डिभीबाट ग्रिनकार्ड पाउनेबाट आतंककारीलाई रकम प्रदान, ट्रम्प आक्रोशित
प्रकाशित मिति : माघ २६, २०७४ शुक्रबार
डिभी लोटरीबाट ग्रिनकार्ड जितेर अमेरिकामा आएका व्यक्तिले अमेरिकाले आतंककारीको सुचीमा राखेका संगठनलाई सहयोग पुग्नेगरी गैर नाफामुलक फण्ड ट्रान्सफर गरेको भन्दै डिपार्टमेन्ट अफ जस्टिसले ती व्यक्तिको अमेरिकता नागरिकता खोस्न मुद्दा दायर गरेको छ । सुडानका ती व्यक्ति विद्यार्थी भिसामा अमेरिका आएर डिभी लोटरीमार्फत ग्रिनकार्ड प्राप्त गरेका थिए । पछि उनले अमेरिकी नागरिकता पनि प्राप्त गरेका थिए ।
सुडानका मुबारक अहमद हमिदले सन् १९९७ देखि सन् २००० सम्म अमेरिकाले इराकमाथि प्रतिबन्ध लगाएको बेलामा जोर्डनका खालिद अल सुडानीको खातामा इस्लामिक अमेरिकन रिलिफ एजेन्सीको फण्ड पठाएको आरोप लगाइएको छ । खालिद अल सुडानीले त्यस्तो रकम इराक पठाउने कुरा थाहा हुँदा हुँदै पनि अमेरिकाबाट रकम पठाएको भन्दै अमेरिकी सरकारका तर्फबाट उनको अमेरिकी नागरिकता खोस्न आवेदन परेको हो ।
सन् २००४ मा इस्लामिक अमेरिकन रिलिफ एजेन्सी र खालिद अल सुडानी दुबैलाई अमेरिकी सरकारले आतंककारीको सुचीमा राखेको थियो । त्यतीबेला इस्लामिक अमेरिकन रिलिफ एजेन्सीले युएसएड फण्डेड परियोजना समेत संचालन गर्दै आएको थियो तर त्यो रकम इराकमा पठाइएको भने कुनै अभियोग छैन ।
सन् २०१० को जुन २५ मा हमिदले आफूले अमेरिकी सरकारको प्रतिबन्ध उल्लंघन गर्दै गैर कानुनी रुपमा १ मिलियन डलर भन्दा धेरै रकम इराक पठाएको स्वीकारेका थिए । त्यसपछि सन् २०१२ को जनवरी ११ मा उनलाई झण्डै ५ बर्षको जेल सजाय सुनाइएको थियो ।
सन् २०१८ को जनवरी १६ मा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस र होमल्याण्ड सेक्युरिटीले एउटा विवादस्पद संयुक्त रिपोर्ट सार्वजनिक गरेको थियो । जसमा सन् २००१ को सेप्टेम्बर ११ देखि सन् २०१६ को डिसेम्बर ३१ सम्म अमेरिकाको अदालतमा आतंकवादी गतिविधिको मुद्दा लागेका हरेक ४ जनामा ३ जना विदेशमा जन्मेका आप्रवासीहरुरहेको उल्लेख गरिएको छ ।
महान्यायाधिवक्ता जेफ सेसनले डिभी लोटरीबाट अमेरिका आएका व्यक्तिले आतंककारीलाई रकम पठाएका कारण नागरिकता खोस्नका लागि परेको मुद्दाले अमेरिकाको टुटेको अध्यागमन प्रणालीमा अहिलेसम्मको ठूलो सुधारको जरुरत रहेकोतर्फ संकेत गरेको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि डिपार्टमेन्ट अफ जस्टिसको वक्तब्य ट्वीट गर्दै डिभी लोटरी खारेजीको समय आएको बताएका छन् ।
आइसका कार्यकारी निर्देशक थोमस होम्यानले ती व्यक्तिबाट अमेरिकी नागरिकता लिने बेलामा झुठो बोलिएको र आतंककारीको सहयोग गरेको कुरा लुकाइएकाले नागरिकता खोस्नुपर्ने बताएका छन् । यदि कसैले अमेरिकी नागरिकता लिने बेलामा अमेरिकी सरकारलाई झुठो बोल्छ भने उसको नागरिकता खोसिने जोखिम रहने उनले बताएका छन् ।






