ट्रम्पलाई जर्मन चान्सलरको आग्रह – ‘हामीसँगै रहनुहोस्, युक्रेनलाई सहयोग जारी राख्नुस्’
प्रकाशित मिति : असार २६, २०८२ बिहीबार
Germany New Government
युक्रेनलाई सहयोग जारी राख्न र युरोपेली राष्ट्रहरूसँगै सहकार्य गर्न जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई आग्रह गरेका छन् ।
रोममा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा मर्जले ‘वासिङ्टन डिसी र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै भने, “हामी (युरोपेली राष्ट्रहरू) सँग रहनुहोस्, हामी एउटै पृष्ठमा छौं र हामी यस संसारमा स्थिर राजनीतिक व्यवस्थाको खोजीमा छौं ।”
उनले थपे, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सङ्केत गर्दै भन्नुभएको छ, “हामी हार मान्दैनौँ ।”
युक्रेनको पुनर्निर्माणका लागि राजनीतिक र निजी क्षेत्रको समर्थन जुटाउने उद्देश्यले आयोजित ‘युक्रेन पुनरूत्थान सम्मेलनमा मर्जले उक्त कुरा बताएका हुन् ।
गत जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेदेखि नै किएभलाई दिइएको अमेरिकी समर्थनमाथि प्रश्न उठाइएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति सम्झौता गर्ने प्रयासमा मस्कोसँग निकटता देखाएका थिए ।
यद्यपि यसै साता ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेनबारे ‘धेरै बकवास’ गरिरहेको बताएका थिए ।
ट्रम्पले युक्रेनलाई थप हतियार पठाउने घोषणा गरेको एक दिनपछि ट्रम्पको आलोचना भएको थियो, गत हप्ता वासिङ्टनले केही हतियार ढुवानी रोक्ने घोषणालाई उल्ट्याएको थियो ।
मर्जले किएभलाई इयूको समर्थन ’अटुट’ रहेको बताउँदै रुसविरुद्ध प्रतिबन्धको नयाँ प्याकेज तयार गरिरहेको उल्लेख गरे ।
उनले भने, “एउटा मात्र सदस्य राष्ट्र यसमा सहमत हुन सकेको छैन । म स्लोभाकिया र त्यहाँका प्रधानमन्त्रीलाई तत्काल प्रतिरोध त्याग्न आग्रह गर्दछु ।”








