अमेरिकाको जर्जियामा पक्राउ परेका आप्रवासी कामदारहरूलाई दक्षिण कोरिया डिपोर्ट गरिने
प्रकाशित मिति : भाद्र २१, २०८२ आईतबार
अमेरिकाको जर्जिया राज्यमा पक्राउ परेका आप्रवासी कामदारहरूलाई दक्षिण कोरिया नै फर्काइने भएको छ।
यो कदम आप्रवासन अधिकारीहरूले चलाएको अहिलेसम्मकै सबैभन्दा ठूलो छापामारीपछि चालिएको हो, जसमा ४ सय ७५ जना पक्राउ परेका थिए।
पक्राउ पर्नेमध्ये धेरैजसो दक्षिण कोरियाली नागरिक रहेको जनाइएको छ। दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका प्रमुख काङ हुन सिकका अनुसार, पक्राउ परेका दक्षिण कोरियाली कामदारहरूलाई विशेष चार्टर विमानमार्फत डिपोर्ट गरिनेछ।
गत बिहीबार जर्जियाको एलाबेलस्थित हुन्डाईको मेटा प्लान्टमा भएको ठूलो छापामा करिब ३०० जना दक्षिण कोरियाली कामदारहरू पक्राउ परेका थिए।
यो प्लान्टमा हुन्डाई र एलजी इनर्जी सोलुसनले संयुक्त रूपमा विद्युतीय ब्याट्री उत्पादन गर्ने कारखाना सञ्चालन गरेका छन्।
यो अभियानलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनअन्तर्गत कार्यस्थलमा भएको सबैभन्दा ठूलो आप्रवासन कारबाही मानिएको छ। ट्रम्पका सीमा प्रमुख टम होम्यानले भविष्यमा पनि यस्ता थप कार्यस्थल छापा अभियानहरू सञ्चालन गरिने बताएका छन्।
दक्षिण कोरियाली सरकार, वाशिङ्टन डीसीस्थित दूतावास र एटलान्टास्थित वाणिज्य दूतावासले पक्राउ परेका कामदारहरूको रिहाइका लागि सक्रियतापूर्वक काम गरिरहेका छन्।
दक्षिण कोरियाली अधिकारीहरूले भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्नका लागि व्यापार, उद्योग र ऊर्जा मन्त्रालय तथा सम्बन्धित कम्पनीहरूसँग मिलेर भिसा प्रणाली र अमेरिकामा लगानी भएका परियोजनाका लागि आउने व्यक्तिहरूको बसाइँ स्थितिबारे पुनरावलोकन गर्ने जनाएका छन्।
राष्ट्रपति ली जे म्युङले यसअघि नै हिरासतमा परेकालाई सहयोग गर्न “आवश्यक सबै कदम चाल्न” आदेश दिएका थिए।
यस घटनापछि एलजी इनर्जी सोलुसन कम्पनीले हाल अमेरिकामा हुने अधिकांश व्यावसायिक भ्रमण स्थगित गरेको छ र यात्रामा रहेका कर्मचारीहरूलाई तुरुन्तै घर फर्कन वा आफ्नो आवासमै बस्न सल्लाह दिएको छ।
हुन्डाईले एक विज्ञप्ति जारी गर्दै आफूहरू जहाँ-जहाँ व्यवसाय गर्छन्, त्यहाँका सबै कानुन र नियमहरूको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।








