काश्मीर आक्रमणमा दोषी ठहरिएको समूहलाई अमेरिकाले गर्यो आतङ्कवादी घोषणा
प्रकाशित मिति : श्रावण २, २०८२ शुक्रबार
अमेरिकाले काश्मीरमा गत अप्रिलमा भएको भीषण आक्रमणका लागि दोषी ठहरिएको एक रहस्यमय समूह द रेजिस्टेन्स फ्रन्ट (टिआरएफ)लाई आतङ्कवादी समूहको सूचीमा राखेको छ। उक्त आक्रमणले भारत र पाकिस्तानबीच पछिल्ला दशकको सबैभन्दा गम्भीर द्वन्द्वलाई चर्काएको थियो।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले टिआरएफलाई पाकिस्तानमा आधारित र संयुक्त राष्ट्रसंघद्वारा पहिचान गरिएको आतङ्कवादी संगठन लश्कर-ए-तैयबा (एलईटी)को फ्रन्ट र प्रोक्सी समूहको रूपमा चित्रण गरेका छन्।
रुबियोले विज्ञप्तिमा भने, “यो आतङ्कवादी सूचीकरण ट्रम्प प्रशासनको राष्ट्रिय सुरक्षाको रक्षा, आतङ्कवादविरुद्धको लडाइँ र पहलगाम आक्रमणमा न्यायको पक्षमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ।”
गत अप्रिलमा भारत-प्रशासित काश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा बन्दुकधारीहरूले गोली चलाएर २६ जनाको हत्या गरेका थिए, जसमा अधिकांश हिन्दू तीर्थयात्रीहरू थिए।
आक्रमणबाट बाँचेका प्रत्यक्षदर्शीहरूले बताएअनुसार बन्दुकधारीहरूले महिला र बालबालिकालाई अलग गरेका थिए र केही पुरुषहरूलाई मुस्लिम आस्थाको घोषणा गर्न बाध्य पारेका थिए।
भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले अमेरिकाको यो कदम भारत-अमेरिका आतङ्कवाद विरोधी सहकार्यको स्पष्ट प्रमाण’ भएको बताएका छन्।
टिआरएफले आक्रमणको सुरुमा जिम्मेवारी लिए पनि पछि जनआक्रोश बढेपछि आफ्नो दाबी फिर्ता लिएको थियो। भारतले यस समूहलाई आधिकारिक रूपमा आतङ्कवादी संगठन घोषणा गरिसकेको छ। नयाँदिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) थिङ्क ट्याङ्कले टिआरएफलाई लश्कर-ए-तैयबाको एक छायाँ समूह र स्मोकस्क्रिनको रूपमा परिभाषित गरेको छ।
भारतले पाकिस्तानमाथि आक्रमणमा प्रत्यक्ष समर्थन गरेको आरोप लगाएको छ, जुन आरोपलाई इस्लामाबादले कडासाथ अस्वीकार गरेको छ।
पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच चार दिनसम्म सशस्त्र झडप चलेको थियो, जसमा दुबै पक्षका गरी ७० जनाभन्दा बढीको ज्यान गएको थियो। यो सन् १९९९ मा कारगिल युद्धपछि देखिएको सबैभन्दा भीषण सैन्य तनाव मानिएको छ।








