाटै योजनावद्ध रुपमा भन्सार कार्यालय, सम्बद्ध सरकारी कार्यालय र नागरिकसँग सहकार्य गरी नियमित पहल गर्नुपर्ने खाँचो छ ।

उपभोक्ताले सस्तो खोज्नु स्वाभाविकै हो । यहाँका व्यापारीको व्यवहार पनि गलत रहेकाले उपभोक्तासँगै व्यापारीलाई जागरुक गर्न जरुरी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com