अमेरिकामा अध्यागमन एजेन्टहरूको उपस्थिति तीव्र: गोलीकाण्ड र विरोधका बीच देशनिकाला अभियान कडा बनाइँदै
प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार
फोटो: होमल्याण्ड सेक्युरिटी
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार आइसले शरणार्थी मैत्री शहरहरूमा आफ्नो उपस्थिति तीव्र पारेको छ। यी शहरहरू स्थानिय प्रहरी र संघीय अधिकारीहरूबीचको सहकार्य सीमित गर्नका लागि परिचित मानिन्छन्।
शनिबार सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गरिएको एक वक्तव्यमा, डिएचएसले ट्रम्प प्रशासनको निरन्तरको अध्यागमन सम्बन्धी कडाइका रूपमा आइसले “स्यान्क्चुअरी सिटीहरूमा व्यापक कारबाही सुरु गरेको जनाएको छ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले पहिचान गरेका राज्य र क्षेत्रहरूमा क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, वासिङ्टन डिसी, इलिनोइ, मिनेसोटा, न्यूयोर्क, ओरेगन, रोड आइल्यान्ड, भर्मोन्ट र वासिङ्टन रहेका छन्।
अध्यागमन कारबाहीको चौतर्फी आलोचना भइरहेका बेला आइसका प्रमुख टम होमनले आइस कतै नजाने बताएका छन्।
अस्टिन, टेक्सासमा डोरड्याश मार्फत खाना पुर्याइरहेका एक भेनेजुएलाली नागरिकलाई संघीय अधिकारीहरूले उनकै कारभित्र गोली हानेको केही दिनपछि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको यो बयान आएको हो।
विल्बर राफेल गार्कास पेरेजलाई अस्पताल भर्ना गरिएको थियो, तर ढाडमा गोली अड्किएकै अवस्थामा उनी अहिल्यै आइसको हिरासतमा छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएयता संघीय अध्यागमन एजेन्टहरूले कम्तीमा २० जनामाथि गोली चलाइसकेका छन्, जसमध्ये ७ जनाको मृत्यु भइसकेको छ।
यी गोलीकाण्डहरूले देशभरि विरोध प्रदर्शनहरू निम्त्याएका छन्। आलोचकहरूका अनुसार ट्रम्पको देशनिकाला तीव्र पार्ने नीतिले हिंसात्मक मुठभेडहरू बढाएको छ। साथै, उनीहरूले प्रशासनमाथि घटनामा संलग्न एजेन्टहरूलाई जवाफदेही बनाउन अस्वीकार गरेको आरोप पनि लगाएका छन्।
अमेरिकाभर आइसको उपस्थिति बढेसँगै डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी अधिकारीहरूले आफ्नो बाटोमा आउने “सबै कागजातविहीन आप्रवासीहरूलाई पक्राउ गर्न जारी राख्ने” बताएका छन्। उनीहरूले ‘स्यान्क्चुअरी’ राजनीतिज्ञहरूद्वारा जेलबाट रिहा गरिएका “अपराधी कानुनी हैसीयत नभएका आप्रवासीहरू” लाई लक्षित गरिरहेको दाबी गरेका छन्।
ट्रम्पले “सबैभन्दा खराब अपराधीहरू” लाई देशनिकाला गर्ने प्रतिबद्धता जनाएका भए पनि पक्राउ परेका बहुसंख्यक मानिसहरू गैर-अपराधी वा सानातिना कसुर भएकाहरू छन्।
गत हप्ता, शिकागोको एक उपनगरमा अध्यागमन एजेन्टहरूले एक अमेरिकी नागरिकलाई भगौडा अभियुक्त ठानेर कुटपिट गर्दा उनी सडकको किनारमा रक्तरंजित र घाइते अवस्थामा भेटिएका थिए। स्थानिय प्रहरी र उनलाई सहयोग गर्न खोज्ने एक स्थानीय बासिन्दाका अनुसार यो घटना घटेको हो।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले शहरहरूमा आइसको उपस्थिति बढाउने आफ्नो पछिल्लो योजनालाई “देशव्यापी जनसुरक्षा अभियान”भनेको छ।





