अमेरिकामा आप्रवासीलाई हिरासतबाट भगाउन सहयोग गरेको आरोपमा नर्समाथि मुद्दा
प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार
Photo: Sasun Bughdaryan/ Unsplash
अमेरिकाको मिसिगनस्थित एक अस्पतालमा कार्यरत नर्समाथि अमेरिकी आइसको हिरासतमा रहेका एक मेक्सिकन नागरिकलाई भाग्न सहयोग गरेको आरोपमा मुद्दा चलाइएको छ।
अदालतको कागजात अनुसार, ३३ वर्षीया क्लो रेने फ्रिम्यानमाथि गत अगस्टको अन्त्यमा ‘ट्रिनिटी हेल्थ एन आर्बर’ अस्पतालबाट देश निकालाको प्रक्रियामा रहेका व्यक्तिलाई भगाउन जानाजानी मद्दत गरेको अभियोग दर्ता गरिएको हो।
मे २८ मा आइस एजेन्टहरूबाट भाग्न खोज्दा घाइते भएका ती मेक्सिकन नागरिकलाई उपचारका लागि फ्रिम्यान कार्यरत अस्पताल लगिएको थियो। सिटी स्क्यान सम्पन्न भएलगत्तै फ्रिम्यानले उनलाई स्क्यान कक्षबाट बाहिर निकालेकी थिइन्। अस्पतालको सिसिटिभी फुटेजमा ती व्यक्ति तीन मिनेटभित्रै एम्बुलेन्स ढोकाबाट बाहिरिएको देखिएको छ। उनी अहिलेसम्म फेला परेका छैनन्।
जुन १८ को सोधपुछका क्रममा फ्रिम्यानले ती व्यक्तिलाई जान दिएको स्वीकार गरेकी थिइन्। उनले आइसले मानिसहरूलाई उनीहरूको परिवारबाट अलग गराउने नीतिप्रति असहमति जनाउँदै आफूले उनलाई ‘मुक्त गराउने’ निर्णय गरेको बताएकी छन्। साथै, उनले ती व्यक्तिको चोटपटक गम्भीर रहेकाले उनको ज्यान जान सक्ने सोचेको पनि बताएकी छन्।
अस्पताल प्रशासनका अनुसार फ्रिम्यान अब उक्त अस्पतालमा कार्यरत छैनन्। मंगलबार डिट्रोइटको फेडरल अदालतमा उपस्थित हुने क्रममा उनका वकिल म्याथ्यु बोर्गुलाले फ्रिम्यानले अदालतसामु आफू निर्दोष रहेको बयान दिने योजना बनाएको जानकारी दिएका छन्।





