लस एन्जलसमा मरीनले नागरिकलाई पक्राउ गरेपछि विरोधीहरुले भने : लोकतन्त्रमाथिको ‘आक्रमण’
प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शनिबार
अमेरिकाको लस एन्जलसमा अमेरिकी मरीनहरूले एकजना नागरिकलाई पक्राउ गरेका छन । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा सैन्य बलको दुर्लभ प्रयोगलाई जनाउँछ। यो घटनाले आगामी विरोध प्रदर्शनहरूको पूर्वसन्ध्यामा महत्त्वपूर्ण राजनीतिक र कानूनी प्रश्नहरू समेत उठाएको छ।
अमेरिकी भूतपूर्व सैनिक र अमेरिकी नागरिक २७ वर्षीय माकोस लियो लाई लस एन्जलसको विलशायर फेडरल बिल्डिङको नजिकैबाट पक्राउ गरिएको हो ।
प्रतिबन्धित क्षेत्र पार गर्दा मरीनहरूले उनलाई जिप टाईपले बाँधेर अमेरिकी होमल्याण्ड सेक्युरिटीका अधिकारीहरूलाई बुझाएका थिए। लियोका अनुसार उनले सबै आदेशहरू पालन गरे र मरीनहरूले उनलाई गल्तीले प्रदर्शनकारी ठानेका थिए।
अमेरिकी सेनाका प्रवक्ता अनुसार सक्रिय ड्युटी सेनाले ‘विशेष परिस्थितिहरूमा’ नागरिकलाई अस्थायी रूपमा नियन्त्रणमा लिन सक्छ । तर औपचारिक गिरफ्तारी भने नागरिक कानून प्रवर्तन निकायले मात्र गर्न सक्छ। यो घटनाले अमेरिकी इतिहासमा सैन्य बलको नागरिक क्षेत्रमा प्रयोगको कानूनी दायरालाई पुनः परीक्षणमा ल्याएको छ।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले ट्रम्पको सैन्य प्रयोगलाई ूलोकतन्त्रमाथिको आक्रमणू भन्दै यसको विरोध गरेका छन्।
यसैगरी, लस एन्जलसकी मेयर करेन बासले पनि सैन्य हस्तक्षेपको आलोचना गर्दै, ‘हामी शान्तिपूर्ण विरोधको अधिकारको सम्मान गर्छौं, तर हिंसा र विध्वंस अस्वीकार्य छ,’ भनेकी छन्।
अमेरिकी सेना र नेशनल गार्डको उपस्थिति लस एन्जलसमा थप बढेको छ। प्रदर्शनकारीहरूले सैन्य हस्तक्षेपको विरोधमा देशभरि १ हजार ८०० भन्दा बढी विरोध प्रदर्शनको योजना बनाएका छन्।
ट्रम्प प्रशासनले सैन्य बलको प्रयोगलाई आवश्यक ठानेको छ । विरोधीहरुले यसलाई अत्यधिक र संवैधानिक उल्लंघनको रूपमा हेरिरहेका छन्।
यो घटनाले अमेरिकी नागरिक अधिकार, सैन्यको आन्तरिक प्रयोग र राष्ट्रपति अधिकारको सीमाबारे गहिरो बहसलाई जन्माएको छ।






