आवासीयदेखि वित्तीय सुरक्षासम्म कमजोर बनेपछि फ्लोरिडा असुरक्षित राज्यको सूचीमा


प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार

Photo: Osmany M Leyva Aldana/ Unspla

वालेटहबले हालै सार्वजनिक गरेको एक अध्ययन अनुसार अमेरिकाको फ्लोरिडा राज्य देशकै चौथो सबैभन्दा असुरक्षित राज्यको रूपमा देखिएको छ। संस्थाले चोरी, घर जफतको दर, र पैदल यात्रुको मृत्युदर जस्ता ५२ वटा फरक-फरक सूचकहरूलाई आधार बनाएर अमेरिकाका ५० वटै राज्यहरूको सुरक्षा अवस्थाको तुलनात्मक विश्लेषण गरेको थियो। विभिन्न विधामा कमजोर प्रदर्शन गरेकै कारण समग्र मूल्याङ्कनमा फ्लोरिडा ४७ औँ स्थानमा र असुरक्षित तर्फ चौथो सीमित हुन पुगेको छ।

व्यक्तिगत तथा आवासीय सुरक्षाका हिसाबले फ्लोरिडा ३१ औँ स्थानमा परेको छ। विवरण अनुसार प्रतिव्यक्ति हत्या र गैर-जिम्मेवारपूर्ण हत्यामा २२ औँ, साङ्घातिक आक्रमणमा २४ औँ, तथा यौन अपराधीहरूको सङ्ख्याका आधारमा ३९ औँ स्थानमा रहेको छ। यद्यपि, प्रतिव्यक्ति सुरक्षाकर्मीको सङ्ख्याका मामलामा भने फ्लोरिडा तुलनात्मक रूपमा सुधारिएको अवस्थासहित १९ औँ स्थानमा रहेको छ।

वित्तीय र कार्यस्थल सुरक्षाका सूचकहरूमा पनि फ्लोरिडाको अवस्था चिन्ताजनक देखिएको छ। वित्तीय सुरक्षामा ४५ औँ स्थानमा रहेको फ्लोरिडामा रोजगारीको सुरक्षा ४२ औँ र स्वास्थ्य बीमा नभएका नागरिकको अनुपात ४५ औँ स्थानमा छ। त्यसैगरी, कार्यस्थल सुरक्षामा ४६ औँ स्थानमा रहे पनि प्रति १ लाख पूर्णकालीन कामदारमध्ये हुने घातक औद्योगिक दुर्घटनाको दरमा भने फ्लोरिडा १७ औँ स्थानमा छ।

सडक सुरक्षा तथा आपतकालीन तयारीमा समेत राज्य पछाडि परेको छ। सडक सुरक्षामा ४३ औँ स्थानमा रहेको फ्लोरिडामा प्रति १० करोड गाडी माइल यात्रामा हुने दुर्घटना मृत्युदर ३२ औँ स्थानमा छ। त्यसैगरी, आपतकालीन तयारीमा ४७ औँ स्थानमा रहेको यो राज्य जलवायुजन्य विपद्बाट हुने प्रतिव्यक्ति आर्थिक क्षतिमा भने २५ औँ स्थानमा परेको छ।

वालेटहबको उक्त अध्ययन अनुसार अमेरिकाका ५० राज्यमध्ये भर्मन्ट सबैभन्दा सुरक्षित राज्य बनेको छ भने म्यासाचुसेट्स, मेन, न्यु ह्याम्पशायर र कनेक्टिकट क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचाँै स्थानमा रहेका छन्। अर्कोतर्फ, मिसिसिपी सबैभन्दा असुरक्षित घोषित भएको छ भने लुइसियाना (४९ औँ), टेक्सास (४८ औँ), फ्लोरिडा (४७ औँ) र अर्कान्सस (४६ औँ) क्रमशः सबैभन्दा असुरक्षित राज्यहरूको सूचीमा परेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com