युटाहमा निर्वाचन नक्सा पुनः निर्धारण गर्न अदालतको आदेश, डेमोक्र्याटहरू खुसी
प्रकाशित मिति : भाद्र ८, २०८२ सोमबार
अमेरिकी राज्य युटाहमा निर्वाचन नक्सा पुनः निर्धारण गर्न अदालतले आदेश दिएको छ। युटाहको जिल्ला अदालतले राज्यको संसदले नयाँ सिराबाट कांग्रेसका लागि निर्वाचन क्षेत्रहरू कोर्नुपर्ने आदेश दिएको हो।
न्यायाधीश डायना गिब्सनले सन् २०१८ मा मतदाताले स्वीकृत गरेको स्वतन्त्र पुनः सीमाङ्कन आयोगलाई कमजोर बनाएर बेवास्ता गरेको भन्दै रिपब्लिकन नियन्त्रित विधानसभाले तयार पारेको नक्सा असंवैधानिक ठहर गरेकी हुन्।
हाल प्रयोगमा रहेको २०२१ को नक्साले डेमोक्र्याटहरूको आधार मानिने साल्ट लेक काउन्टीलाई विभाजन गरी राज्यका चारै कंग्रेसका क्षेत्रमा बाँडिएको छ। यो विभाजनपछि सबै क्षेत्रबाट रिपब्लिकन उम्मेदवारहरू विजयी हुँदै आएका छन्।
न्यायाधीश गिब्सनले भनेकी छन्, “यो उल्लङ्घनको मूल स्वरूप जनताले गरेको संवैधानिक कानुन निर्माण अधिकारको सम्मान नगरी तिनको सरकार सुधार गर्ने अधिकारलाई संसदले तोडमोड गर्नु हो।”
अदालतले सेप्टेम्बर २४ सम्म नयाँ नक्सा तयार गर्न आदेश दिएको छ। उम्मेदवारहरूले सन् २०२६ को मध्यावधि निर्वाचनका लागि जनवरीदेखि दर्ता सुरु गर्ने भएकाले प्रक्रिया छिटो पूरा गर्नुपर्ने दबाब छ। मताधिकार समूहहरूले वैकल्पिक प्रस्ताव पनि अदालतमा पेश गर्न पाउनेछन्।
तर, रिपब्लिकन नेताहरूको अपीलले प्रक्रिया ढिलाइ भई सम्भवतः २०२८ सम्म पुर्याउन सक्ने अनुमान गरिएको छ।
यो निर्णयले युटाहमा अनिश्चितता ल्याएको छ। अहिलेसम्म चारै क्षेत्र रिपब्लिकनले जित्दै आएका थिए। तर, नयाँ नक्साले कांग्रेसमा रिपब्लिकनहरूको सानो बहुमतलाई चुनौती दिन सक्ने अनुमान छ। डेमोक्र्याटहरूलाई प्रतिनिधि सभामा बहुमत लिन थप तीन सिट मात्र आवश्यक छ।
रिपब्लिकन पार्टीले अन्य राज्यहरूमा पनि नक्सा आफूपक्षमा बदल्ने प्रयास गरिरहेको छ। टेक्ससमा नयाँ पाँच सिट रिपब्लिकनलाई अनुकूल हुने गरी नक्सा प्रस्ताव गरिएको छ। ओहायो, इन्डियाना, फ्लोरिडा र मिसौरीमा पनि परिवर्तनको सम्भावना छ।
डेमोक्र्याट नियन्त्रित केही राज्यहरूले यसलाई सन्तुलन गर्न खोजे पनि हालसम्म क्यालिफोर्नियाले मात्र कदम चालेको छ।
डेमोक्र्याटिक पार्टीका नेताहरूले यसलाई लोकतन्त्रको जित भन्दै स्वागत गरेका छन्।
युटाहका रिपब्लिकन गभर्नर स्पेन्सर कोक्सले निर्णयसँग असहमति जनाए पनि न्यायपालिकाप्रतिको सम्मान व्यक्त गरेका छन्।
तर, युटाह रिपब्लिकन पार्टीका अध्यक्ष रोबर्ट एक्सनले भने यसलाई “न्यायालयको अतिक्रमण” भनेका छन्।
सन् २०१८ मा युटाहका मतदाताले स्वतन्त्र पुनः सीमाङ्कन आयोग गठन गर्ने जनमत सङ्ग्रह अनुमोदन गरेका थिए।
तर, संसदले २०२० मा उक्त कानुन खारेज गरी आयोगलाई केवल सल्लाहकार बोर्डमा सीमित बनाएको थियो।
त्यसपछि २०२१ मा सांसदहरूले आयोगको प्रस्ताव अस्वीकार गरी आफ्नै नक्सा तयार गरेका थिए, जसले साल्ट लेक काउन्टीलाई चारै क्षेत्रमा विभाजन गरेको थियो।
२०१८ मा मतदाताले गेरिम्यान्डरिङ रोक्न पहल गरेका चार राज्यमध्ये युटाह पनि एक हो।
मिसौरीमा भने संसदले छिट्टै जनमतलाई कमजोर बनाउने कानुन ल्याएको थियो। तर कोलोराडो र मिशिगनमा मतदाताले अनुमोदन गरेका स्वतन्त्र आयोगहरू अझै कायम छन्। २०२० को जनगणना पछि ती प्रयोगमा आएका थिए।








