अमेरिकामा डीएचएसको बजेट रोक्ने डेमोक्रेटिक सिनेटरहरूको घोषणा, सरकार आंशिक ‘सटडाउन’को जोखिममा


प्रकाशित मिति : ११ माघ २०८२, आइतबार

डिएचएस फोटो: सिड्नी फिनिक्स

अमेरिकामा डेमोक्रेटिक सिनेटरहरूले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) को बजेट रोक्ने चेतावनी दिएका छन्।

मिनेसोटा गोलीकाण्डपछि उनीहरूले होमल्यान्ड सेक्युरिटीको बजेट विधेयक रोक्ने चेतावनी दिएका हुन्। यो कदम डेमोक्र्याट सिनेटरहरूले चाले भने अमेरिकी सरकार आंशिक रूपमा बन्द हुने जोखिममा जाने छ।

मिनेसोटामा ३७ वर्षीय पुरुषको गोली हानी हत्या भएपछि अमेरिकी डेमोक्रेटिक सिनेटरहरूले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) को बजेट विधेयकको विरोध गर्ने घोषणा गरेका हुन्।

सिनेटका डेमोक्रेटिक नेता चक शुमरले शनिबार भएको गोलीकाण्डलाई “अत्यन्तै निन्दनीय” भन्दै डीएचएस बजेट विधेयकमा समावेश गरिएको खर्च विधेयकमा डेमोक्रेटहरूले मतदान नगर्ने बताएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म १२ मध्ये ६ वटा वार्षिक खर्च विधेयकमा हस्ताक्षर गरिसकेका छन्। बाँकी ६ वटा सिनेटमा अड्किएका छन्। यदि शुक्रबार मध्यरातसम्म सिनेटले कारबाही गर्न नसकेमा डीएचएस लगायत ती निकायहरूको बजेट सकिनेछ।

शुमरले भने, “रिपब्लिकनहरूले ट्रम्प प्रशासनलाई चुनौती दिन अस्वीकार गरेकाले डीएचएस विधेयक ‘आइस’ को दुरुपयोग रोक्न पूर्ण रूपमा असफल भएको छ।”

यस विषयमा गृहमन्त्री क्रिस्टी नोएमको महाभियोगको मागसमेत चर्किँदै गएको छ। यसअघि मिनियापोलिसमा आइस एजेन्टद्वारा तीन सन्तानकी आमा रेनी गुडको हत्या भएको थियो। शनिबार नर्स एलेक्स प्रेट्टीको गोली हानी हत्या भएपछि डेमोक्रेटहरू अझ कडा अडानमा पुगेका हुन्।

रिपब्लिकन पक्षबाट पनि गोलीकाण्डको निष्पक्ष छानबिनको माग उठिरहेको छ। तर केही रिपब्लिकन नेताहरूले सीमा सुरक्षा जस्तो राष्ट्रिय प्राथमिकतालाई कमजोर नबनाउन डेमोक्रेटहरूलाई आग्रह गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेमोक्रेटहरूले डीएचएस विधेयकमा आइस एजेन्टका लागि अनिवार्य वारेन्ट, कडा तालिम, परिचय खुलाउनुपर्ने व्यवस्था र सीमा क्षेत्रमा मात्रै बोर्डर प्याट्रोल सीमित गर्नुपर्ने जस्ता सुधारको माग गरिरहेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com