ब्रिटिस आर्मी छाडेर अभिनयमा लागेका धिरेन शाक्यको यस्तो छ रोचक भित्रि कथा


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

पाल्पास्थित तानसेन बजारमा सम्पन्न परिवारमा धीरेन शाक्य जन्मिए । उनी सानैदेखि खेलक्षेत्रमा आकर्षित थिए । पहिले फुटबल, त्यसपछि क्युकोसिन कराते र व्यायाम उनको जीवनशैली नै बन्यो । अभिनय यात्रा सुरु गर्नअघि उनले ब्रिटिस आर्मीमा भर्ती हुने प्रयास पनि गरेका थिए ।

‘लहैलहैमा भर्ती हुन गएको थिएँ । मेडिकल, फिजिकललगायत सबै परीक्षा पास गरेपछि अन्तिम अवस्थामा स्वेच्छाले नै क्याम्प छाडेर हिँडेँ,’ धीरेनले भने, ‘त्यतिवेला छनोट हुनेहरूले हङकङमा गएर महिनौँसम्म जंगलमा प्रशिक्षण लिनुपर्ने हुन्थ्यो । ६ महिनामा एकपटक मात्रै छुट्टी पाइन्थ्यो । यी र यस्तै कुरा बुझेपछि मेरो रहर मरेको थियो ।’

यसपछि उनको यात्रा मोडियो । घरनजिकका साथीहरूले मिलेर भिडियो फिल्म ‘प्रतीक’ बनाउने निष्कर्ष निकाले । त्यसमा धीरेनले पुलिसको रोल गर्ने भए । यो फिल्मको सुटिङका दौरान उनलाई निर्माता तथा निर्देशक फुर्वाछिरिङ गुरुङले नोटिस गरे ।

‘हामी सुटिङ गर्दै थियौँ । त्यतिवेला फुर्वा पाल्पा आउनुभएको रहेछ । उहाँले मलाई देख्नुभएछ । यो कुरा मलाई धेरैपछि भन्नुभयो,’ धीरेनले भने, ‘उहाँलाई पनि मजस्तै एउटा नयाँ कलाकार चाहिएको रहेछ । अनि यो कुरा सन्तोष चलचित्र मन्दिरका सञ्चालक चिरन लिगलसँग गर्नुभएछ । चिरनका भाइ हाम्रा साथी थिए । अनि फिल्म बनाउने क्रममा उनले पनि हामीलाई सहयोग गरिरहेका थिए ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिरनले नै नयाँ चलचित्रका लागि फुर्वाले धीरेनलाई रोजेको बताए । तर, हिरो खेल्नका लागि केही महिना डान्स र एक्सनको टे«निङ लिनुपर्ने सर्त फुर्वाको थियो । धीरेनलाई यतिवेलासम्म फिल्मको नाम नै थाहा थिएन । तैपनि, हिरो बन्ने आसमा उनी पाल्पाबाट काठमाडौं आए ।

‘म ठमेलमा बस्थेँ । डान्स र फाइटको प्रशिक्षण लिन्थेँ । नियमित जिम गर्थेँ,’ धीरेनले भने । यति नै वेला उनी काठमाडौंमा नृत्य निर्देशक वसन्तजंग रायमाझीसँग नियमितजसो सम्पर्कमा हुन्थे । पाल्पा घर भएका रायमाझीको धीरेनका काकासँग राम्रो मित्रता थियो । उनले धीरेनलाई हिरो बन्नका लागि उत्साहको सञ्चार गराइदिन्थे र राम्ररी तयारी गर्न हौसला दिन्थे ।

सबै राम्रो चल्दै थियो । एक दिन धीरेनलाई फुर्वाले भेट्न बोलाए । धीरेनले सोचेका थिए, अब फिल्मको सुटिङ सुरु हुने भयो । ‘सुटिङ त सुरु हुनेवाला नै रहेछ । तर, मलाई त्यस फिल्ममा कुनै रोल नदिने सहमति निर्र्माताहरूबीच भएछ,’ धीरेनले सम्झिए, ‘मलाई त्यसपछिको केही समय निकै अप्ठ्यारो र असहज महसुस भयो, किनकि अब के गर्ने भन्ने थियो ।’

निर्माण पक्षमै विवाद देखिएपछि त्यसको मारमा धीरेन परेका रहेछन् । ‘यो कुरा मलाई पनि धेरैपछि थाहा भयो । नयाँ अनुहार नै राख्ने भएपछि धीरेन किन ? आफ्नै सालो, भतिजो, भान्जोलगायतका विभिन्न नातेदारहरू राख्न अन्य निर्माताले फुर्वालाई दबाब दिएछन्,’ धीरेनले भने, ‘त्यही क्रममा केही निर्माताले या त चलेका नायक या आफ्नै नातेदारलाई खेलाउनुपर्ने तर्क गरेछन् ।

फुर्वाले एक्लै निर्णय गर्न सक्ने अवस्था थिएन । मलाई फिल्ममा खेलाउन नसक्दा उहाँ निकै निराश हुनुहुन्थ्यो । धीरेन भाइ मैले जे सहयोग गर्न सक्छु, गर्छु है भन्नुभएको थियो ।’

जब, ‘विवस’ फिल्ममा धीरेनले खेल्न पाएनन् भन्ने खबर वसन्तजंग रायमाझीसमक्ष पुग्यो । त्यसपछि उनले बोलाए । अनि चेतन कार्कीलाई भेट्न भने । कार्कीले ‘पहिलो प्रेम’ बनाउँदै थिए । नयाँ कलाकार चाहिएको थियो । रायमाझीको सिफारिसपछि धीरेनले अवसर पाए ।

फिल्म सुटिङका लागि पोखरा पुग्दा उनको भेट ‘विवस’को निर्माण पक्षसँग भयो । ‘उहाँहरू पनि त्यहीँ सुटिङका लागि आउनुभएको रहेछ । दुग्भार्यवश, मुहूर्तको सट खिच्नुअघि क्यामेराको ब्याट्री डाउन भयो । नयाँ ब्याट्री लिनका लागि मोटरसाइकलमा क्यामेरापछाडि बसेर गएका फुर्वा दुर्घटनामा परेर घाइते हुनुभयो,’ धीरेनले भने, ‘उहाँको खुट्टा भाँचियो ।

म उहाँलाई भेट्न अस्पताल नै गएको थिएँ । ६ महिना ब्यान्डेज गरेर बस्नुपर्ने भएकाले विवस फिल्मको सुटिङ अड्कियो । विवसकोे सुटिङका लागि पोखरा आएकी करिश्मा मानन्धर पहिलो प्रेममा आबद्ध भइन् । मैले ‘पहिलो प्रेम’मा काम पाएको देखेर फुर्वा निकै खुसी थिए । आज पनि हाम्रो राम्रो सम्बन्ध छ ।’ मिथिला शर्मा, शान्ति मास्के, रवि गिरीलगायत स्टार कलाकारहरूको अभिनय रहेको यो फिल्म औसत मात्रै चल्यो । यसपछि रिलिज भएको ‘कर्जा’ सुपर हिट भयो । धीरेन शाक्यलाई स्टार अभिनेताका रूपमा स्थापित गराएकै कर्जा फिल्मले हो ।

त्यसयता, आजको दिनसम्म आइपुग्दा उनले सयभन्दा धेरै फिल्म खेले । ‘सिमाना’, ‘भीष्मप्रतिज्ञा’, ‘जन्मजन्म’, ‘सौभाग्य’, ‘रणभूमि’, ‘दाग’लगायतका थुप्रै फिल्म सफल भए । यो अवधिमा उनले झन्डै ६० भन्दा बढी म्युजिक भिडियो पनि खेलिसके ।

अबको योजना निर्देशन : धीरेन शाक्य फिल्म अभिनयसँगै यही क्षेत्रसँग सम्बन्धित व्यवसायमा पनि संलग्न छन् । उनको स्वामित्वमा रहेको जस्मिन फिल्म्स्ले उपकरण भाडामा दिने र प्राविधिक उपलब्ध गराउने गर्छ । धीरेनले २० वर्षअघि जेठी छोरीको नाममा यो कम्पनी स्थापना गरेका हुन् ।

‘पहिले मैले १६ एमएमको क्यामेरा भाडामा दिन्थेँ । अहिले हलिउडमा प्रयोग हुने लेटेस्ट क्यामेरा पनि हामीसँग छ । यो, मेरो मात्रै होइन, समग्र नेपाली फिल्ममा देखिएको प्रविधिको परिवर्तन हो । नयाँ प्रविधि र फिल्म मेकिङ नै पढेर आएको नयाँ पुस्ताले समग्र उद्योगलाई पनि माथि लैजान सक्छन्,’ धीरेनले भने ।

उनको अबको योजना फिल्म निर्माण तथा निर्देशन नै हो । दसैँपछि आफ्नो निर्देशनमा बन्ने फिल्मको सुटिङ सुरु गर्ने तयारी उनले गरेका छन् । फिल्मको नाम तय हुन बाँकी छ । लोकेसन पत्ता लगाउने र कलाकार खोज्ने काम भइरहेको छ । ‘दुई वर्षमा कम्तीमा एउटा फिल्म निर्माण तथा निर्देशन गर्ने मेरो उद्देश्य छ,’ उनले भने, ‘जस्मिन फिल्म्स्मा अहिले प्राविधिकलाई प्रशिक्षणसमेत दिइरहेको छु ।

मेरो उद्देश्य आफ्नै कम्पनीका क्यामेराम्यान, प्राविधिक, एडिटरलगायतको टोली प्रयोग गरेर फिल्म बनाउने भन्ने हो । यही फिल्ममा नहोला, तर दोस्रो वा तेस्रो फिल्ममा त्यस्ता गर्न सकेँ भने सन्तुष्टि मिल्नेछ, किनकि यस कम्पनीसँग जोडिएका प्राविधिक तथा कलाकारले केही सिकून् भन्ने मेरो उद्देश्य हो ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com