अमेरिकी पूर्व विशेष अभियोजक स्मिथविरुद्ध ट्रम्प प्रशासनले किन सुरु गर्यो छानबिन ?
प्रकाशित मिति : श्रावण १७, २०८२ शनिबार
अमेरिकी संघीय अधिकारीहरूले पूर्व विशेष अभियोजक ज्याक स्मिथविरुद्ध छानबिन सुरु गरिएको पुष्टि गरेका छन् ।
स्मिथले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुईवटा संघीय आपराधिक मुद्दा दायर गरेपछि यसै वर्ष सुरुवातमा आफ्नो पदबाट राजीनामा दिएका थिए।
अफिस अफ द स्पेशल काउन्सिल ले स्मिथमाथि छानबिन सुरु गरिएको पुष्टि गरेको हो । तर यस विषयमा थप विवरण भने सार्वजनिक गरिएको छैन ।
स्मिथलाई सन् २०२२ मा तत्कालीन महान्यायाधिवक्ता मेरिक गारल्यान्डले ट्रम्पविरुद्धका दुई प्रमुख मुद्दाको अनुसन्धान गर्न विशेष अभियोजकका रूपमा नियुक्त गरेका थिए ।
गोप्य कागजातको दुरुपयोग र २०२० को निर्वाचन हस्तक्षेप प्रयासको प्रयासमा ट्रम्पविरुद्ध उनले अनुसन्धान गरेका थिए ।
हाल भइरहेको छानबिन ह्याच एक्ट उल्लङ्घनमा केन्द्रित छ । यो ऐनअनुसार संघीय कर्मचारीहरूले राजनीतिक गतिविधिमा संलग्न हुन पाउँदैनन् ।
अफिस अफ द स्पेशल काउन्सिल ले आपराधिक मुद्दा चलाउन सक्दैन । तर अनुशासनात्मक कारबाही गर्न वा अनुसन्धान प्रतिवेदन न्याय मन्त्रालय मा पठाउन भने सक्छ।
अर्कान्सासबाट निर्वाचित रिपब्लिकन सिनेटर टम कटनले स्मिथविरुद्ध छानबिन गर्न आग्रह गरेका थिए । उनी भन्छन्, “स्मिथले २०२४ को निर्वाचनमा अभूतपूर्व हस्तक्षेप गरेका छन्।”
स्मिथद्वारा अगाडि सारिएका दुई मुद्दाहरू ट्रम्पविरुद्ध आपराधिक अभियोगमा परिणत भएका थिए । तर ट्रम्पले आफू निर्दोष भएको दाबी गर्दै ती मुद्दा राजनीतिक प्रेरित भएको दाबी गरेका थिए ।
नोभेम्बर २०२४ मा ट्रम्प पुनः राष्ट्रपति निर्वाचित भएपछि अमेरिकी न्याय मन्त्रालयको नीति अनुसार कुनै पनि सत्तारूढ राष्ट्रपति विरुद्ध आपराधिक मुद्दा अघि बढाउन नपाइने भएकाले ती मुद्दाहरू बन्द गरिएका थिए ।
यो छानबिन ट्रम्पले अफिस अफ द स्पेशल काउन्सिल का पूर्वप्रमुख ह्याम्पटन डेलिन्जरलाई फेब्रुअरीमा बर्खास्त गरेपछि सुरु भएको हो ।
डेलिन्जरले ट्रम्प प्रशासनद्वारा निकालिएका करार कर्मचारीहरूलाई पुनर्बहाली गर्नुपर्ने मत राखेका थिए।








