अमेरिकाको सिक्स फ्ल्याग्समा भयानक दुर्घटना, रोलर कोस्टरबाट खसेर एक जनाको मृत्यु
प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार
Photo: Hannes Knutsson/ Unsplash
अमेरिकाको जर्जिया राज्यस्थित ‘सिक्स फ्ल्याग्स ओभर जर्जिया’थिम पार्कमा सोमबार दिउँसो एक भयानक दुर्घटना घटेको छ। पार्कको प्रसिद्ध ‘गोलियाथ’ नामक रोलर कोस्टरबाट खसेर एक पुरुषको मृत्यु भएको छ भने घटनामा अन्य केही यात्रु घाइते भएका छन्।
दुर्घटनाको समयमा लाईनमा बसेकी प्रत्यक्षदर्शी सिसी नेल्सनका अनुसार जब रोलर कोस्टरको एउटा डिब्बा स्टेशनमा फर्कियो, त्यहाँका मानिसहरू आतङ्कित अवस्थामा थिए। एकजना मानिस चिच्याउँदै कसैलाई तल खसेको र तुरुन्तै उद्धारका लागि बोलाउन आग्रह गरिरहेका थिए, नेल्सनले भनिन्।
उनका अनुसार कोस्टर फर्कँदा एउटा सिटको सुरक्षा बार खुकुलो थियो र सिट खाली थियो। त्यसैगरी नजिकै बसेकी अर्की बालिका घाइते भई रगतले लटपटिएकी थिइन्। घटनालगत्तै उद्धारकर्मीहरू पुगेपछि लाईनमा बसेका सबैलाई उक्त क्षेत्र खाली गर्न लगाइएको थियो।
अन्य प्रत्यक्षदर्शीहरूका अनुसार ती व्यक्ति तीव्र गतिमा चलिरहेको रोलर कोस्टरबाट खसेर घाइते भएका थिए। दुर्घटनापछि उक्त रोलर कोस्टरलाई बीच बाटोमै रोक्नु परेको थियो, जसका कारण पछाडिको डिब्बामा सवार अन्य यात्रुहरू झन्डै एक घण्टासम्म हावामै अड्किएका थिए।
प्रहरी र पार्क प्रशासनले घटनाको पुष्टि गर्दै छानबिन सुरु गरेको जनाएको छ। सिक्स फ्ल्याग्सले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ र मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ।
सिक्स फ्ल्याग्स अमेरिकाको सबैभन्दा ठूलो मनोरञ्जन पार्क सञ्चालक हो। सन् २००६ देखि सञ्चालनमा आएको ‘गोलियाथ’ रोलर कोस्टर २०० फिट उचाइसम्म पुग्छ र यसको गति ७० माइल प्रतिघण्टासम्म हुने गर्दछ। यसअघि पनि विभिन्न थिम पार्कहरूमा भएका सुरक्षा लापरवाहीका कारण यस्ता दुर्घटनाहरू दोहोरिने गरेको भन्दै सुरक्षा व्यवस्था चुस्त बनाउन सर्वसाधारणले माग गरेका छन्।





