उचित ज्याला र सुविधाको माग गर्दै शिकागोमा ७ हजार होटल श्रमिकको आन्दोलन
प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार
Photo: Frolicsome Fairy/ Unsplash
मागहरू पूरा गर्न गरिएका वार्ता असफल भएपछि शिकागोका छ वटा प्रमुख होटलका कर्मचारीहरू शुक्रबार बिहानदेखि हडतालमा उत्रिएका छन्। यो हडताल प्रसिद्ध ‘शिकागो म्याराथन’ सुरु हुनै लाग्दा भएको हो।
यस हडतालबाट मिलिनियम होटल निकरबोकर शिकागो, पाल्मर हाउस, शेराटन ग्रान्ड शिकागो रिभरवाक, वाल्डोर्फ एस्टोरिया शिकागो, द वेस्टिन शिकागो रिभर नर्थ र द वेस्टिन मिसिगन एभिन्यु शिकागो प्रभावित भएका छन्।
यो सम्झौताको विवादले ४६ वटा होटलका ७,००० भन्दा बढी कर्मचारीहरूलाई समेटेको छ। यसले शिकागोको इतिहासकै सबैभन्दा ठूलो होटल श्रमिक हडतालको रूप लिन सक्ने देखिएको छ। हडतालमा उत्रिने कर्मचारीहरूमा कोठा सरसफाइ गर्ने, भान्से, भाँडा माझ्ने, बेलम्यान, फ्रन्ट डेस्क एजेन्ट, सर्भर र बारटेन्डरहरू रहेका छन्।
श्रमिकहरू उचित ज्याला, स्वास्थ्य सेवा सुविधा, राम्रो पेन्सन, नागरिक अधिकारको सुरक्षा र सुरक्षित कार्यबोझको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। हिल्टन, म्यारियट र ह्यात जस्ता ठूला होटलहरूसँगको ठेक्का सम्झौता गत अगस्ट ३१ मा समाप्त भइसकेको छ।
कर्मचारीहरूका अनुसार म्याराथन सञ्चालन हुने सप्ताहन्तमा हस्पिटालिटी उद्योगले ठूलो सफलता र आम्दानी हासिल गरे पनि त्यसको वित्तीय लाभ कोठा सफा गर्ने, खाना बनाउने र पाहुनालाई स्वागत गर्ने श्रमिकहरूसम्म पुग्न सकेको छैन।
‘युनाइट हियर लोकल १’ ले सन् २०२५ मा गरेको एक सर्भेअनुसार, ३२% श्रमिकहरूसँग अघिल्लो वर्ष घरभाडा वा किस्ता तिर्ने पैसा थिएन। त्यस्तै २९% ले बिजुली-पानीको बिल तिर्न सकेका थिएनन् भने दुई-तिहाइ श्रमिकको मन्दीको समयमा काम गर्ने समय घटाइएको थियो। यसबाहेक, प्रति चार जनामध्ये एक जनाले अल्पकालीन वा ऋणपत्र लिनुपरेको थियो।
‘युनाइट हियर लोकल १’ की अध्यक्ष करेन केन्टले भनिन्, “हामी अझै पनि सम्झौतामा पुग्न धेरै टाढा छौँ र श्रमिकहरू निराश अवस्थामा छन्। यो यस्तो समय हो जहाँ मानिसहरूले तलब वृद्धि, सेवानिवृत्ति सुविधामा वृद्धि र ठोस रोजगारी सुरक्षाको अपेक्षा गरिरहेका छन्।”
शेराटनका कर्मचारी मार्टिस केनेडीले भने, “बढ्दो महँगी, घरभाडा, खाना र ग्याँसको मूल्यलाई हेरेर व्यवस्थापनले आएर सम्झौतामा हस्ताक्षर गर्नुपर्छ। सम्झौतामा हस्ताक्षर गर्नु त्यति गाह्रो काम होइन।”
यसैबीच, युनियनका अनुसार म्यारियट, हयात र हिल्टनले पछिल्लो तीन वर्षमा आफ्ना सेयरधनीहरूलाई २२.३ अर्ब डलर फिर्ता गरेका छन्। युनियनले आवश्यकता परेमा जुनसुकै बेला अन्य होटलहरूमा पनि हडतालको आह्वान गर्न सकिने चेतावनी दिएको छ।
यसअघि शिकागोमा भएको ठूलो होटल श्रमिक हडतालमा २६ वटा होटल संलग्न थिए, जसले श्रमिक र तिनका परिवारका लागि वर्षभरिको स्वास्थ्य बीमा सुनिश्चित गरेको थियो।
यसैबीच म्यारियटले एक वक्तव्य जारी गर्दै भनेको छ, कर्मचारी अभाव भएको अवस्थामा पनि होटल सञ्चालन गर्ने र पाहुनाको हेरचाह गर्ने हाम्रा स्थापित प्रक्रियाहरू छन्। हामी यो सप्ताहन्तमा शिकागोमा हाम्रा पाहुनाहरूलाई स्वागत गर्न उत्सुक छौँ। सबै पक्षका लागि न्यायोचित हुने सम्झौतामा पुग्न हामी स्थानीय युनियनको वार्ता समितिसँग भेट्न सधैँ तयार छौँ।





