टेक्सासको आप्रवासी थुना केन्द्रमा मानवअधिकारको गम्भीर उल्लङ्घन, तत्काल सुधार गर्न माग गर्दै अदालतमा नयाँ मुद्दा दर्ता


प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार

Texas immigration detention center

पश्चिम टेक्सासको फोर्ट ब्लिस सैन्य आधार शिविरमा रहेको ‘क्याम्प इस्ट मोन्टाना’ नामक आप्रवासी थुना केन्द्रमा जारी चरम स्वास्थ्य तथा सुरक्षा जोखिमका कारण त्यहाँ राखिएका आप्रवासीहरू गम्भीर चोटपटक वा मृत्युको जोखिममा रहेको भन्दै वकिल तथा विशेषज्ञहरूले चेतावनी दिएका छन्। अदालतमा हालै दर्ता गरिएको एक निवेदनका आधारमा यो तथ्य बाहिर आएको हो।

अमेरिकाको सबैभन्दा ठूलो आप्रवासी थुना केन्द्रका रूपमा रहेको यो क्याम्प गत वर्ष सञ्चालनमा आएदेखि नै सरकारभित्र र बाहिरबाट विभिन्न नियम उल्लङ्घनका प्रतिवेदनहरू सार्वजनिक भइरहेका छन्। यति हुँदाहुँदै पनि त्यहाँको स्थितिमा सुधार आउन नसकेको आरोप लगाइएको छ।

दुई वटा राज्यको कारागार प्रणाली सम्हालिसकेका सुधार गृह विशेषज्ञ डिन विलियम्सले अदालतमा दिएको बयानमा भनेका छन्, क्याम्प इस्ट मोन्टानाको अवस्था अति नै चिन्ताजनक छ। यो मैले हेरेका सबैभन्दा सुरक्षित र कडा जेलहरूभन्दा पनि धेरै भयावह छ, जबकि यो आपराधिक नभई नागरिक थुना केन्द्र हो र यहाँ राखिएका अधिकांश मानिसहरूको कुनै आपराधिक पृष्ठभूमि छैन।

त्यस्तै, नौ वटा राज्यका थुना केन्द्रहरूमा स्वास्थ्य सेवा व्यवस्थापन हेरिसकेका डाक्टर तथा प्रशासक जेफ्री केलरका अनुसार, खराब स्वास्थ्य सेवा र असुरक्षित वातावरणका कारण त्यहाँ रोक्न सकिने मृत्युहरू भएका छन् भने सबै मानिसहरू गम्भीर चोटपटक र ज्यान जाने जोखिममा परेका छन्।

अमेरिकी सिभिल लिबर्टीज युनियन  फाउन्डेसन, एसीएलयु अफ टेक्सास, टेक्सास सिभिल राइट्स प्रोजेक्ट र फारेला ब्राउन प्लस मार्टेल एलएलपीले संयुक्त रूपमा हिरासतमा रहेका व्यक्तिहरूको तर्फबाट यो मुद्दा दायर गरेका हुन्। उनीहरूले अदालतसमक्ष क्याम्पको अवस्था गैरकानुनी घोषणा गर्न र हिरासतमा रहेका व्यक्तिहरूको सुरक्षाका लागि तत्काल सुधारका कदम चाल्न माग गरेका छन्।

अदालतमा पेश गरिएको कागजात अनुसार हिरासतमा रहेकाहरूले सुरक्षा गार्डहरूबाट भौतिक तथा मौखिक दुर्व्यवहार भोग्नु परेको, हप्तौंसम्म घाम देख्न नपाएको, फोहर र भीडभाडयुक्त वातावरणमा बस्नु परेको तथा दादुरा र क्षयरोग जस्ता सरुवा रोगहरूको प्रकोप झेल्नु परेको बताएका छन्।

उक्त केन्द्रमा साबुनको चरम अभाव रहेको र बन्दीहरूले हात धुन समेत नपुग्ने सानो प्याकेटको स्याम्पु प्रयोग गर्नुपरेको जनाइएको छ। साथै खानाको गुणस्तर खस्किएको, सरसफाइको अभाव रहेको र टोइलेटहरू ब्लक भएर दुर्गन्ध फैलिएको प्रतिवेदनमा उल्लेख छ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भने यी आरोपहरूको खण्डन गर्दै क्याम्प इस्ट मोन्टानामा अमानवीय अवस्था रहेको भन्ने दाबी पूर्ण रूपमा असत्य रहेको बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com