अमेरिकामा समुद्री छाल र बाढीको त्रास: एक जनाको मृत्यु, न्युयोर्क र न्युजर्सी सर्वाधिक प्रभावित


प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार

Photo: Richard R/ Unsplash

अमेरिकी उत्तर-पूर्वी क्षेत्रमा आइतबार शक्तिशाली ‘नोर-इस्टर’आँधीका कारण तटीय बस्तीहरू जलमग्न भएका छन् भने दशौँ हजार घर तथा व्यवसायमा विद्युत् आपूर्ति ठप्प भएको छ। मौसमविद्हरूले पुनः आउन सक्ने उच्च समुद्री छालले जोखिममा रहेका तटीय क्षेत्रहरू थप डुबानमा पर्न सक्ने चेतावनी दिएका छन्।

शनिबार रुख ढलेर न्युयोर्क सहरका एक आवास प्राधिकरण कर्मचारीको मृत्यु गराएको यो सुस्त गतिको आँधी न्युजर्सीदेखि न्यु इङ्ल्यान्डसम्म भारी वर्षा, तीव्र हावाहुरी र खतरनाक समुद्री छालसहित आइतबारभर रहने अनुमान गरिएको छ।

नेशनल वेदर सर्भिसका मुख्य मौसमविद् बब ओराभेकका अनुसार आइतबार बिहान आँधी लङ आइल्यान्डको ठीक दक्षिण र उत्तरी न्युजर्सीको पूर्वमा रहेको थियो। यो आँधी सोही क्षेत्र आसपास थप २४ घण्टासम्म घुमिरहने अपेक्षा गरिएको छ।

आइतबार उत्तरी न्युजर्सी, न्युयोर्क सहर, लङ आइल्यान्ड र दक्षिणी न्यु इङ्ल्यान्डमा उच्च वर्षाको जोखिम कायमै थियो। आँधी बिस्तारै कमजोर भइरहेको भए पनि तटीय बाढीको खतरा आइतबार बिहान र साँझको उच्च छालका क्रममा कायमै रहने ओराभेकले बताएका छन्। ओराभेकले थपे, “यस आँधीको सबैभन्दा बढी प्रभाव तीव्र हावाहुरी र समुद्री बाढीमा देखिनेछ।”

आइतबार बिहानसम्म उत्तर-पूर्वी र मध्य-एटलान्टिक क्षेत्रका १ लाखभन्दा बढी ग्राहक विद्युत्विहीन बनेका छन्। जसमा न्युयोर्कका ४० हजारभन्दा बढी, कनेक्टिकटका ३१ हजार, न्युजर्सीका २१ हजार र म्यासाचुसेट्सका ११ हजारभन्दा बढी ग्राहक प्रभावित छन्।

सङ्घीय आपतकालीन व्यवस्थापन एजेन्सीले प्रभावित क्षेत्रका प्रतिकार्य समन्वय केन्द्रहरूलाई सक्रिय बनाएको र व्यापक विद्युत् कटौतीको सम्भावनालाई ध्यानमा राख्दै न्यु इङ्ल्यान्डमा उद्धार टोलीहरूलाई तयारी अवस्थामा राखिएको जनाएको छ।

शनिबार न्युजर्सी र न्युयोर्कका बाढीग्रस्त सडकमा मानिसहरू कायकिङ गरिरहेका थिए भने केही मानिसहरू उच्च छालमा सर्फिङ गर्न किनारतर्फ गएका थिए। न्युजर्सीको सी ब्राइटमा बाढीमा गाडी फसेपछि आपतकालीन टोलीले एक महिला र उनको कुकुरको उद्धार गरीएको थीयो।

त्यस्तै, न्युजर्सीकै सर्फ सिटीस्थित एक मारिना भित्र पानी पसेको थियो। त्यहाँका सञ्चालक केनी फोर्मिकाका अनुसार केही ग्राहकका बोट तथा जेट स्कीहरू हावाले उडाएको वा बेपत्ता भएको खबर आएको छ। भर्जिनियाको नोर्फोकमा सडकमा जमेको बाढीका कारण गाडीहरू पानी पन्छाउँदै हिँड्न बाध्य भएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस आँधीले समग्र क्षेत्रको यातायात सेवासमेत प्रभावित बनाएको छ। बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँ उडानहरू रद्द गरिएका छन्। उत्तरी क्यारोलिनाको ह्याटेरास टापु जोड्ने राजमार्ग बाढीका कारण बन्द भएपछि पर्यटकहरू अलपत्र परेका छन्। बाढीकै कारण आमन्त्रित ४५ जना पाहुनाहरू टापुमा पुग्न नसकेपछि एक जोडीले आफ्नो विवाहको स्थान अन्तिम समयमा सार्नुपरेको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com