आत्मविश्वासको कमाइ


प्रकाशित मिति : मंसिर १, २०७३ बुधबार

राधिका कँडेल/

पोखराकी प्रतिभा बोगटीले  श्रीमानसँन भनिन्, ‘मलाई प्याराग्लाइडिङ पाइलट बन्ने इच्छा छ ।’ उनले तालिममा जान मन लागेको छ भनेर जिद्दी गरिन् । जोखिमपूर्ण काम गर्ने तालिममा जाने भनेको सुरुमा श्रीमानले पत्याएनन्, हुन्न भनेर पन्छाए । उनका श्रीमानले मात्र होइन त्यसबेला तालिम दिने र प्याराग्लाइडिङ कम्पनी सञ्चालन गर्नेहरूसमेत महिलालाई पत्याउँदैनथे । किनकि महिला प्याराग्लाइडिङ गर्नसमेत डराउँथे । प्याराग्लाइडिङ पाइलट बन्ने त कुरै थिएन ।
महिलालाई जोखिमको काम गर्न नपत्याउने र घरबाट

जान अनुमतिसमेत नदिइने अवस्थामा प्रतिभाको जिद्दी असामान्य नै थियो । तर पनि प्रतिभाले प्याराग्लाइडिङ पाइलट बनेरै छाड्ने आँट लिएर तालिममा जाने निर्णय गरिन् । पटकपटक आग्रह गरेपछि उनलाई श्रीमानले पनि साथ दिए । तालिमका लागि एक लाख ५० हजार रुपैयाँ तिर्नुपथ्र्यो । उनीसँग पैसा थिएन । कक्षामा जान थालेपछि श्रीमानले पैसा जुटाइदिए । निकै मिहिनेत गरेर उनले तालिम सकिन् । तीन वर्षसम्म एक्लै हावामा उडिन् । लामो अभ्यास र आत्मविश्वासपछि अहिले उनी प्याराग्लाइडिङ पाइलट भएकी छिन् । उनी भन्छिन्, ‘आँट भयो भने गर्न सकिँदोरहेछ ।’

FB_IMG_1433719970491
उनले यात्रु उडाउन थालेकी छिन् । उनीभन्दा पहिला तीनजना महिलाले तालिम लिएका थिए । दुईजनाले बीचमै छोडेको र एकजना बच्चा भएपछि तालिम अवधिमै पलायन भएकी थिइन् । तालिम लिने महिलामा चौथोमा परे पनि प्रतिभा नेपालको पहिलो प्याराग्लाइडिङ पाइलट हुन् । आफन्त र छिमेकी मात्र होइन, धेरैले अहिले उनलाई चिन्छन् । आफूले नचिनेका व्यक्तिले समेत चिन्दा उनलाई असाध्यै खुसी लाग्छ । दैनिक उडाउने यात्रुले त चिनिहाल्ने भए । चिनाइको तरिका पनि फरक छ । कसैले पाइलटभन्दा पहिला महिला मात्र भनेर चिन्छन् । महिला भएको कारण पहिलो प्रश्न उठ्छ विश्वसनीयताको । उनी भन्छिन्, ‘धेरैले सुरुमा म तपार्इंसँग उड्दिनँ है ‘माइन्ड’ नगर्नु भन्छन्, तर अहिलेसम्म कोही नउडी फर्किएका छैनन् ।’ प्रतिभाले भनिन्, ‘सम्झाउन सक्नुप-यो नि !’ उडाउन सक्नुभन्दा ठूलो क्षमता हो यात्रुसँग गर्ने व्यवहार । त्यसमा राम्रोसँग बुझाउन सक्ने अनुभव छ प्रतिभासँग ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

FB_IMG_1433719955510
प्याराग्लाइडिङमा हावाले ३० मिनेटको उडान निर्धारण गर्छ । इन्जिनबिना उड्ने यस खेलमा पाइलटले हावाको तालमा उडाउने हो । कसैलाई आठ मिनेटमै झार्नुपर्छ । धेरै पैसा तिरेर रमाइलो गर्न आएका यात्रुलाई कम समयमै झार्नुपर्दा पाइलटलाई दुःख लाग्छ । तर, यो उनीहरूको वशमा हुँदैन । अर्की पाइलट तृशा बमजन भन्छिन्, ‘यात्रु खुसी हुँदा खुसी लाग्छ र दुःखी हुँदा दुःख लाग्छ ।’ यात्राको बेला सुख र दुःख आफ्नो कुराले होइन, यात्रुको व्यवहारले निर्धारण गर्छ ।’
यात्रुका रुचि फरक–फरक हुन्छन् । लामो दूरीको प्याराग्लाइडिङ मन पराउने बमजनले यस्ता थुप्रै अप्ठ्यारा यात्रुको सामना गरेकी छिन् । उनी भन्छिन्, ‘माथि उडायो भने पनि किन माथि ? तल झारे पनि किन तल ? भनेर हैरान पार्छन् ।’ कहिलेकाहीँ फोटो बिग्रिएर आएन भने फेरि उडाइदेऊ पनि भन्छन् । भाषा नबुझ्दाको पीडा त कति हो कति । ‘कतिवटा पो भाषा सिकेर सक्नु ? दुई–चारवटा देशको भए पो ।’
यो खेल पाइलट र यात्रु दुवैको सहयोगमा सुरक्षित हुन्छ ।

उड्ने बेला अलिकति दौडनुपर्छ । केही यात्रु भन्छन्, ‘हामीले पैसा तिरेको छ, किन दौडनु ?’ यस्तो व्यवहार गर्ने यात्रुलाई सम्झाएर उनीहरूको सुरक्षाको जिम्मा लिनु, खुसी बनाएर उडाउनु र भाषा नबुझ्नु चुनौतीका विषय हुन् । यी चुनौती स्वीकार गरेरै अगाडि बढेका छन् महिला । अहिले चारजना महिला दैनिक तीन–तीन उडान गर्छन् ।
जोखिम, घरपरिवारको असहयोग र न्यून आर्थिक अवस्थाले गर्दा यो पेसामा महिला कम भएको तृशा बताउँछिन् । उनका श्रीमान् राजेश बमजन नेपालकै पहिलो प्याराग्लाइडिङ पाइलट हुन् । उनको आफ्नै कम्पनी छ । परिवारले बुझेको कारण उनलाई पेसामा सजिलो भएको छ । ‘म पनि पाइलट बन्छु भन्दा उहाँले ‘तिमीले सक्दिनौँ’ भन्नुभयो । उनीभन्दा अगाडि तालिम लिएका दुई महिलाले बीचमै छोडेको कारण महिलाले गर्न सक्छन् भन्ने विश्वास गुमेको थियो । उनलाई महिलाले पनि गर्न सक्छन् भन्ने विश्वास जगाउनु थियो । उनी तालिम लिएपछि उडिन् । उनका श्रीमानले चाहिँ नदेख्ने गरी श्रीमतीले प्याराग्लाइडिङ गरेको फोटो खिचेर फर्केछन् । घर आएपछि श्रीमानले गर्व अनुभव गरी खुसी भएको देखेर तृशाको आत्मविश्वास झन् बढ्यो । सफल रूपमा तालिम लिने पहिलो महिला भए पनि बच्चा भएको कारण उनले केही समयपछि मात्र व्यावसायिक उडान गर्न थालिन् । घर, बच्चा र जागिर धान्नु निकै गाह्रो कुरा हो । यसलाई पनि व्यवस्थापन गरेर यी महिला राम्रो आम्दानी गरिरहेका छन् ।

SONY DSC
यो पेसामा जोखिम छ, तर कमाइ पनि राम्रो छ । उडाउने सबै सामान आफैँ किन्नुपर्ने कारण सिकाइका क्रममै पाँच लाखदेखि व्यावसायिक उडान गर्ने बेलासम्म १० लाख रुपैयाँसम्म खर्च हुन्छ । सम्पत्तिमा महिलाको पहुँच कम हुने कारण उनीहरूलाई सिक्न गाह्रो छ । यसमा सिनियर पाइलटको समेत भूमिका महत्वपूर्ण हुन्छ । सबैजनाले सहयोग गरेको कारण अप्ठ्यारो पर्दासमेत उनीहरूलाई टिक्न सजिलो भएको छ । आत्मविश्वास भएका र समय दिन सक्ने महिलाको यस क्षेत्रमा अझै खाँचो छ । कम्तीमा १५ जना प्याराग्लाइडिङ पाइलट महिला आवश्यक रहेको महिला पाइलट बताउँछन् ।

पहिचान र पैसाले यस क्षेत्रमा महिलालाई टिकाउन सजिलो हुने उनीहरूको बुझाइ छ । जोखिममै अवसर धेरै हुने कारण यी पाइलट महिला यही क्षेत्रमा रहने विश्वास गर्छन् । ‘कुनै समय थियो, ला म बाँचेँ भनेर फस्र्ट फ्लाइटमा रमाएकी थिएँ,’ तृशाले सात वर्ष पहिलाको क्षण सम्झिइन् । धानखेतको आँठामा, बस्ती नभएको डाँडामा ल्यान्ड गरेर १८ केजीको ग्लाइडर बोकेर तीन–चार घन्टा हिँड्नुपरेको क्षणले आफूलाई बलियो बनाउँदै लगेको तृशा बताउँछिन् । हरेक उडानले उनीहरू नयाँ कुरा सिक्छन् । दिनमै तीनवटा व्यक्तिको भाषा, मनोविज्ञान, संस्कृति र उनीहरूसँग गर्नुपर्ने फरक व्यवहारले यी पाइलटलाई थप व्यावहारिक बनाएको छ । प्रतिभाले भनिन्, पाइला–पाइलामा सिक्ने हो । जस्तो कि ‘सेफ ल्यान्डिङ’ गर्दा नि ऊर्जा मिल्छ, गल्ती हुँदा पनि के कारण यस्तो भयो भनेर सिक्ने मौका मिल्छ ।’
हुन पनि गल्तीबाटै सिकिने हो, कसले जन्मँदै जानेको थियो र ? सफलता र असफता दुवै भोगेर आत्मविश्वासका साथ जसले काम गर्न सक्यो उही यस्तो जोखिमपूर्ण पेसामा टिक्ने हो । (राधिका, पोखराबाट पत्रकारिता गर्छिन् ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com