अमेरिकाको अलास्का नजिक रुसले जासुसी विमान किन पठायो ?
प्रकाशित मिति : भाद्र ८, २०८२ सोमबार
अमेरिकी लडाकु विमानले अलास्का नजिक रुसी जासुसी विमानलाई पटक-पटक अवरोध गरेको छ।
अमेरिकी सेनाले अलास्का नजिक देखिएको रुसी जासुसी विमानलाई अवरोध गर्न लडाकु विमानहरू पठाएको उत्तर अमेरिकी एयरोस्पेस डिफेन्स कमान्डले जनाएको छ।
यो घटनाअघि पनि एक हप्ताभित्र तीन पटक अमेरिकाले विमान पठाएर प्रतिक्रिया जनाइसकेको थियो।
उक्त विमान अलास्काको एअर डिफेन्स आइडेन्टिफिकेशन जोनमा देखिएको हो।
यो क्षेत्र अन्तर्राष्ट्रिय हवाई सीमा भए पनि अमेरिका र क्यानडाले सुरक्षाका कारण निगरानी गर्ने गर्छन् । यस क्षेत्रमा प्रवेश गर्ने विमानहरूले आफ्नो परिचय दिनुपर्ने हुन्छ।
रुसी सेनाको पुरानो शीतयुद्धकालीन टोही विमानलाई सोमबार ट्र्याक गरिएको थियो। यसअघि बुधबार र बिहीबार पनि यही प्रकारको विमान सो क्षेत्रमा देखिएको थियो।
प्रत्येक पटक, अमेरिकी पक्षले धेरै लडाकु विमान पठाएर निगरानी गरेको बताइएको छ। तर, रुसी विमान कहिल्यै अमेरिकी वा क्यानेडियाली सार्वभौमिक हवाई क्षेत्रभित्र प्रवेश नगरी अन्तर्राष्ट्रिय क्षेत्रमै सीमित रहेको पाइएको छ।
यस वर्ष मात्र पनि अलास्काको हवाई क्षेत्रमा रुसी सैन्य विमानहरू पटक-पटक देखिएका छन्। अप्रिल र जुलाईमा पनि त्यस्ता गतिविधि रिपोर्ट भएको थियो।
यसअघि, जनवरीमा अमेरिका र क्यानडाले आर्कटिक क्षेत्रमा देखिएका रुसी विमानहरूलाई ट्र्याक गर्न लडाकु विमान पठाएका थिए। त्यसबेला दुई अमेरिकी लडाकु विमान ग्रिनल्यान्ड पठाइएको थियो।
सन् २०२४ सेप्टेम्बरमा, अलास्काको किनार नजिक आफ्ना विमानसँग “केवल केही फिट टाढा” उडिरहेको रुसी जेटको भिडियो सार्वजनिक गरिएको थियो ।
त्यसबेला एक अमेरिकी जनरलले त्यसलाई “असुरक्षित, गैर-व्यावसायिक र खतरनाक” भनेका थिए।








