न्युयोर्कका ६ सय चौबाटोमा ‘रेड लाइट’ क्यामेरा जडान, साइकलचालकलाई छुट दिएको भन्दै चालकहरू रुष्ट


प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार

Photo: Orian Lev Ari/ Unsplash

न्युयोर्क शहरका पाँचवटा नगर भरिका ६ सय चौबाटोहरूमा ‘रेड लाइट’ क्यामेरा जडान गर्ने कार्य सम्पन्न भएको छ। रातो बत्ती बालेर नियम उल्लङ्घन गर्ने चालकहरूलाई जरिवाना गराउन शहरभर निगरानी बढाउँदा पनि साइकल तथा ई-बाइकरहरूलाई भने कुनै नियम नलागेको भन्दै सवारी चालकहरूले असन्तुष्टि जनाएका छन्।

पहिले १५० चौबाटोमा मात्र सीमित रहेको यो प्रणालीमा थप ४५० चौबाटो थपेर सञ्जाललाई चार गुणा बनाइएको छ। रातो बत्ती मिचेर गाडी हुइक्याउने बित्तिकै क्यामेराले खिचेको आधारमा सवारी धनीको नाममा ५० डलरको जरिवाना पुग्ने गर्छ।

चालक जिनो तालेका अनुसार साइकल र ई-बाइकरहरू कुनै दर्ता बिना बेपरवाह तरिकाले कुदाउने गरेकाले क्यामेराको नियम गाडीलाई मात्र नभई उनीहरूलाई पनि लागू हुनुपर्छ। सडकमा साइकल लेन थपिँदै जाँदा गाडी कुदाउने ठाउँ साँघुरिँदै गएको र त्यसमाथि साइकलले बाटो काटिदिँदा यात्रा असुरक्षित बनेको उनको गुनासो छ।

न्युयोर्क शहरका मेयर जोहरान ममदानीले राज्यको कानूनले अनुमति दिएजति अधिकतम चौबाटोहरूमा क्यामेरा जडान गरिसकिएको बताएका छन्।

यद्यपि, धेरैजसो चालकहरूले भने यो विस्तार सुरक्षाका लागि नभई चालकहरूबाट पैसा असुल्ने माध्यम मात्र बनाइएको आरोप लगाएका छन्। वित्त विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै शहरले यस्ता क्यामेरा जरिवानाबाट ४ करोड ३० लाख डलर राजस्व सङ्कलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो।

दैनिक गाडी चलाउने ३६ वर्षीय जेम्सले यो कदमलाई करदातामाथिको थप बोझ र व्यक्तिगत गोपनीयतामाथिको हस्तक्षेपको रूपमा टिप्पणी गरे। त्यसैगरी अर्की चालक किएराले ट्राफिक जामका कारण चौबाटोको बीचमा अडिनुपर्दा समेत जरिवाना पर्ने र त्यो मिनाहा नहुने समस्या रहेको बताइन्।

यातातयात विभागले भने बत्ती रातो हुनुभन्दा अघि नै चौबाटोमा छिरिसकेका गाडीलाई जरिवाना नहुने र तस्बिरहरूको पुनरावलोकन गरेर मात्र चिट काटिने स्पष्ट पारेको छ। अधिकारीहरूका अनुसार क्यामेरा राखिएका ठाउँहरूमा रातो बत्ती मिच्ने प्रवृत्ति ८० प्रतिशतभन्दा बढीले घटेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com