ट्रम्पसँगको राजनीतिक टकरावबीच सांसद् इल्हान उमरको घरमा अमेरिकी अधिकारीको छापा
प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार
डिएचएस फोटो: सिड्नी फिनिक्स
सोमाली मूलकी अमेरिकी सांसद् इल्हान उमरको वासिङ्टन क्षेत्रमा रहेको घरमा सोमबार बिहान अमेरिकी अधिकारीहरूले छापा मारेका छन्। डेमोक्रेटिक पार्टीकी सांसद् उमरको अध्यागमनसम्बन्धी कागजातको अनुसन्धानका क्रममा छापा मारिएको जनाइएको छ।
होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेशन्सले अदालतबाट स्वीकृत छापा मार्ने पुर्जी कार्यान्वयन गरेको छ। यो कदम जारी सङ्घीय अनुसन्धानकै एक भाग हो, जस्टिस डिपार्टमेन्टका प्रवक्ताले बताएका छन्।
उक्त छापा सांसद् उमर सानो छँदा उनका दिवङ्गत बुबाले भरेको अध्यागमनसम्बन्धी कागजातको आपराधिक ठगी अनुसन्धानसँग जोडिएको समाचार माध्यमहरूले जनाएका छन्। यस विषयमा जस्टिस डिपार्टमेन्ट र सांसद् उमरका प्रतिनिधिले तत्काल कुनै टिप्पणी गरेका छैनन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन नेताहरूबाट उमर बारम्बार राजनीतिक आक्रमणको निशाना बन्दै आएकी छन्। ट्रम्पले सोमाली-अमेरिकी समुदायलाई मिनेसोटाका लागि खतराका रूपमा चित्रण गर्दै आएका छन्। उमरले ट्रम्पको यो कदमलाई “अस्वस्थ र अनौठो सनक” भन्दै भर्त्सना गरेकी छन्।
यसअघि पनि ट्रम्पले उमर र अर्की मुस्लिम सांसद् रशिदा तलाइबलाई उनीहरूकै मूल देश फर्काउनुपर्ने जस्ता विवादित टिप्पणी गरेका थिए। नागरिक अधिकारकर्मीहरूले राष्ट्रपति ट्रम्पका यस्ता अभिव्यक्ति र अल्पसङ्ख्यक एवं आप्रवासीप्रतिको नीतिको आलोचना गर्दै आएका छन्।





