ग्रिन कार्डका लागि नक्कली विवाह र कागजात ठगी: अमेरिकी नागरिकविरुद्ध मुद्दा दर्ता


प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार

brown wooden tool on white surface

फोटो : टिन्गी इन्जुरी ल फर्म

म्यासाचुसेट्स राज्यको क्विन्सी निवासी ३१ वर्षीय जिङ्मिङ चेन विरुद्ध विवाह ठगी र अध्यागमनसम्बन्धी फर्जी कागजात तयार पारेको अभियोगमा सङ्घीय ग्रान्ड जुरीले मुद्दा दायर गरेको छ।

ओहायोको नर्दर्न डिस्ट्रिक्टका लागि अमेरिकी सरकारी वकिलको कार्यालयले दिएको जानकारीअनुसार, चेनले एक चिनियाँ नागरिकलाई गैरकानुनी रूपमा स्थायी आवासीय अनुमति दिलाउन पैसाको प्रलोभनमा परी काल्पनिक विवाह गर्न सहमति जनाएका थिए।

अदालती कागजातअनुसार, अमेरिकी नागरिक रहेका चेनलाई ओहायोको अहोरामा बस्ने चिनियाँ सह-अभियुक्तले नक्कली विवाह गर्न र उनीहरूको वैवाहिक सम्बन्ध वैध देखाउन झूटा प्रमाणहरू खडा गर्न रकम दिएका थिए।

ग्रिन कार्ड र अन्य अध्यागमन सुविधाहरू प्राप्त गर्नका लागि चेन र उनका सह-अभियुक्तले अमेरिकी नागरिकता तथा अध्यागमन सेवमा झूटा विवरणहरू पेस गरेका थिए। ग्रिन कार्ड प्रक्रियाको प्रत्येक चरणमा रकम भुक्तानी लिने-दिने उनीहरूबीच सहमति भएको थियो। उनीहरूले आफूहरूबीच अनलाइन प्रेम सम्बन्ध रहेको र लामो दूरीको सम्बन्ध पछि विवाह गरेको भनी झूटा कथाहरू रचेका थिए। साथै, उनीहरूले विवाहपूर्वको सम्झौता तयार गर्ने तथा संयुक्त बैङ्क खाता, फोन सेवा, बीमा र छुट स्टोरको सदस्यतासमेत लिनेबारे छलफल गरेका थिए।

चेन र उनका सह-अभियुक्तले क्विन्सीमा विवाहको सूचना दर्ता गराएका थिए। विवाह समारोहका लागि चेनले आफ्ना सह-अभियुक्तलाई एउटा सस्तो, नक्कली हीराको औँठी किन्न लगाएका थिए। विवाह सम्पन्न भएपछि, चेनले अध्यागमन आवेदन प्रक्रिया अगाडि बढाउन र ग्रिन कार्डको बाटो खोल्नका लागि फारम आइ-१३०भर्न एक सहयोगीलाई निर्देशन दिएका थिए।

यस प्रकरणको अनुसन्धान आइसको ‘होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेशन्स’ र युएससीआईएसको ‘फ्रड डिटक्सन एन्ड नेसनल सेक्युरिटी डाइरेक्टरेट’ले संयुक्त रूपमा गरेका थिए। यो मामलामा सहायक अमेरिकी सरकारी वकिल ब्रायन एम. म्याकडोनोले अभियोजनको नेतृत्व गरिरहेका छन्।

आरोप प्रमाणित भएमा अभियुक्त चेनले पाँच वर्षसम्मको कैद सजाय भोग्नुपर्नेछ। अमेरिकी सजाय निर्देशिका र अन्य कानुनी प्रावधानहरूलाई ध्यानमा राखेर सङ्घीय जिल्ला अदालतका न्यायाधीशले अन्तिम सजायको निर्धारण गर्नेछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com