घरजग्गा तथा मोर्गेज लागत घटाउन राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी
प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार
तस्बिर: जुलिया डेमारी निकिन्सन / एपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो ब्याजदर र मुद्रास्फीतिका कारण सर्वसाधारणका लागि घर खरिद असहज बन्दै गएपछि धितो कर्जाको लागत घटाउने उद्देश्यले एक नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
अमेरिकी जनताका लागि आवास लागत घटाउने”शीर्षक दिइएको उक्त आदेशले भविष्यका योग्य कर्जाका लागि मोर्गेज बीमा स्वतः रद्द गर्ने र पुनः कर्जा प्रवाहलाई सस्तो बनाउने कार्यक्रमको विस्तार गर्न सम्बन्धित सङ्घीय निकायहरूलाई निर्देशन दिएको छ।
बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मा जानकारी गराउँदै फेडरल हाउसिङ फाइनान्स एजेन्सीका निर्देशक बिल पुल्टेले यो कदमबाट लाखौँ अमेरिकी नागरिकको हजारौँ डलर बचत हुने बताएका छन्।
तथापि, मोर्गेज वेबसाइट एचएसएचका उपाध्यक्ष किथ गम्बिङ्गरका अनुसार यस आदेशको पूर्ण विवरण आउन बाँकी रहेकाले उपभोक्तामा पर्ने दीर्घकालीन प्रभावबारे अहिले नै यकिन गर्न कठिन छ।
नोभेम्बर ३ मा हुन गइरहेको मध्यावधि निर्वाचनभन्दा दुई हप्ताअघि ट्रम्पको यो निर्णय आएको हो। हाल अमेरिकामा बढ्दो जीवनयापनको लागत र घरजग्गाको पहुँचयोग्यतातर्फ मतदाताहरूको मुख्य चासो रहेको छ।
सामान्यतया अमेरिकामा २० प्रतिशतभन्दा कम अग्रिम भुक्तानी गरेर घर किन्दा ‘प्राइभेट मोर्गेज इन्स्योरेन्स’ लिनुपर्ने प्रावधान छ।
ट्रम्पको कार्यकारी आदेशले एफएचएफएलाई एउटा नयाँ परीक्षण कार्यक्रम सुरु गर्न निर्देशन दिएको छ, जसअन्तर्गत भविष्यमा प्रवाह हुने कर्जामा ऋणीको इक्विटी निश्चित विन्दुमा पुगेपछि बीमा स्वतः समाप्त हुनेछ।
अहिले सामान्यतया घरको सावाँ भुक्तानी ८० प्रतिशतमा झरेपछि वा २० प्रतिशत इक्विटी पुगेपछि मात्र ऋणीले बीमा हटाउन अनुरोध गर्न सक्छन्।
पीएमआईको वार्षिक लागत कुल कर्जा रकमको ०.२ प्रतिशतदेखि २ प्रतिशतसम्म हुने गर्छ। उदाहरणका लागि, यदि कसैले ७.३ प्रतिशत ब्याजदरमा ६ लाख डलरको घर १० प्रतिशत डाउन पेमेन्टमा किन्छ भने, उसले मासिक करिब ३५१ डलर बीमाबापत मात्रै बुझाउनुपर्छ।
यस आदेशले मोर्गेज रिफाइनान्सिङको लागत कम गर्न एफएचएफएको एक परीक्षण कार्यक्रमलाई स्थायी बनाउने लक्ष्य राखेको छ। यसअन्तर्गत ऋणदाताको ‘टाइटल इन्स्योरेन्स पोलिसी’ मिनाहा गरी सस्तो विकल्पहरू खुला गरिनेछ।
पहिले सन् २०२७ सम्मका लागि मात्र तोकिएको यो कार्यक्रमबाट ऋणीहरूले घर कर्जा पुनः सम्झौता गर्दा ५०० देखि १५०० डलरसम्म बचत गर्न सक्ने अनुमान गरिएको छ।
अक्टोबर २३ सम्मको तथ्याङ्कअनुसार ३० वर्षे स्थिर मोर्गेजको ब्याजदर ७.३२ प्रतिशत पुगेको छ, जसका कारण गत वर्षको तुलनामा रिफाइनान्सिङको माग ५९ प्रतिशतले घटेको छ।
ब्याजदर र घरको मूल्यले बजार नियन्त्रण गर्ने हुनाले यस निर्णयले रातारात ठूलो परिवर्तन नल्याए पनि, समापन लागत र मासिक बीमा घटाएर यसले सर्वसाधारणलाई केही हदसम्म आर्थिक राहत दिने अपेक्षा गरिएको छ।





