अमेरिकाले भन्यो : अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य रोक्ने इरानी निर्णय अस्वीकार्य
प्रकाशित मिति : असार १८, २०८२ बुधबार
इरानी राष्ट्रपति मसउद पेझेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सहकार्य रोक्ने कानूनलाई स्वीकृति दिएका छन् ।
यो कदमले इरानले आफ्नो क्षतिग्रस्त आणविक कार्यक्रम पुनः सुरु गर्न लागेका प्रयासहरूलाई अन्तर्राष्ट्रिय निगरानीबाट टाढा राख्ने संकेत दिएको छ ।
यो निर्णय एक हप्ता अगाडि इरानी संसदले संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायसँग सहकार्य निलम्बन गर्ने कानून पारित गरेपछि आएको हो।
इरानले आइएइए लाई इजरायलसँग मिलेर आफ्नो आणविक केन्द्रहरूमा हमला गर्न मार्ग तयार गराएको आरोप लगाएको छ । जुन आरोप आइएइए ले अस्वीकार गरेको छ।
राष्ट्रपति पेझेश्कियानले इरानको आणविक ऊर्जा संगठन, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद, र परराष्ट्र मन्त्रालयलाई सो कानून कार्यान्वयन गर्न आदेश दिएका राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ।
इरानको फोर्डो युरेनियम प्रशोधन केन्द्रको नयाँ उपग्रह तस्वीरहरूमा गाडीहरू, खुद्ने उपकरण, क्रेन र अन्य गतिविधिहरू देखिन्छन् । जुन गत हप्ता अमेरिकी आक्रमणबाट बनेका खाल्डोहरूसँग नजिकै छन् ।
यो नयाँ कानून कहिले र कसरी कार्यान्वयन गरिन्छ भन्ने अझै स्पष्ट छैन, तर यसले आइएइए को निरीक्षण बिना नै इरानले आफ्नो आणविक कार्यक्रम पुनर्निर्माण गर्न मार्ग खुलाउने देखिन्छ ।
यद्यपि, इरान आणविक हतियार नफैलाउने सन्धि को हस्ताक्षरकर्ता हो । जसले शान्तिपूर्ण प्रयोजनको सुनिश्चितताका लागि निगरानी र निरीक्षण अनिवार्य बनाउँछ ।
अमेरिकी विदेश मन्त्रालयले इरानको यो निर्णयलाई ‘अस्वीकार्य’ बताउँदै तेहरानलाई ‘ढिलाइ नगरी पूर्ण सहकार्य’ गर्न आह्वान गरेको छ । प्रवक्ता ट्यामी ब्रुसले भनिन्, ‘इरानसँग अहिलेसम्म शान्ति र समृद्धिको बाटो रोज्ने अवसर छ।’
जर्मनीले भने राष्ट्रपति पेझेश्कियानको यो निर्णय ‘विनाशकारी संकेत’ भएको बताएको छ । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले इरानको निर्णयलाई ‘चिन्ताजनक’ बताएका छन्। उनले महासचिव एन्टोनियो गुटेरेसको तर्फबाट पनि इरानलाई आइएइए सँग सहकार्य गर्न पुनः आग्रह गरे।
गत महिना इजरायलले इरानका सैन्य कमाण्डरहरू, आणविक केन्द्रहरू र वैज्ञानिकहरूलाई लक्षित गरी आक्रमण गरेको थियो । त्यसको एक सातापछि अमेरिकाले पनि समर्थनस्वरूप नतांज, इस्फहान र फोर्डो स्थित आणविक केन्द्रहरूमा हमला गरेको थियो ।
१२ दिन लामो इरान इजरायल द्वन्द्व गत हप्ता युद्धविरामसँग समाप्त भएको थियो। इरानले ती हमलामा उसका आणविक संरचनाहरू गम्भीर क्षतिग्रस्त भएको बताए पनि युरेनियम प्रशोधन कार्य ‘शान्तिपूर्ण उद्देश्य’ का लागि जारी राख्ने दाबी गरेको छ।
इरानका सर्वोच्च नेता अयातोल्लाह खमेनीले पटक पटक इरानले आणविक बम निर्माण गरिरहेको दाबी अस्वीकार गर्दै आएका छन् । उनका अनुसार, इस्लाममा सामूहिक विनाशका हतियारहरू निषेधित छन्।
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा ओबामा प्रशासनले गरेको आणविक सम्झौता तोडेपछि युरेनियम उच्च स्तरमा प्रशोधन गर्न सुरु गरेको हो।






