अमेरिकामा घट्यो बेरोजगारी भत्ता दाबी गर्नेको संख्या; श्रम बजार अझै मजबुत


प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार

Photo: Sasun Bughdaryan/ Unsplash

गएको साता अमेरिकामा बेरोजगारी भत्ताका लागि आवेदन दिने मानिसहरूको संख्यामा कमी आएको छ। यसले अमेरिकी श्रम बजारमा रोजगारीको सुरक्षा अझै कायम रहेको र बेरोजगारी दर ऐतिहासिक रूपमा तल्लो स्तरमै रहेको देखाउँछ।

अमेरिकी लेबर डिपार्टमेन्टले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत साता १ लाख ९७ हजार जनाले बेरोजगारी भत्ताका लागि आवेदन दिएका छन्। यो संख्या अघिल्लो साताको संशोधित १ लाख ९८ हजारको तुलनामा कम हुनुका साथै जुलाई मध्ययताकै सबैभन्दा तल्लो स्तर हो। हप्तापिच्छे हुने उतारचढावलाई समायोजन गर्ने चार हप्ताको औसत दाबी पनि अघिल्लो साताको २ लाख ४ हजारबाट घटेर २ लाख २ हजार २५० मा झरेको छ।

बेरोजगारी भत्ताको दाबीलाई कर्मचारी कटौतीको सूचक मानिन्छ। त्यसैले अर्थशास्त्रीहरूले श्रम बजार कुन दिशातर्फ जाँदैछ भन्ने आकलन गर्न यसलाई नजिकबाट नियाल्ने गर्छन्। यस वर्ष अहिलेसम्म भत्ता दाबी गर्नेहरूको संख्या प्राय: २ लाख २० हजारभन्दा मुनि नै छ-जसलाई ऐतिहासिक रूपमा धेरै कम मानिन्छ।

गत फेब्रुअरी २८ देखि इरानसँग सुरु भएको द्वन्द्वका कारण इन्धनको मूल्य वृद्धि भई व्यवसाय र उपभोक्ताहरू प्रभावित भए तापनि अमेरिकी रोजगारी बजार बलियो नै रहेको छ।

कर्मचारी कटौतीको दर निकै कम छ। कोरोना महामारीको लकडाउन अन्त्यपछि खेप्नु परेको श्रमिक अभावलाई सम्झँदै कम्पनीहरू आफ्ना कर्मचारी हटाउन हिचकिचाइरहेका छन्। तिनीहरूले नयाँ भर्ना त गरिरहेका छन्, तर अघिल्ला वर्षहरूको तुलनामा यो गति केही सुस्त छ।

यस वर्ष कम्पनी, सरकारी निकाय र गैरसरकारी संस्थाहरूले औसतमा प्रतिमहिना ८० हजार रोजगारी थपेका छन्। अगस्ट महिनामा मात्रै अपेक्षा विपरीत १६२,००० नयाँ रोजगारी सिर्जना भएको थियो। उच्च ब्याजदर र राष्ट्रपति डोनाल्ड ट्रम्पका अप्रत्याशित व्यापार नीतिहरूका कारण औसत मासिक रोजगारी सिर्जना ९,७०० मा सीमित बनेको सन् २०२५ को कमजोर अवस्थाको तुलनामा यो ठूलो सुधार हो।

लेबर डिपार्टमेन्टले अर्को साता सेप्टेम्बर महिनाको विस्तृत रोजगारी प्रतिवेदन सार्वजनिक गर्दैछ। डाटा फर्म ‘फ्याक्टसेट’ले गरेको सर्वेक्षण अनुसार, सेप्टेम्बरमा रोजगारदाताहरूले ५२,५०० रोजगारी थप्ने र बेरोजगारी दर ४.१ प्रतिशतको न्यून बिन्दुमै कायम रहने अपेक्षा गरिएको छ।

यद्यपि, अहिलेको रोजगारी सिर्जना दर सन् २०२३ र २०२४ को औसत मासिक १६६,००० तथा कोभिड लकडाउनपछिको ‘हायरिङ बुम’ का बेला दर्ता भएको प्रतिमहिना ४९१,००० को तुलनामा भने निकै कम हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com