सुस्त रोजगारी वृद्धिका बीच अमेरिकामा बेरोजगारी भत्ता माग्नेहरूको संख्या ५७ वर्षकै न्यून बिन्दुमा
प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार
Photo: Isabella SP /Unsplash
गत सेप्टेम्बर महिनामा रोजगारी वृद्धिमा तीव्र सुस्तता आए पनि अमेरिकाको श्रम बजार स्थिर नै रहेको संकेत देखिएको छ। गत साता नयाँ बेरोजगार भत्ताका लागि आवेदन दिने अमेरिकीहरूको संख्यामा कमी आएको छ।
बिहीबार श्रम मन्त्रालयद्वारा सार्वजनिक प्रतिवेदन अनुसार, ऐतिहासिक रूपमा कटौती कम रहेकाले साप्ताहिक रूपमा भत्ता दाबी गर्नेको संख्या लगातार चार सातादेखि ५७ वर्षयताकै न्यून स्तर नजिक कायम रहेको छ।
कम्पनीहरूको बलियो नाफा र सेयर बजारको राम्रो प्रदर्शनका बिच रोजगारदाताहरूले हाल कार्यरत कर्मचारीलाई हटाएका छैनन्, तर नयाँ कर्मचारी भर्ना गर्न भने हिचकिचाइरहेका छन्। यसले गर्दा रोजगारी गुमाएका व्यक्तिहरूलाई नयाँ अवसर खोज्न गाह्रो भइरहेको छ। अर्थशास्त्रीहरूका अनुसार सुरुमा भन्सार शुल्क र पछि अमेरिका-इन्डो-इजरायल तथा इरान तनावका कारण सिर्जना भएको अनिश्चितताले इन्धन तथा अन्य वस्तुको मूल्य बढाएको छ, जसको असर नयाँ भर्नामा परेको हो।
“अहिलेको श्रम बजार ‘कम भर्ना, कम निष्कासन’को अवस्थामा छ,” नेभी फेडरल क्रेडिट युनियनकी मुख्य अर्थशास्त्री हिदर लोङले भनिन्, “यो अवस्था जागिर भइरहेकाहरूका लागि राम्रो भए पनि नयाँ रोजगारी खोज्नेहरूका लागि भने कठिन छ।”
अक्टोबर ३ मा समाप्त भएको सातामा राज्यबाट पाउने प्रारम्भिक बेरोजगार भत्ताका लागि दिइने आवेदन २,००० ले घटेर मौसमी समायोजनपछि १,९७,००० पुगेको छ। अर्थशास्त्रीहरूले २,००,००० आवेदन पर्ने अनुमान गरेका थिए। सेप्टेम्बरको दोस्रो सातादेखि यो संख्या २ लाखभन्दा मुनि रहँदै आएको छ।
साप्ताहिक उतारचढावलाई हटाएर श्रम बजारको वास्तविक प्रवृत्ति देखाउने ‘चार साताको औसत दाबी’ गत साता २,५०० ले घटेर १,९८,००० पुगेको छ। यो अक्टोबर २०२२ पछिकै सबैभन्दा न्यून स्तर हो।
सेप्टेम्बर महिनामा गैर-कृषि क्षेत्रमा मात्र २९,००० नयाँ रोजगारी सिर्जना भएको सरकारले गत साता जनाएको थियो। सेवानिवृत्ति र अध्यागमनमा कडाइका कारण कामदारको संख्या घट्दै जानु तथा सुस्त भर्ना प्रक्रियाले रोजगारी वृद्धिलाई असर गरिरहेको अर्थशास्त्रीहरू बताउँछन्।
फेडरल रिजर्भको सेप्टेम्बर १५-१६ को बैठकको माइन्युट अनुसार अधिकारीहरूले श्रम बजारको अवस्था स्थिर रहेको र यो पूर्ण रोजगारीको नजिक रहेको निष्कर्ष निकालेका छन्।
अमेरिकी केन्द्रीय बैंकले गत महिना आफ्नो बेन्चमार्क ब्याजदर २५ आधार विन्दुले बढाएर ३.७५% देखि ४.००% को दायरामा पुर्याएको थियो, जुन तीन वर्षयताको पहिलो वृद्धि हो। सेप्टेम्बरमा निराशाजनक रोजगारी वृद्धि र जुलाई तथा अगस्टमा अपेक्षाभन्दा कम मूल्यवृद्धि भएकाले यसै महिना पुनः ब्याजदर बढ्ने सम्भावना भने कम छ। अर्थशास्त्रीहरूले डिसेम्बरमा फेडले पुनः ब्याजदर बढाउन सक्ने अनुमान गरेका छन्।
प्रारम्भिक सहायतापछि पनि लगातार भत्ता प्राप्त गरिरहेका मानिसहरूको संख्या सेप्टेम्बर २६ मा सकिएको सातामा १७,००० ले बढेर १७ लाख १६ हजार पुगेको छ।
केही अर्थशास्त्रीहरूका अनुसार हालै कलेज पास गरेका युवाहरूसँग पर्याप्त कामको अनुभव नहुने भएकाले उनीहरू भत्ताका लागि अयोग्य हुन्छन्, जसले गर्दा वास्तवमा श्रम बजारमा देखिएको शिथिलता पूर्ण रूपमा तथ्याङ्कमा नदेखिएको हुन सक्छ।
धेरैजसो राज्यमा बेरोजगार भत्ताको अवधि अधिकतम २६ साताको हुने भएकाले लामो समयदेखि बेरोजगार रहेकाहरूले यो सुविधा पाउन छाडिसकेका छन्। सेप्टेम्बरमा बेरोजगारीको मध्यस्थ अवधि ११.५ साता रहेको थियो भने बेरोजगारी दर ४.२ प्रतिशत पुगेको छ।





