विज्ञानले अर्को विपद्को पूर्वसूचना दिन सक्छ? नेपालको विपद्का अनुत्तरित प्रश्नबारे विज्ञको व्याख्या
प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार
नेपालका भोटेकोशी र त्रिशूली नदी करिडोरमा आएको विनाशकारी बाढी र त्यससँगै बगेर आएको व्यापक लेदोले यो विपद् वास्तवमा कसरी सुरु भयो, जलवायु परिवर्तनले हिमालय क्षेत्रमा जोखिमलाई कसरी बदलिरहेको छ र भविष्यमा यस्ता घटनाबाट बच्न प्रविधिले मानिसहरूलाई सुरक्षित स्थानमा जान पर्याप्त समय दिन सक्छ कि सक्दैन भन्नेबारे गम्भीर प्रश्न उठाएको छ।
खसोखासका सम्पादक सुरेश शाहीसँगको यस अन्तर्वार्तामा जलविज्ञान, जलवायु नीति विज्ञ तथा अन्तरिक्ष विज्ञानकी नेतृत्वकर्ता डा. राहा हाकिमदावरले यस विपदबारे वैज्ञानिकहरूले के थाहा पाएका छन् र अझै के बुझ्न प्रयास गरिरहेका छन् भन्नेबारे चर्चा गरेकी छन्। उनले यो घटनालाई हिमताल विस्फोटनजन्य बाढीको श्रेणीमा राख्न नसकिनुका कारण, स्याटेलाइटमा आधारित अवलोकनबाट पूर्वसूचना प्रणाली सुधार गर्ने उपाय, सम्भावित विपद्पूर्व तयारी, जोखिम मूल्यांकन एवम् सामुदायिक उत्थानशीलता अभिवृद्धिको आवश्यकताबारे प्रकाश पारेकी छन्।
सुरेश शाही: यो हिमताल विस्फोटबाट आएको बाढी थियो, चट्टान र बरफको पहिरो थियो वा यी सबै घटनाको संयोजन थियो? हजारौँ मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको यो विपद्को वास्तविक कारण के थियो?
डा. राहा हाकिमदावर: घटना सुरु हुँदा धेरै अन्योल थियो। सुरुमा हामीले अमेरिकी भूगर्भ सर्वेक्षणको भूकम्पमापक यन्त्रमा ५.२ म्याग्निच्युडको भूकम्प दर्ता भएको देख्यौँ, त्यसैले यो भूकम्प हुन सक्छ भन्ने सोच्यौँ। त्यसपछि यो हिमताल विस्फोटबाट आएको बाढी हुन सक्छ भन्ने लाग्यो—जुन नेपाल र यस क्षेत्रका लागि परिचित जोखिम पनि हो।
तर घटनाअघि र घटनापछिका स्याटेलाइट तस्बिरहरू हेर्दै जाँदा वास्तवमा के भएको थियो र के भइरहेको थियो भन्ने कुरा जोड्न निकै मद्दत गर्यो, हामीले यो तपाईंले उल्लेख गर्नुभएको दोस्रो अवस्थासँग बढी मिल्ने देख्यौँ—बरफ र चट्टानको पहिरो, लेदोको बहाव र त्यसपछि एकपछि अर्को गर्दै घटेका घटनाहरू। यसलाई ठ्याक्कै हिमनदी खसेको घटना भन्न त मिल्दैन, यद्यपि त्यस किसिमको शब्दावली पनि प्रयोग भएको थियो।
तपाईंले यसलाई त्यसरी बुझ्न सक्नुहुन्छ—यो अत्यन्त ठूलो किसिमको कटान थियो, जसले घटनाहरूको साङ्ग्लो निम्त्यायो; लेदोको बहाव, पहिरो र त्यसपछि तल्लो क्षेत्रमा आएको बाढीसहित।
सुरेश शाही: घटनाका भिडियोहरू हेर्दा निकै भयावह देखिन्छन्। के हामी यसलाई सामान्य बाढी वा ठूलो विपद् निम्त्याउने सामान्य पहिरो भन्न सक्छौँ? तपाईंका अनुसार यसको मुख्य कारण के थियो?
डा. राहा हाकिमदावर: यो भूकम्प थिएन, न त हिमताल विस्फोटबाट आएको बाढी नै थियो। मूलतः हिमनदीको बरफको संरचनात्मक स्थायित्व कमजोर भएको थियो। त्यसको एउटा हिस्सालाई अहिले हामीले जलवायु परिवर्तनसँग, विशेषगरी तापक्रम वृद्धिसँग, जोडेर हेर्न थालेका छौँ।
तर यो घटना यति ठूलो थियो कि यसलाई भूकम्पीय गतिविधिका रूपमा समेत दर्ता गरियो। त्यसैले यो सामान्य घटना थिएन, र सजिलै पूर्वानुमान गर्न सकिने खालको पनि थिएन। यही कारणले यो यति विनाशकारी बन्यो।
पहिरो छुट्टिएको समयदेखि तल्लो क्षेत्रका बस्तीहरूमा बाढीले विनाश पुर्याउनेसम्मको समय हेर्ने हो भने, प्रतिक्रिया जनाउनका लागि अत्यन्तै थोरै समय थियो।
यसको एउटा कारण नेपालको जटिल भू-आकृति पनि हो। यो अत्यन्त चुनौतीपूर्ण छ—अत्यन्त अग्ला भिरालो भूभागबाट छोटो दूरीमै निकै तल्लो उचाइका क्षेत्रमा पुगिन्छ। यही कारणले यस्ता घटनाको पूर्वानुमान गर्न निकै कठिन हुन्छ।
त्यसैले म यसलाई सामान्य हिमताल विस्फोटको बाढी भन्दिनँ। नेपालका ठूला हिमतालहरूको हामीले निरन्तर निगरानी गरिरहेका छौँ। त्यो हामीलाई थाहा भएको जोखिम हो, र त्यस्ता बाढीका लागि हामीसँग पूर्वसूचना पाउने समय पनि यस घटनाको तुलनामा लामो हुन्छ।
भिडियोहरू हेर्दा पानीको गति मात्र होइन, त्यो कति विनाशकारी थियो भन्ने पनि प्रष्ट हुन्छ। किनकि धेरै ठूलो मात्रामा लेदो र ढुंगा-माटो अत्यन्त तीव्र गतिमा नदी प्रणाली हुँदै बगेको थियो, जसले यसलाई रोक्न वा सामना गर्न अत्यन्त कठिन बनायो।
सुरेश शाही: तपाईंले जलवायु परिवर्तनको कुरा गर्नुभयो। नेपालका प्रधानमन्त्रीले हालै संयुक्त राष्ट्रसंघमा विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनबारे बोल्नुभएको थियो। विश्वव्यापी तापक्रम वृद्धिले नेपालका हिमनदी, हिउँ र पहाडी ढलानलाई कसरी असर गरिरहेको छ? हिमाली तथा पहाडी क्षेत्रमा विश्वभर यसको प्रभाव कस्तो छ? जलवायु परिवर्तनले यी प्रणालीलाई असर गरिरहेको छ भन्ने प्रमाण हामीसँग के छ?
डा. राहा हाकिमदावर: म संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले गर्नुभएको टिप्पणीको सराहना गर्छु। यो वास्तवमै महत्त्वपूर्ण आह्वान हो। देशभित्र भइरहेको यति गम्भीर घटनालाई उहाँले विश्वव्यापी मञ्चमा जोड्नुभएको कुरा महत्त्वपूर्ण छ।
यस क्षेत्रमा हामीले तीव्र तापक्रम वृद्धि देखिरहेका छौँ; हिउँ पग्लने क्रम बढेको छ र हिउँ पर्नुको सट्टा वर्षा हुने क्रममा स्पष्ट परिवर्तन देखिन्छ।
यहाँ एउटा भिन्नता बुझ्नुपर्छ। जलवायु परिवर्तनले हिमालयको हिममण्डल अर्थात् पृथ्वीको बरफयुक्त भाग र यस्ता जोखिम उत्पन्न हुने पृष्ठभूमि अवस्थालाई बदलिरहेको छ।
तर यसको अर्थ हरेक व्यक्तिगत पहिरो वा चट्टान-बरफ भत्किएको घटना प्रत्यक्ष रूपमा जलवायु परिवर्तनकै कारण भएको हो भन्न भने सकिँदैन। कुनै एक निश्चित घटनालाई जलवायु परिवर्तनसँगै जोडेर तुरुन्तै प्रमाणित गर्नु सामान्यतः निकै चुनौतीपूर्ण हुन्छ।
हामीले बुझ्न खोज्ने कुरा बदलिँदै गएका अवस्था र दीर्घकालीन प्रवृत्ति हुन्। त्यो प्रवृत्ति हेर्दा, हामीले उच्च तापक्रम, पछाडि हट्दै गएका हिमनदी, पग्लिँदै गएको माटो, माथि सर्दै गएको हिउँ जम्ने रेखा र विस्तार भइरहेका हिमतालहरू देखिरहेका छौँ।
यी कुराहरू यस क्षेत्रका लागि सत्य हुन्। वैज्ञानिक समुदायले पनि हिमनदीको संरचनात्मक कमजोरिका पछाडि जलवायु परिवर्तनबाट उत्पन्न आधारभूत चुनौतीहरू नै जोडिएका छन् भनेर अझ स्पष्ट रूपमा भन्न थालेको छ।
सुरेश शाही: त्यसो भए, कुनै एउटा घटनालाई सिधै जलवायु परिवर्तनसँग जोड्दा वैज्ञानिकहरू सावधान हुनुपर्छ भन्ने कुरामा तपाईंले जोड दिनुभएको हो?
डा. राहा हाकिमदावर: हो, हामी विज्ञानका विषयमा सधैँ सावधान हुन्छौँ। हामीले प्रस्तुत गर्ने तथ्य सही होस् भन्ने चाहन्छौँ। वैज्ञानिक समुदायमा तथ्यांकमा आधारित अनुसन्धानभन्दा अगाडि बढेर हतारमा निष्कर्ष निकाल्नु हुँदैन भन्नेमा म सचेत छु।
त्यसैले यसलाई कसरी प्रस्तुत गर्ने भन्नेमा सावधानी अपनाउनुपर्छ। तर निश्चित रूपमा, जलवायु परिवर्तन र यी घटनाहरूबीच प्रत्यक्ष/अप्रत्यक्ष सम्बन्ध भने छ।
सुरेश शाही: तपाईंले यो सामान्य बाढी नभई असामान्य घटना भएको बताउनुभयो। वैज्ञानिकका रूपमा, यस्तो घटना हुनुअघि पहिचान गर्न सकिने कुनै चेतावनीमूलक संकेत हुन्छन्?
डा. राहा हाकिमदावर: यस्ता घटनाका लागि पूर्वसूचना दिन निकै चुनौतीपूर्ण हुन्छ। किनभने, हरेक हिमनदी र हरेक स्थानलाई सूक्ष्म रूपमा निगरानी गर्न सम्भव नहुन सक्छ।
तर विज्ञान र अहिले उपलब्ध स्याटेलाइट तथ्यांक प्रयोग गरेर हामीले गर्न सक्ने एउटा काम भनेको सम्भावित जोखिम क्षेत्रको पहिचान हो।
हामी ठूलो भूभागलाई निगरानी गरेर भू-दृश्यमा भइरहेका परिवर्तनका संकेत र प्रवृत्तिहरू खोज्न सक्छौँ। हामीसँग विभिन्न प्रकारका स्याटेलाइट उपकरणहरू छन्, जसले जमिनमा हुने सूक्ष्म परिवर्तनहरू पहिचान गर्न सक्छन्।
व्यापक क्षेत्रीय तहमा भइरहेका परिवर्तन बुझ्न यो एउटा महत्त्वपूर्ण सुरुवात हो।
तर जमिनमा गरिने निगरानी र अवलोकन पनि उत्तिकै अत्यावश्यक छ। साथै, यो सीमापारको जलप्रणाली भएकाले तथ्यांक आदानप्रदानमा क्षेत्रीय सहयोग र समन्वय हुनुपर्छ। एउटै नदी प्रणाली साझा गर्ने देशहरूबीच समन्वित प्रयास आवश्यक छ।
सुरेश शाही: स्याटेलाइट प्रविधिमै फर्कौँ। यो घटना यति छिटो भयो कि उपत्यकामा रहेका मानिसहरूसँग भाग्ने समय नै भएन। के यस्ता स्याटेलाइट वा अन्य प्रविधि छन्, जसले उपत्यकाका मानिसहरूलाई घट्ना हुनु ३० देखि ९० मिनेटअगावै चेतावनी दिन सकून्—ताकि उनीहरूले ज्यान जोगाउन सकून्?
डा. राहा हाकिमदावर: यसमा धेरै तहमा काम गर्नुपर्छ।
पहिलो, सिन्थेटिक एपर्चर राडार (SAR) जस्ता प्रविधिको प्रयोग गरेर क्षेत्रीय निगरानी गर्न सकिन्छ। हामी युरोपेली अन्तरिक्ष एजेन्सीको सेन्टिनेल (Sentinel), नासाको ल्यान्डस्याट (Landsat) र हालै प्रक्षेपण गरिएको संयुक्त निसार (NISAR) स्याटेलाइट प्रयोग गर्न सक्छौँ, जसले सतहको रूप वा आकारमा आएको परिवर्तन (Distortion) बारे जानकारी दिन्छन्।
तर एउटा मात्र स्याटेलाइट प्रयोग गरेर रातारात पूर्वसूचना प्रणाली तयार हुँदैन। यो जटिल छ—यसमा हिमनदी, जलवायु, जलविज्ञान र भूविज्ञान सबैलाई एकसाथ बुझ्नुपर्छ।
हामीलाई धेरै प्रकारका उपकरणको संयोजन, तथ्यांकको सही विश्लेषण र स्थानीय स्तरमा के भइरहेको छ भन्ने बुझ्न ‘मोडेलिङ’ आवश्यक पर्छ।
यसमा जमिनको वास्तविक अवलोकन सबैभन्दा महत्त्वपूर्ण हुन्छ। पूर्वसूचनाका लागि नदीको जलविज्ञानसम्बन्धी स्थानीय तथ्यांक चाहिन्छ।
यस घटनाको हकमा भने यो केवल हिमतालको विषय मात्र थिएन; पहिरो जाने सम्भावना, हिमनदीको स्थायित्व र तल्लो तटीय क्षेत्रमा रहेका पूर्वाधारहरूसँग यो जोडिएको थियो।
हामीले क्षति कति हुन्छ र मानवीय/भौतिक हानि कसरी घटाउने भन्ने सोच्नुपर्छ। त्यसैले जोखिम कहाँ छ भनेर बुझ्न बहुस्तरीय मूल्यांकन र दीर्घकालीन अवलोकन आवश्यक हुन्छ।
सुरेश शाही: त्यसो भए, घटना भइरहेका बेला मात्र कदम चाल्नु पर्याप्त हुँदैन, तयारी पहिले नै हुनुपर्छ?
डा. राहा हाकिमदावर: बिल्कुल। यही उत्थानशीलताको परिभाषा हो।
पूर्वसूचना र अवलोकन एउटा पक्ष हो, तर म जोखिम बुझ्नुलाई बढी जोड दिन्छु। जोखिम एउटा जटिल प्रक्रिया हो। यो केवल पहिरो वा बाढीमा मात्र सीमित हुँदैन—यस्ता घटना कहाँ हुन्छन्, कत्तिको ठूला हुन्छन्, र मानिसहरू तथा जलविद्युत् वा औद्योगिक पूर्वाधारहरू कहाँ अवस्थित छन् भन्ने कुराले जोखिमको मात्रा निर्धारण गर्छ।
समुदाय कत्तिको जोखिममा छन्? उनीहरूका घर संरचना कत्तिको बलिया छन्?
त्यसैले, विनाशकारी घटना हुनुअघि नै तयारी गर्नु, समुदाय र अर्थतन्त्रलाई उत्थानशील बनाउनु अत्यन्तै महत्त्वपूर्ण छ।
सुरेश शाही: नेपालसँग मनसुनका बाढीको निगरानी प्रणाली छ। स्याटेलाइट र अध्ययनहरूलाई हेर्दा, उच्च हिमाली क्षेत्रमा हुने क्षति समयमै पहिचान गर्न नेपाललाई जमिन र अन्तरिक्षमा आधारित कस्ता आधारभूत उपकरण आवश्यक पर्छन्?
डा. राहा हाकिमदावर: निगरानीका लागि सिन्थेटिक एपर्चर राडार (SAR) र डिजिटल उचाइ नमुना (DEM) निकै उपयोगी हुन्छन्। घटनापछि भू-भागको डिजिटल नक्सांकन पुनः गरेर के-कस्ता परिवर्तन आए भन्ने अध्ययन गर्नुपर्छ।
नदीहरूको भू-आकृतिशास्त्रको अध्ययन पनि उत्तिकै महत्त्वपूर्ण छ। यस्तो घटनापछि स्थलगत मूल्यांकन अनिवार्य हुन्छ।
विगतका घटना र तथ्यांकहरूलाई एकै ठाउँमा राखेर विश्लेषण गर्दै भविष्यका सम्भावित जोखिमको चित्र तयार गर्न सकिन्छ।
तर प्राविधिक पाटा जत्तिकै सामाजिक पाटो—अर्थात् समुदायलाई सूचित र तयार राख्नु झनै महत्त्वपूर्ण छ। पूर्वसूचना पाउँदा मानिसहरूले कसरी प्रतिक्रिया दिने र कता जाने भन्ने पूर्वअभ्यास भएको हुनुपर्छ।
सुरेश शाही: तर मानिसहरूले कहिल्यै अनुभव नगरेको किसिमको नयाँ विपद् आयो भने के हुन्छ?
डा. राहा हाकिमदावर: अभ्यस्त नभएको विपद् आउँदा के गर्ने भन्ने थाहा नहुन सक्छ, जुन झनै खतरनाक हुन्छ।
सामुदायिक अनुभव र पूर्वतयारीले ठूलो भूमिका खेल्छ। चेतावनी दिने निकाय र समुदायबीच विश्वासको वातावरण हुनुपर्छ। त्यसैले प्राविधिक तथ्यांक जत्तिकै सामाजिक तत्त्वहरू पनि महत्त्वपूर्ण छन्।
सुरेश शाही: जाइन स्पेसमा तपाईंले गरिरहनुभएको कामबारे कुरा गरौँ। नेपाल र हिमालयका लागि सस्तो र स्थायी स्याटेलाइट-निगरानी प्रणाली कस्तो हुन सक्छ?
डा. राहा हाकिमदावर: नयाँ स्याटेलाइट थप्नुभन्दा उपलब्ध तथ्यांकहरूको एकीकृत प्रयोग गर्नु बढी प्रभावकारी हुन्छ।
नासा, युरोपेली अन्तरिक्ष एजेन्सीका खुला तथ्यांकका साथै प्लानेट वा म्याक्सार जस्ता निजी कम्पनीका तथ्यांक र जमिनको अवलोकनलाई मिलाएर ‘मोडेल’ बनाउनु पर्छ।
अहिले अन्तरिक्ष प्रविधिमा ठूलो क्रान्ति भएको छ, तथ्यांकको कमी छैन। तर त्यो तथ्यांकलाई निर्णयकर्ताहरूका लागि उपयोगी सूचनामा बदल्नु मुख्य चुनौती हो।
हामी नीति निर्माताहरूसँग बसेर उनीहरूको आवश्यकता अनुसारको तथ्यांक ढाँचा तयार पार्छौँ। यसमा कृत्रिम बुद्धिमत्ताले पनि कच्चा तथ्यांकलाई द्रुत रूपमा उपयोगी सूचनामा बदल्न ठूलो मद्दत गरिरहेको छ।
हाम्रो लक्ष्य “सबैभन्दा नयाँ प्रविधि” दिने मात्र नभई निर्णयकर्तालाई वास्तवमै काम लाग्ने सहज औजार उपलब्ध गराउनु हो।
सुरेश शाही: कानून निर्माता र स्थानीय सरकारले भविष्यका लागि के फरक गर्नुपर्छ? नेपालमा विपद् तयारीका मुख्य कमजोरी के हुन्?
डा. राहा हाकिमदावर: कमजोरी औँल्याउनु भन्दा पनि हरेक विपद्पछि ‘के राम्रो भयो र कहाँ प्रणाली चुक्यो’ भनेर गम्भीर मूल्यांकन गर्नु आवश्यक हुन्छ।
सञ्चार, अवलोकन, अन्तरदेशीय समन्वय र सामुदायिक तयारी सबैको समीक्षा हुनुपर्छ। घटनापछि पुनर्निर्माण कहाँ र कसरी गर्ने भन्ने कठिन निर्णयहरू लिनुपर्छ।
भर्खरै प्रकाशित अध्ययन अनुसार, यो घटनाको लेदोमध्ये १०–१२ प्रतिशत मात्र बरफ र बाँकी ठूलो हिस्सा चट्टान/माटो थियो। यसले विपद्को स्वरूप बुझ्न मद्दत गर्छ।
निगरानी, ड्रोन, स्याटेलाइट र स्थलगत अध्ययन खर्चिला हुन्छन्। नेपालमा पुनर्निर्माणकै लागि अर्बौँ डलर आवश्यक छ। दीर्घकालीन पूर्वसूचना प्रणालीका लागि स्रोत-साधन र वित्तीय लगानी अत्यावश्यक छ, जुन कुरा प्रधानमन्त्रीले पनि राष्ट्रसंघमा उठाउनुभएको थियो।
सुरेश शाही: बाढीका कारण धेरै जलविद्युत् आयोजना ध्वस्त भए र सुरुङभित्र काम गर्ने मानिसको मृत्यु भयो। भविष्यमा जलविद्युत् आयोजनाको सुरक्षा र मानवीय क्षति कम गर्न के गर्न सकिन्छ?
डा. राहा हाकिमदावर: यो निकै स्थानीय स्तरको प्राविधिक जोखिमको विषय हो।
गर्मी महिनाहरूमा जोखिम बढी हुने भएकाले त्यसै अनुसार सुरक्षा मूल्यांकन गर्नुपर्छ। नेपालका धेरैजसो जलविद्युत् आयोजना ‘रन-अफ-द-रिभर’ (नदीको बहावमा आधारित) छन्।
सुरक्षाका उपायहरू आयोजनाको आकार र भूगोलमा निर्भर हुन्छन्। दुर्भाग्यवश, इन्जिनियरिङ सुरक्षाका धेरै कुरा हामी यस्तै अनुभव र घटनाहरूबाट सिक्दै जान्छौँ।
सुरेश शाही: अन्त्यमा, जलवायु परिवर्तनलाई अझै पनि शंकाको दृष्टिले हेर्ने वा नमान्ने मानिसहरूलाई वैज्ञानिकका रूपमा तपाईंको सन्देश के छ?
डा. राहा हाकिमदावर: हामी हिम-कोर र पुराना अभिलेखका वैज्ञानिक प्रमाणहरू प्रस्तुत गर्छौँ।
तर विज्ञानभन्दा पर, म मानिसहरूलाई आफ्नो वरपरको मौसम र वातावरणमा आएको परिवर्तन हेर्न आग्रह गर्छु। किसानहरूले खडेरी, बेमौसमी वर्षा र मौसमको चक्र बदलिएको आफैँ अनुभव गरिरहेका छन्।
मानिसहरूले जलवायु परिवर्तन शब्दमा विश्वास गरून् वा नगरून्, उनीहरूले आफ्नो दैनिक जीवन र वातावरणमा असर भोगेका छन्। हामीले तर्क गर्नुभन्दा “हाम्रो साझा अनुभव के हो?” भन्ने भाषामा कुरा गर्नुपर्छ।
सबै कुरामा सहमत हुनुपर्छ भन्ने छैन, तर मानिस र समुदायलाई सुरक्षित राख्नु हाम्रो पहिलो प्राथमिकता हो। यस्ता घटनाले हाम्रा संरचनाहरू कति संवेदनशील छन् भन्ने देखाउँछन्। त्यसैले हामीले प्रकृतिसँग अनुकूलन गर्दै उत्थानशील बन्न सिक्नैपर्छ।





