विषालु च्याउ नातेदारलाई खुवाएर हत्या गरेको अभियोगमा अष्ट्रेलियन महिला दोषी ठहर
प्रकाशित मिति : असार २३, २०८२ सोमबार
डेथ क्याप मसरूम खुवाएर तीन जनाको हत्या गर्ने अष्ट्रेलियन महिलालाई दोषी ठहर गरिएको छ ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा २०२३ जुलाई मा ‘डेथ क्याप’ नामक विषालु मसरूम अर्थात च्याउ प्रयोग गरेर पकाइएको बिफ वेलिङ्टन लन्च खुवाई आफ्ना तीन नातेदारको हत्या गरेको आरोप लागेकी महिला एरिन प्याटरसनलाई दोषी ठहर गरिएको हो ।
उनलाई तीनवटा हत्या र एक हत्या प्रयास गरिएको अभियोगमा दोषी ठहर गरिएको छ। १२ सदस्यीय जुरीले करिब ६ दिनको छलफलपछि यो फैसला सुनाएको हो । १० हप्तासम्म मोरवेल नामक सानो शहरमा चलेको अदालती प्रक्रिया विश्वभर चर्चाको विषय बनेको थियो ।
घटनाको विवरण अनुसार २०२३ जुलाई २९ मा एरिन प्याटरसनले आफ्ना पाँच जना नातेदारलाई लन्चका लागि निम्तो दिएकी थिइन्।
यद्यपि उनका पूर्व पति साइमन प्याटरसनले भने अन्तिम समयमा नआउने निर्णय गरेका थिए । बाँकी चार जना उक्त विषाक्त भोजन खाएपछि केही घण्टामै बिरामी परेका थिए ।
त्यसपछि अस्पताल पुर्याइएका उनीहरूलाई कोमामा राखियो । ग्याल प्याटरसन र उनकी दिदी हेदर विल्किन्सनको अगस्ट ४ मा मृ्त्यु भयो भने डन प्याटरसनको लिभर ट्रान्सप्लान्ट असफल भएपछि अगस्ट ५ मा मृत्यु भएको थियो ।
हेदरका श्रीमान् र स्थानिय पादरी इयान विल्किन्सन भने लामो उपचारपछि बाँच्न सफल भए । डेथ क्याप मसरूममा पाइने ‘अमेनिटा टक्सिन’ ले लिभर सेलहरूमा प्रोटिन उत्पादन रोकिदिन्छ । जसका कारण करिब दुई दिनभित्र लिभर फेल भई मृत्युसम्म हुन सक्छ।
प्याटरसनको बचाउमा उनका वकिलहरूले यो ‘दुर्भाग्यपूर्ण दुर्घटना’ भएको दाबी गरेका थिए । उनका अनुसार उनले खाना स्वादिष्ट बनाउन खोज्दा नजानेर जङ्गलबाट टिपिएको विषालु मसरूम अर्थात च्याउ मिसिएको हो ।
तर अभियोजन पक्षले भने प्याटरसनले नागरिक विज्ञान वेबसाइट मा देखिएको लोकेसन हेरेर एप्रिल र मे २०२३ मा जानेर नै विषालु मसरूम टिपेको दाबी गरेको थियो ।
उनले एप्रिल २८ मा मसरूम सुकाउन प्रयोग हुने डिहाइड्रेटर किनिन् र उक्त मेशिन पछि अगस्ट २ मा रिसाइकल सेन्टरमा फालिएको भेटियो । जसमा उनको फिंगरप्रिन्ट र डेथ क्याप मसरूमको अवशेष फेला परेको थियो ।
अभियोजकका अनुसार खाना खुवाएपछि प्याटरसनले आफैँ बिरामी भएको नाटक गरेकी थिइन । प्रमाण नष्ट गर्न फोन र अन्य उपकरण रिसेट गरेको र डिहाइड्रेटर पनि फालेको पाइएको छ ।
हालको लागि प्याटरसन दोषी ठहर भइसकेकी छन्। अब अदालतले उनको सजाय घोषणा गर्ने मिति तय गर्नेछ।






