अमेरिकाले सहयोग रोकेपछि दक्षिण अफ्रिकाका एचआईभी संक्रमितमा गम्भीर असर, क्षयरोगको अनुसन्धान पनि प्रभावित
प्रकाशित मिति : असार २८, २०८२ शनिबार
ट्रम्प प्रशासनले पाँच महिनाअघि विश्वकै सबैभन्दा ठूलो एचआईभी एड्स सहायता कार्यक्रमको अधिकांश सहयोग अचानक रोकेपछि गम्भीर प्रभाव देखिन थालेको छ।
युएनएड्स का कार्यकारी निर्देशक विन्नी ब्यान्यिमाले दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आयोजित पत्रकार सम्मेलनमा विश्वकै सबैभन्दा ठूलो एचआईभी सहायता दाताले यस्तो अप्रत्याशित रूपमा हात झिक्नुले दशकौँको प्रगति खतरामा परेको बताइन ।
दक्षिण अफ्रिकामा हाल विश्वकै सबैभन्दा ठूलो एचआईभी संक्रमित जनसंख्या छ । जसमा धेरैले जीवनरक्षक एन्टिरेट्रोभाइरल औषधि प्राप्त गरिरहेका छन्।
तर अमेरिकी सहयोग कटौतीपछि त्यहाँको एचआईभी परीक्षण, उपचार र अनुसन्धान कार्यक्रमहरू संकटमा छन् ।
दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्री एरोन मोट्सोआलेदी ले यो एउटा सावधानीका लागि चेतावनी हो । एकल दाता मुलुकमा निर्भर हुँदा त्यस देशको नीतिमा परिवर्तन भएमा पूरै प्रणाली धराशायी हुन सक्छ भन्ने यो निर्मम उदाहरण भएको उनले बताए ।
दक्षिण अफ्रिका विश्वमै एचआईभी तथा क्षयरोग अर्थात टिबी अनुसन्धानमा अगाडि रहेको देश हो । तर कोषको अभावका कारण धेरै परीक्षणहरू स्थगित भएका छन्।
दक्षिण अफ्रिकामा भइरहेको अनुसन्धानले केवल यहाँ होइन, विश्वभर प्रभाव पारिरहेको विश्लेषकहरुले बताएका छन । डब्लुएचओले अहिले अमेरिकाबाट प्राप्त कोषमा ठुलो कटौती झेलिरहेको छ।
राष्ट्रपति ट्रम्पले अफ्रिकामा अब सहायता होइन, “व्यापारलाई प्राथमिकता दिने” नीति अपनाउने बताएका छन्। अमेरिकी समर्थन फेब्रुअरीमा काटिएपछि युएनएड्सले लगभग ५० प्रतिशत बजेट गुमाएको छ ।






