भेनेजुएलाका लडाकु विमान खसाल्ने अमेरिकी चेतावनी
प्रकाशित मिति : भाद्र २०, २०८२ शनिबार
फोटो : मार्क शिफेलबीन/एपी/रासस
अमेरिकाले भेनेजुएलाका लडाकु विमान खसाल्ने चेतावनी दिएको छ। अमेरिकाको तट नजिक तैनाथ गरिएका नौसैनिक जहाजमाथि भेनेजुएलाले लडाकु विमान उडाएपछि अमेरिकाले यो चेतावनी दिएको हो।
भेनेजुएलाले अमेरिकी जहाजलाई खतरामा पारेमा लडाकु विमान खसाल्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। उनले भेनेजुएलाको यस्तो गतिविधिले आफू समस्यामा पर्ने आरोप समेत लगाएका छन्।
ट्रम्पको यो चेतावनी भेनेजुएलाले दक्षिण अमेरिकाको तट नजिकै अमेरिकी जहाज वरिपरि लगातार दुई दिनसम्म आफ्ना लडाकु विमान पठाएपछि आएको हो।
यसअघि अमेरिकी सेनाले भेनेजुएलाबाट आएको भनिएको, “ग्याङले सञ्चालन गरेको लागुऔषध बोकेको जहाज” मा आक्रमण गरी ११ जनाको ज्यान लिएको थियो।
भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले अमेरिकाका आरोप असत्य भएको दाबी गरेका छन्। उनले दुई देशबीचको मतभेदले “सैन्य द्वन्द्वलाई औचित्य दिन नसक्ने” बताएका छन्। “भेनेजुएला सधैँ संवाद र वार्ताका लागि तयार छ,” मादुरोले भने, “तर हामीलाई सम्मान चाहिन्छ।”
सन् २०२५ को जनवरीमा दोस्रो कार्यकाल सुरु गरेयता ट्रम्पले ल्याटिन अमेरिकामा लागुऔषध नियन्त्रणसम्बन्धी गतिविधि तीव्र पारेका छन्।
मादुरोले अमेरिकामाथि “सैन्य धम्कीमार्फत शासन परिवर्तन खोजेको” आरोप पनि लगाएका छन्।
ट्रम्पले भेनेजुएलामा पछिल्लो पटक “अचम्मको चुनाव” भएको र मादुरो पुनः निर्वाचित भएको स्मरण गरेका छन्। मादुरोले विवादास्पद निर्वाचनपछि यसै वर्ष जनवरीमा तेस्रो कार्यकालका लागि शपथ ग्रहण गरेका थिए।
अमेरिकाले भेनेजुएलाबाट लागुऔषध अमेरिकी भूभागमा “बाढीझैँ” छिरेको र अमेरिकीले आतङ्कवादी समूह घोषणा गरेको ‘ट्रेन दे आरागुआ’ नामक ग्याङका सदस्यहरूलाई भेनेजुएलाले आश्रय दिइरहेको आरोप लगाउँदै आएको छ।
यसैबीच, अमेरिकी सेनाले दक्षिण क्यारेबियन क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाउन अतिरिक्त नौसैनिक जहाज र हजारौँ मरीन तथा नाविक पठाएको छ। ह्वाइट हाउसले प्युर्टो रिकोलाई १० वटा एफ-३५ लडाकु विमान पठाउने घोषणा गरेको छ।
ट्रम्प मादुरोका लामो समयदेखि आलोचक रहँदै आएका छन्। उनले गत अगस्टमा मादुरोको पक्राउमा सहयोग हुने सूचनाका लागि तोकिएको पुरस्कार दोब्बर बढाएर ५० मिलियन डलर पुर्याएका थिए। ट्रम्पले मादुरोलाई “विश्वकै सबैभन्दा ठूलो नार्को तस्करमध्ये एक” भनेका थिए।
नार्को तस्कर भनेको लागुऔषध (विशेषगरी कोकिन, हिरोइन, गाँजा आदि) को अवैध उत्पादन, बिक्री वा तस्करी गर्ने व्यक्ति वा समूहलाई बुझिन्छ।
ट्रम्पको पहिलो कार्यकालमै अमेरिकी सरकारले मादुरो र अन्य उच्च अधिकारीमाथि नार्को आतङ्कवाद, भ्रष्टाचार र लागुऔषध तस्करीसहितका मुद्दा दायर गरेको थियो। मादुरोले भने सबै अमेरिकी आरोपलाई अस्वीकार गर्दै आएका छन्।








