घट्दै अमेरिकीहरूको सामाजिक भेटघाट: घरमा पाहुना बोलाउनेको सङ्ख्या १२ प्रतिशतमा सीमित
प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार
Photo: Tanya Prodaan /Unsplash
अमेरिकामा घरमा मानिसहरूलाई आमन्त्रित गरेर गरिने ‘डिनर पार्टी’ तथा भेटघाटको संस्कृति तीव्र रूपमा घट्दै गएको एक नयाँ विश्लेषणले देखाएको छ। ‘डाटा फर प्रोग्रेस’को तथ्याङ्क अनुसार, सन् १९९५ मा ८८ प्रतिशत अमेरिकीहरूले वर्षमा कम्तीमा एक पटक घरमा पाहुनाको स्वागत गर्ने गरेकोमा सन् २०२६ मा यो सङ्ख्या घटेर ६७ प्रतिशतमा झरेको छ। त्यस्तै, महिनामा कम्तीमा एक पटक साथीभाइ वा परिवारलाई घरमा बोलाउने मानिसहरूको सङ्ख्या सन् १९७५ मा ४२ प्रतिशत रहेकोमा अहिले केवल १२ प्रतिशतमा सीमित भएको छ।
विज्ञहरूका अनुसार कार्यव्यस्तता, पारिवारिक जिम्मेवारी र थकानका कारण मानिसहरू घरमा पाहुना बोलाउन अनिच्छुक देखिन थालेका छन्। दिनभरिको कडा परिश्रमपछि पाहुनाको सत्कार गर्नु अर्को एउटा बोझ जस्तै बन्न पुगेको छ। विशेष गरी धेरैजसो महिलाहरू पनि रोजगारीमा व्यस्त हुन थालेपछि उनीहरूले परम्परागत रूपमा थाम्दै आएको सामाजिक भेटघाट र भोजभतेरको तालिका बिस्तारै खस्किँदै गएको छ।
यसका साथै, सोसल मिडियाको प्रभावका कारण हरेक कार्यक्रमलाई उत्कृष्ट र ‘पर्फेक्ट’ देखाउनुपर्ने दबाबले पनि मानिसहरूलाई तनाव दिने गरेको छ। साथीभाइको फरक-फरक खानपान र इच्छा पूरा गर्ने प्रयास गर्दा सामान्य भेटघाट पनि झन्झटिलो बन्न पुग्छ। अर्कोतर्फ, खाद्यान्नको मूल्यवृद्धि, साना कोठा तथा घरहरू र बढ्दो महँगीका कारण घरमा मानिसहरू बोलाएर खुवाउनु आर्थिक रूपमा पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ।
साथीभाइको घट्दो दायरा र प्रविधिको सहजताले पनि यस संस्कृतिलाई थप कमजोर बनाएको छ। अमेरिकामा धेरै नजिकका साथीहरू हुने मानिसहरूको सङ्ख्या विगतका दशकहरूभन्दा निकै घटेको छ, जसले गर्दा एक्लोपन र मानसिक तनाव बढ्दै गएको छ। यस्तो अवस्थामा घरमा योजना बनाएर पाहुना बोलाउनु भन्दा टिभी वा स्मार्टफोनमा रमाउनु मानिसहरूका लागि धेरै सहज र आरामदायी विकल्प बन्न पुगेको छ।
तथापि, मानसिक स्वास्थ्य विशेषज्ञहरूका अनुसार सामाजिक सम्बन्धलाई पुनर्जीवित बनाउन ठूला र खर्चिला भोजहरू नै गर्नुपर्छ भन्ने छैन। सामान्य चिया-कॉफी, सँगैको पैदल यात्रा वा साधरण खाजाका लागि भए पनि मानिसहरूसँग नियमित भेटघाट गर्नाले एक्लोपन घटाउन र सम्बन्धहरूलाई बलियो बनाउन ठूलो मद्दत पुग्छ।





