ट्रम्पले पुटिनलाई भने: ‘युक्रेनमा मान्छे मार्न बन्द गर’
प्रकाशित मिति : असार २५, २०८२ बुधबार
रुसले युक्रेनमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई हमला गरेको छ। अधिकारीहरूका अनुसार, रुसले युक्रेनमा ७२८ वटा ड्रोन र १३ वटा मिसाइल प्रहार गरेको थियो। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशमाथि भएको यो हमला अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई हमला भएको बताएका छन्।
उनका अनुसार, रुसले युक्रेनभरि विभिन्न चरणमा आक्रमण गर्दै ७२८ वटा ड्रोन र १३ वटा क्रुज वा ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो। राष्ट्रपति जेलेन्स्कीले यो आक्रमणलाई “स्पष्ट सन्देश दिने प्रयास” भन्दै कडा शब्दमा आलोचना गरेका छन्।
उनले भने, “शान्ति स्थापनाका लागि र युद्धविरामका लागि यति धेरै प्रयास भइरहेको बेला यस्तो हमला हुनु दुःखद छ। तर रुसले अझै पनि ती सबै प्रयासहरूलाई अस्वीकार गरिरहेको छ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप हतियार सहयोग गर्ने घोषणा गरेपछि रुसले हमला बढाएको हो। पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति बढ्दो असन्तुष्टि व्यक्त गरे। उनले पुटिन मिलनसार देखिएर झूट बोलिरहेको भन्दै आलोचना गरे।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “हामी यस विषयमा शान्त छौं। ट्रम्पको बोली सधैं केही कठोर हुन्छ, उनले प्रयोग गर्ने शब्दहरू त्यस्तै हुन्छन्।”
दुई नेताहरूबीच नियमित सम्पर्क भए पनि अहिलेसम्म युद्धविरामतर्फ ठोस प्रगति भएको छैन। ट्रम्पले आफ्नो चुनावी अभियानका दौरानमा ‘एकै दिनमा’ युद्ध अन्त्य गराउन सक्ने बताएका थिए। अहिले पनि उनले पुटिनलाई ‘मान्छे मार्न बन्द गर्न’ चेतावनी दिइरहेका छन्।
अब अमेरिकाले युक्रेनलाई १० वटा प्याट्रियट मिसाइल पठाउने सम्भावना छ। युक्रेनले यस्ता अवरोधक मिसाइलहरू प्रयोग गरी रुसका मिसाइल र ड्रोन आक्रमणहरू रोक्ने प्रयास गर्दै आएको छ।
पूर्वी युक्रेन र राजधानी किभ नियमित रूपमा रुसको निशानामा परे पनि युक्रेनको कुनै पनि भूभाग सुरक्षित छैन। पोल्यान्डको सीमाबाट ९० किलोमिटर टाढा रहेको लुत्स्क सहर आक्रमणमा सबैभन्दा बढी प्रभावित भयो। यो सहर सैन्य तथा मानवीय सहायता ढुवानीका लागि मुख्य मार्ग हो।








