अमेरिकामा विमानस्थलका सुरक्षाकर्मीलाई कामको समयमा बस्न प्रतिबन्ध


प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार

(आधिकारिक होमल्याण्ड सेक्युरिटी तस्बिर/ ब्यारी बहलर)

अमेरिकाका विमानस्थलहरूमा यात्रुहरूको बोर्डिङ पास र परिचयपत्र जाँच गर्ने ट्रान्सपोर्टेसन सेक्युरिटी एडमिनिस्ट्रेशनका सुरक्षा अधिकारीहरूलाई अब कामको समयमा बस्न नपाइने नियम लागू गरिएको छ। एजेन्सीले आफ्ना कर्मचारीहरूलाई थप ‘सचेत र सतर्क’ राख्नका लागि यो नीति परिवर्तन गरेको पुष्टि गरेको छ।

टीएसएका प्रवक्ताका अनुसार यो नयाँ नियमले अधिकारीहरूलाई उभिएर काम गर्न प्रेरित गर्छ, जसले सुरक्षा व्यवस्थालाई बलियो बनाउनुका साथै यात्रुहरूप्रति आतिथ्यपूर्ण व्यवहार कायम राख्न सहयोग पुर्‍याउँछ।” प्रवक्ताले थपे, “सबै अधिकारीहरूले राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न र यात्रुहरूका लागि व्यावसायिक वातावरण सिर्जना गर्न शारीरिक रूपमा योग्य हुनु अनिवार्य छ।”

कर्मचारीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने अमेरिकन फेडरेसन अफ गभर्नमेन्ट इम्प्लोइज काउन्सिलले भने यो निर्णयको कडा विरोध गरेको छ। निर्णय प्रक्रियामा युनियनलाई सहभागी नगराइएको बताउँदै युनियनले भनेको छ, “दिनभर कडा सतहमा उभिएर हिँडडुल गर्ने अधिकारीहरूका लागि कुर्सी आधारभूत एर्गोनोमिक र सुरक्षाको साधन हो। टीएसएले यसलाई एउटा सुविधा वा विशेषाधिकार जस्तो व्यवहार गरिरहेको छ, जबकी यो न्यूनतम सुरक्षा र सामान्य शिष्टाचारको विषय हो।”

युनियनले यस कदमलाई कर्मचारीहरूको अधिकार र सुरक्षाप्रतिको उदासीनताका रूपमा टिप्पणी गरेको छ।

यो नयाँ नियम यस्तो समयमा आएको छ जब टीएसए कर्मचारीहरूले हालै कठिन परिस्थितिको सामना गरेका थिए। फेब्रुअरीदेखि अप्रिलसम्म चलेको ७६ दिन लामो सरकारी बन्दीका कारण कर्मचारीहरूले बिना तलब काम गर्नुपरेको थियो। त्यस समयमा धेरै कर्मचारीहरू काममा उपस्थित नभएका वा जागिर छाडेका कारण अमेरिकी विमानस्थलहरूमा यात्रुहरूको लामो लाइन लागेको थियो। अप्रिलको अन्त्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश र कंग्रेसबाट बजेट विधेयक पारित भएपछि मात्र उनीहरूले तलब पाएका थिए।

यसका साथै, ट्रम्प प्रशासनले तीनवटा विमानस्थलमा सुरक्षा जाँचको निजीकरण विस्तार गर्ने नयाँ कार्यक्रम ल्याएपछि युनियन थप चिन्तित बनेको छ। युनियनले यस कदमविरुद्ध कानुनी उपचार खोजिरहेको छ र आफ्ना सदस्यहरूलाई एकबद्ध भई विरोधमा उत्रिन आह्वान गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com