अक्टोबरमा परिवारमा आधारित कुन श्रेणीको ग्रिनकार्ड आवेदन कहिले दिने?


प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार

न्युयोर्क — अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको अक्टोबर २०२६ को भिसा बुलेटिनमा पारिवारिक आधारमा ग्रिन कार्ड प्राप्त गर्ने विभिन्न श्रेणीमा सेप्टेम्बरको तुलनामा सीमित मात्र प्रगति देखिएको छ। आर्थिक वर्ष २०२७ को पहिलो भिसा बुलेटिनमा केही श्रेणीका कटअफ मिति यथावत् छन् भने केहीमा सामान्य सुधार भएको छ।

नेपालसहित अधिकांश देशका आवेदकका लागि अक्टोबरमा पारिवारिक प्राथमिकताका प्रमुख श्रेणीमध्ये धेरैको अन्तिम कारबाही मिति सेप्टेम्बरकै स्तरमा कायम छ। सबैभन्दा उल्लेखनीय परिवर्तन स्थायी बासिन्दाका पति/पत्नी तथा २१ वर्षमुनिका अविवाहित सन्तानका लागि रहेको एफ२ए श्रेणीमा देखिएको छ। एफ२एमा नेपालसहित अधिकांश देशका लागि अन्तिम कारबाही मिति एक महिना अगाडि सरेर सेप्टेम्बर २२, २०२६ पुगेको छ। मेक्सिकोका लागि भने यो मिति मार्च २२, २०२६ पुगेको छ।

अक्टोबरको भिसा बुलेटिनले उक्त महिनामा आप्रवासी भिसा नम्बर उपलब्ध हुने अवस्थालाई निर्धारण गर्छ। यसमा ‘अन्तिम कारबाही मिति’ र ‘आवेदन पेस गर्ने मिति’ दुवै तालिका समावेश छन्। अमेरिकाभित्रबाट ग्रिन कार्डका लागि स्टाटस समायोजन आवेदन दिने व्यक्तिका हकमा अक्टोबरमा ‘आवेदन पेस गर्ने मिति’ तालिका प्रयोग गर्न युएससीआईएसले अनुमति दिएको छ। भिसा बुलेटिनअनुसार, ‘सी’ अर्थात् ‘करेन्ट’ भएको श्रेणीमा प्राथमिकता मितिको कटअफ हुँदैन।

अमेरिकी आप्रवासन तथा राष्ट्रियता ऐनको धारा २०१ अनुसार परिवार-प्रायोजित प्राथमिकताका आप्रवासीका लागि वार्षिक न्यूनतम सीमा २ लाख २६ हजार छ। परिवार तथा रोजगारमा आधारित प्राथमिकता आप्रवासीका लागि प्रतिदेश सीमा सामान्यतः सम्बन्धित वार्षिक सीमाको ७ प्रतिशत हुन्छ। अक्टोबर २०२६ को बुलेटिनमा प्रतिदेश सीमाअन्तर्गतको वार्षिक सीमा २५ हजार ६२० उल्लेख गरिएको छ।

नेपाल छुट्टै रूपमा सूचीबद्ध नभएकाले नेपाली आवेदकहरू ‘सूचीमा परेका बाहेक सबै देश’ शीर्षकअन्तर्गत पर्छन्।

अमेरिकी नागरिकका अविवाहित छोरा–छोरी

अमेरिकी नागरिकका अविवाहित छोरा–छोरीका लागि रहेको एफ१ श्रेणीमा नेपालसहित अधिकांश देशका लागि अक्टोबरमा कुनै परिवर्तन भएको छैन।

अन्तिम कारबाही मिति जनवरी २२, २०२० मै कायम छ। मेक्सिकोका लागि यो मिति सेप्टेम्बर ८, २००८ र फिलिपिन्सका लागि नोभेम्बर १, २०१३ छ।

‘आवेदन पेस गर्ने मिति’ पनि नेपालसहित अधिकांश देशका लागि फेब्रुअरी १, २०२० मै कायम छ। मेक्सिकोका लागि डिसेम्बर १, २००८ र फिलिपिन्सका लागि अप्रिल २२, २०१५ रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थायी बासिन्दाका पति–पत्नी तथा सन्तान

स्थायी बासिन्दाका पति–पत्नी तथा २१ वर्षमुनिका अविवाहित सन्तानका लागि रहेको एफ२ए श्रेणीमा नेपालसहित अधिकांश देशका आवेदकका लागि अन्तिम कारबाही मिति एक महिना अगाडि सरेको छ।

सेप्टेम्बरमा अगस्ट २२, २०२६ रहेको अन्तिम कारबाही मिति अक्टोबरमा सेप्टेम्बर २२, २०२६ पुगेको छ। यही मिति चीनमा जन्मेका, भारत र फिलिपिन्सका आवेदकका लागि पनि लागू हुन्छ। मेक्सिकोका लागि भने अन्तिम कारबाही मिति अगस्ट २२, २०२५ बाट मार्च २२, २०२६ पुगेको छ।

एफ२ए श्रेणीको ‘आवेदन पेस गर्ने मिति’ भने सबै देशका लागि ‘करेन्ट’ अर्थात् तत्काल उपलब्ध छ। यसको अर्थ आवेदन पेस गर्ने तालिकामा कुनै प्राथमिकता मितिको कटअफ राखिएको छैन।

बुलेटिनअनुसार प्रतिदेश सीमाबाट छुट पाएका एफ२ए भिसा नम्बर मार्च २२, २०२६ भन्दा अघिको प्राथमिकता मिति भएका सबै देशका आवेदकका लागि उपलब्ध छन्। प्रतिदेश सीमाअन्तर्गत पर्ने नेपालसहित अधिकांश देशका आवेदकका लागि प्राथमिकता मिति मार्च २२, २०२६ देखि सेप्टेम्बर २२, २०२६ भन्दा अगाडिसम्मका केसमा नम्बर उपलब्ध हुने व्यवस्था छ। मेक्सिकोका सबै एफ२ए नम्बर प्रतिदेश सीमाबाट छुट पाएका छन्।

स्थायी बासिन्दाका २१ वर्ष वा सोभन्दा माथिका अविवाहित छोरा–छोरी

स्थायी बासिन्दाका २१ वर्ष वा सोभन्दा माथिका अविवाहित छोरा–छोरीका लागि रहेको एफ२बी श्रेणीमा नेपालसहित अधिकांश देशका लागि अक्टोबरमा कुनै परिवर्तन भएको छैन।

अन्तिम कारबाही मिति अगस्ट २२, २०१९ मै कायम छ। मेक्सिकोका लागि भने यो मिति फेब्रुअरी १५, २००९ बाट अगाडि सरेर मे १५, २०१० पुगेको छ। फिलिपिन्सका लागि अक्टोबर १, २०१३ नै कायम छ।

‘आवेदन पेस गर्ने मिति’ नेपालसहित अधिकांश देशका लागि सेप्टेम्बर १, २०१९ मा कायम छ। मेक्सिकोका लागि मार्च २२, २०११ र फिलिपिन्सका लागि अक्टोबर १, २०१४ रहेको छ।

अमेरिकी नागरिकका विवाहित छोरा–छोरी

अमेरिकी नागरिकका विवाहित छोरा–छोरीका लागि रहेको एफ३ श्रेणीमा पनि नेपालसहित अधिकांश देशका लागि अक्टोबरमा कुनै परिवर्तन भएको छैन।

अन्तिम कारबाही मिति नेपाल, चीनमा जन्मेका र भारतका आवेदकका लागि अक्टोबर २२, २०१४ मा कायम छ। मेक्सिकोका लागि जुलाई १, २००१ र फिलिपिन्सका लागि जुलाई २२, २००६ रहेको छ। फिलिपिन्सको मिति फेब्रुअरी २२, २००६ बाट अगाडि सरेको हो।

‘आवेदन पेस गर्ने मिति’ नेपालसहित अधिकांश देशका लागि नोभेम्बर १, २०१४ मै कायम छ। मेक्सिकोका लागि डिसेम्बर १, २००२ र फिलिपिन्सका लागि अक्टोबर २२, २००६ रहेको छ।

वयस्क अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनी

वयस्क अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीका लागि रहेको एफ४ श्रेणीमा केही देशका लागि सामान्य सुधार भएको छ।

नेपालसहित अधिकांश देशका लागि अन्तिम कारबाही मिति अक्टोबर २२, २०११ मै कायम छ। भारतका लागि यो मिति नोभेम्बर १, २००६ बाट बढेर डिसेम्बर १५, २००६ पुगेको छ। मेक्सिकोका लागि अप्रिल ८, २००१ बाट बढेर अप्रिल २२, २००१ र फिलिपिन्सका लागि अगस्ट २२, २००७ बाट बढेर मे १५, २००८ पुगेको छ।

‘आवेदन पेस गर्ने मिति’ नेपालसहित अधिकांश देशका लागि नोभेम्बर १, २०११ मा यथावत् छ। भारतका लागि फेब्रुअरी १, २००७, मेक्सिकोका लागि अप्रिल ३०, २००१ र फिलिपिन्सका लागि मार्च २२, २००९ रहेको छ।

आर्थिक वर्ष २०२७ सुरु भएसँगै नयाँ भिसा नम्बरको बाँडफाँट

अक्टोबरको भिसा बुलेटिनसँगै आर्थिक वर्ष २०२७ सुरु भएको छ। अमेरिकी विदेश मन्त्रालयले नयाँ आर्थिक वर्षका आप्रवासी भिसा नम्बर उपलब्ध भएपछि विभिन्न आप्रवासी भिसा श्रेणीमा ‘आवेदन पेस गर्ने मिति’ र ‘अन्तिम कारबाही मिति’ निर्धारण गरिएको जनाएको छ।

परिवार-आधारित प्राथमिकता श्रेणीमा एफ१का लागि वार्षिक २३ हजार ४ सय, एफ३का लागि २३ हजार ४ सय र एफ४का लागि ६५ हजार भिसा नम्बरको आधारभूत सीमा तोकिएको छ। दोस्रो प्राथमिकता एफ२ अन्तर्गत कुल १ लाख १४ हजार २ सय नम्बरको व्यवस्था छ, जसमा एफ२एले ७७ प्रतिशत र एफ२बीले २३ प्रतिशत हिस्सा पाउँछन्।

७५ देशका नागरिकका लागि आप्रवासी भिसा रोकसम्बन्धी पछिल्लो अवस्था

अक्टोबरको भिसा बुलेटिन यस्तो समयमा आएको छ, जब नेपालसहित ७५ देशका नागरिकका लागि जनवरी २०२६ मा सुरु गरिएको आप्रवासी भिसा जारी गर्ने रोक हटिसकेको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार अगस्ट २१, २०२६ देखि ती ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्ने जनवरीको रोक अब लागू छैन। यो परिवर्तन मुद्दामा अदालतको आदेशपछि भएको हो। नेपाल पनि उक्त ७५ देशको सूचीमा परेको थियो।

अगस्ट २१ मा न्युयोर्कस्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश जेनेट ए. भार्गसले विदेश मन्त्रालयको उक्त नीति खारेज गरेकी थिइन्। सरकारले सो निर्णयविरुद्ध अपिल गरेको छ। सेप्टेम्बरमा न्यायाधीश भार्गसले अपिल विचाराधीन रहँदा निर्णयलाई स्थगित गर्ने सरकारको अनुरोध अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो।

यसको अर्थ रोक हटेको भए पनि कुनै व्यक्तिले स्वतः आप्रवासी भिसा वा ग्रिन कार्ड पाउने भन्ने होइन। व्यक्तिगत योग्यता, प्राथमिकता मिति, भिसा नम्बरको उपलब्धता तथा अन्य आप्रवासनसम्बन्धी आवश्यकताहरू अझै लागू हुन्छन्। अमेरिकी विदेश मन्त्रालयले पनि रोक हटेको जानकारी दिँदै अन्य जाँच तथा भिसा आवश्यकताहरू भने लागू रहन सक्ने जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com