अमेरिकामा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक सबैभन्दा धनी
प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार
Photo: Lucas Alexander/ Unsplash
अमेरिकामा सम्पत्ति आर्जन गर्ने प्रमुख चाबी भनेकै दीर्घायु हुनु वा निरन्तर बजारमा टिकिरहनु भएको अमेरिकी केन्द्रीय बैंकको नयाँ तथ्यांकले देखाएको छ। फेडको त्रैवार्षिक ‘सर्भे अफ कन्ज्युमर फाइनान्सेज’ अनुसार ७५ वर्ष वा सोभन्दा माथिका उमेर समूहका करिब १ करोड ८० लाख घरपरिवार अमेरिकामा सबैभन्दा धनी बनेका छन्।
सन् २०२५ सम्ममा यो उमेर समूहका नागरिकहरूको मध्यस्थ खुद सम्पत्ति ५ लाख ४ हजार ९ सय अमेरिकी डलर पुगेको छ। यस प्रतिवेदनले अमेरिकी परिवारहरूको वित्तीय स्वास्थ्य, सम्पत्ति, आम्दानी र क्रेडिट कार्ड तथा विद्यार्थी ऋणजस्ता दायित्वहरूको मापन गरेको छ।
फेडका अनुसार ७५ वर्ष वा सोभन्दा माथिका परिवारहरूले कुनै पनि उमेर समूहभन्दा सबैभन्दा धेरै खुद सम्पत्तिमा वृद्धि र आम्दानीमा लाभ हासिल गरेका छन्। उनीहरूको मध्यस्थ वार्षिक आम्दानी २४ प्रतिशतले बढेर ६७,००० डलर पुगेको छ।
यो उमेर समूहका वृद्धवृद्धाहरूले मुख्यतया आफ्नो सेवानिवृत्ति सम्पत्तिमा भएको वृद्धिको फाइदा उठाएका हुन्। यसैगरी, ६५ देखि ७४ वर्ष उमेर समूहका घरपरिवारले पनि २०२२ देखि २०२५ को बीचमा आफ्नो सम्पत्ति ३७ प्रतिशतले बढाएका छन्।
पछिल्लो तीन वर्षमा सेयर बजारमा देखिएको बलियो बढाईले धेरै अमेरिकीहरूको सम्पत्ति बढाउन ठूलो भूमिका खेलेको छ। फेडको प्रतिवेदनले मापन गरेकोमा एस एन्ड पि ५००सेयर सूचकांकले करिब ७८ प्रतिशतको छलाङ मारेको थियो।
यसै बुलिश सेयर बजार र कर्मचारीहरूको उच्च योगदानका कारण फिडेलिटी इन्भेस्टमेन्टमा १ लाख डलरभन्दा बढी रकम भएका ४०१(के) योजना खाताहरूको संख्या पनि कीर्तिमानी रूपमा ७,६९,००० पुगेको छ। यस अवधिमा अमेरिकाका सबैभन्दा धनी १० प्रतिशत परिवारको खुद सम्पत्ति ३१ प्रतिशतले बढेर ३६ लाख डलर पुगेको छ।
उमेर समूहको हिसाबले ७५ वर्षभन्दा माथिका मानिसहरूले नेतृत्व गरेका घरपरिवारहरू सबैभन्दा सानो छन् भने ३५ वर्षभन्दा कम उमेरका परिवारहरू सबैभन्दा ठूलो छन्। तर ज्येष्ठ र धनी नागरिकहरूले ठूलो सम्पत्ति जोड्दै गर्दा लाखौं मानिसहरूको वित्तीय अवस्था भने कमजोर बन्दै गएको देखिन्छ।
सन् २०२५ मा करिब २० प्रतिशत अमेरिकी घरपरिवारहरू घर कर्जा, क्रेडिट कार्ड र पे-डे लोनजस्ता ऋणहरूको किस्ता तिर्न ढिलाइ गरिरहेका छन्, जुन सन् २०२२ यता ७ प्रतिशत विन्दुले बढेको हो। महामन्दीपछिको सन् २०१० को सर्वेक्षणयता वित्तीय दायित्व पूरा गर्न नसकेको यो नै सबैभन्दा उच्च अवस्था हो।
महामारीपछिको लामो अवधिको महँगीले यी समस्याहरू निम्त्याएको फेडले जनाएको छ। तथ्यांक अनुसार हरेक १२ मध्ये १ परिवारले आफ्नो आम्दानीको ४० प्रतिशत वा सोभन्दा बढी हिस्सा ऋण चुक्ता गर्नमै खर्च गरिरहेका छन्, जुन कम्तीमा १२ वर्षयताकै उच्च हो। यसबाहेक, जनगणना ब्यूरोको तथ्यांक अनुसार सन् २०२५ सम्ममा ६५ वर्ष वा सोभन्दा माथिका करिब १० प्रतिशत अमेरिकीहरू गरिबीको रेखामुनि जीवन बिताइरहेका छन्।
अर्कोतर्फ, ३५ वर्षभन्दा कम उमेरका युवा परिवारहरूको अवस्था झन् दयनीय बनेको छ। यो उमेर समूहका सामान्य घरपरिवारहरूको मध्यस्थ खुद सम्पत्ति २३ प्रतिशतले घटेर ३३,००० डलरमा सीमित भएको छ। युवा परिवारहरूको सम्पत्तिमा आएको यो गिरावटको मुख्य कारण अघिल्लो तीन वर्षमा व्यापारिक शेयरमा देखिएको आम्दानीको कमी हो।





