टेनेसीमा प्राणघातक औषधि दिँदा पनि मृत्युदण्ड असफल: महिला कैदी अस्पताल भर्ना


प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार

Photo: Ray Graciano/ Unsplash

हत्याको अभियोगमा दोषी ठहरिएकी क्रिस्टा भान्डरपाइकलाई दिइएको विषालु सुई असफल भएपछि टेनेसीका गभर्नरले राज्यका सबै मृत्युदण्डका कार्यक्रम कम्तीमा यो वर्षको अन्त्यसम्मका लागि स्थगन गरेका छन्। साथै, उनले यस घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न आदेश दिएका छन्।

बुधबार राति न्याशभिलस्थित कारागारमा उपस्थित प्रत्यक्षदर्शीहरूका अनुसार अधिकारीहरूले पेनटोबार्बिटल  नामक विषालु औषधिको दुई डोज दिइसक्दा पनि ५० वर्षीया भान्डरपाइक जीवितै थिइन् र करिब ४० मिनेटसम्म ठूलो स्वरले घुरिरहेकी थिइन्।

टेनेसी सुधार विभागका अनुसार उनलाई कारागारबाहिरको एक स्वास्थ्य संस्थामा लगिएको छ। बिहीबारसम्म उनको स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

टेनेसीका रिपब्लिकन गभर्नर बिल लीले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै कारागार प्रशासनप्रति असन्तुष्टि जनाएका छन्। उनले भने, “कानुनी रूपमा तोकिएको सजाय कार्यान्वयन गर्नु राज्यको गम्भीर जिम्मेवारी हो। टेनेसीका जनताले यो प्रक्रिया कानुनी र संवैधानिक मात्र नभई प्रभावकारी पनि होस् भन्ने अपेक्षा राख्छन्।” गभर्नर लीले के-कसो भएको हो भन्ने यथार्थ पत्ता लगाउन तेस्रो पक्षबाट निष्पक्ष समीक्षा गराउन माग गरेका छन्।

डेथ पेनाल्टी इन्फर्मेसन सेन्टरकी कार्यकारी निर्देशक रोबिन माहेरले यस घटनालाई “अद्वितीय र अभूतपूर्व” भनेकी छन्। नसा नभेटिएका कारण मृत्युदण्ड रोकिएका घटनाहरू पहिले पनि भए तापनि विषालु औषधि शरीरमा प्रवेश गराइसकेपछि पनि कैदी जीवितै रहेको घटना भने आधुनिक इतिहासमा नसुनिएको उनले बताइन्।

क्रिस्टा भान्डरपाइकलाई सन् १९९४ मा आफ्नै कक्षाकी १९ वर्षीया साथी कलीन भलेमरको नृशंस हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो। उनी टेनेसीमा २०० वर्षभन्दा बढी समयपछि मृत्युदण्ड पाउन लागेकी पहिलो महिला थिइन्।

भान्डरपाइकका वकिलहरूले दोस्रो मात्रा औषधि दिएलगत्तै सर्वोच्च अदालतमा आपतकालीन निवेदन दर्ता गराउँदै मृत्युदण्ड रोक्न माग गरेका थिए। उनीहरूका अनुसार भान्डरपाइकले “अनावश्यक यातना” भोग्नुपरेको थियो, जसले क्रूर र असामान्य सजायविरुद्धको संवैधानिक अधिकारको उल्लङ्घन गर्छ।

यस स्थगन आदेशका कारण आगामी डिसेम्बर ३ मा ग्यारी वेन सटनलाई दिइने भनिएको मृत्युदण्ड पनि रोकिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com