ट्रम्पलाई प्रश्न – गाजामा भोकमरीको संकट नभएको इजरायली दाबीलाई विश्वास गर्नुहुन्छ ?
प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको ‘गाजामा भोकमरीको संकट छैन’ भन्ने दाबीमा प्रतिक्रिया दिंदै आफू अनिश्चित भएको बताएका छन्।
स्कटल्याण्डमा बेलायती प्रधानमन्त्री कीयर स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने, “मलाई थाहा छैन । तर, टेलिभिजनमा देखिने बालबालिकाहरू निकै भोकाएका देखिन्छन्।”
उनले थपे, “हामीले धेरै पैसा र खाद्यान्न दिइरहेका छौं। अन्य राष्ट्रहरू पनि अहिले गाजामा सहयोग गर्न अगाडि आएका छन्।”
तर, बेलायती प्रधानमन्त्री स्टार्मरले ट्रम्पको भनाइमा हस्तक्षेप गर्दै गाजाको अवस्थालाई ‘एक मानवीय संकट’ र ‘पूर्ण विनाश’ भएको स्पष्ट रूपमा उल्लेख गरे।
यो अभिव्यक्ति हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले दिएको एक पछिल्लो विवरणपछि आएको हो, जसअनुसार पछिल्ला २४ घण्टामा कुपोषणका कारण १४ जना गाजाली नागरिकको मृत्यु भएको छ, जसमा दुई बालबालिका पनि छन्।
गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार रातिदेखि सोमबार बिहानसम्म इजरायली हवाई आक्रमणमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ।
त्यसैगरी, सोमबार बिहान मात्रै राहत वितरण केन्द्र नजिकै भएको आक्रमणमा ११ जना मारिएका छन्। एबीसी न्यूजले उद्धृत गरेका दुई स्थानीय अस्पतालका अनुसार ती शवहरू उनीहरूले प्राप्त गरेका थिए।
स्थानीय अधिकारीहरूले आक्रमणका स्थलहरू अमेरिका र इजरायलद्वारा समर्थित गाजा मानवीय फाउन्डेशन द्वारा सञ्चालित राहत वितरण केन्द्र नजिकै भएको बताएका छन्। यद्यपि, उक्त संस्थाका प्रवक्ताले एबीसी न्यूजसँग कुरा गर्दै दिउँसोसम्म कुनै घटनाको प्रत्यक्ष रिपोर्ट नआएको बताएका छन्।
इजरायली सेनाले आइतबारदेखि केही घनीबस्ती भएका क्षेत्रमा दैनिक रूपमा सैन्य विराम गर्ने घोषणा गरेको छ, जसको उद्देश्य राहत र सहायता गाजामा पुर्याउन सहज बनाउने रहेको छ।
तर, आलोचकहरूले भने यो कदम अपर्याप्त रहेको र गाजाको संकट समाधानका लागि अन्तर्राष्ट्रिय दबाब अझ बढ्नुपर्ने बताएका छन्।








