अमेरिकाको मासाचुसेट्समा ८ एकड जग्गा खरिद गरी किरात राईको साकेलाथान र चुलाथान स्थापना


प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले मासाचुसेट्सको ब्रिमफिल्ड टाउनमा ८.०२ एकड जग्गा खरिद गरी अमेरिकामा रहेका सम्पूर्ण किरात राईहरूको लागि साकेलाथान र चूलाघरमा सांस्कृतिक साझा चुलाथानको स्थापना गरेको छ। यो परियोजना साकार पार्नका लागि संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार बिष्णु राईले साकेलाथान परियोजना संयोजकको रूपमा पाँच वर्षसम्म  प्रयास गरेका थिए ।

चूलाघरमा चूलाथान (दायाहुईलुंग/सुप्तुलुंग/सुप्तुलु, बोकुलु) राख्नका लागि प्राकृतिक शिला ढुंगाको खोजी गरिएको थियो । सामूहिक सोच र पितृ पूजा गर्दा मनबाट भक्तिभाव जाग्ने प्राकृतिक अवस्थाको, आकर्षक तर काटछाँट नगरिएको शुद्ध शिलाको आवश्यकता थियो। यस्तो शिला पाउन चुनौतीपूर्ण भए तापनि  युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाका महासचिव मुक्ति नारायण राई, उहाँकी श्रीमती भोज कुमारी राई र भतिज राजेन्द्र राईले आन्द्र महासागरको उत्तरी किनारास्थित न्यूह्याम्सायर राज्यको न्यूक्यासल सीटीको ग्रेट आइल्याण्ड कमन्समा रहेको न्यु क्यासल रक बीच क्षेत्रमा खोजी गरे।

गत महिना २ दिन खोज्दा समुद्रको छालले हजारौं वर्ष लगाएर कुँदेका चारवटा अत्यन्तै राम्रा शिला-ढुंगाहरू फेला पारिएको थियो । यीमध्ये तीनवटा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको सांस्कृतिक चूला बनाउन र एउटा साकेलाथान थपना गर्नका लागि प्रयोग गरिएको छ ।  यी शिलाहरू ल्याउँदा न्यु क्यासल रक बी मा चारवटा ढुंगाहरू साटासाटको रूपमा छाडिएको थियो । घर ल्याएपछि तिते-पाती र चोखो पानीले शुद्धीकरण गरी वैशाखे पूर्णिमाको दिन साकेला भूमीस्थित चूला-घरमा ल्याइएको हो ।

वैशाखे पूर्णिमाको शुभ-साइतमा अमेरिकाको म्यासाचुसेट्स राज्यको १४ पेज हिल रोडस्थित साकेलाथान-चूलाघरमा न्युयोर्क निवासी नोक्छो  पदम बहादुर राईबाट किरात मुन्धुम अनुसार सांस्कृतिक चूलाको स्थापना गरिएको थियो । यसलाई दायाहुईलुंग, सुप्तुलुंग, बोकोली, सुप्तुलु वा चूला जे भनिए पनि यो चूला अमेरिकाभरिका किरात राईहरूको प्रयोजनका लागि भएको जनाइएको छ । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो चूला वैशाखे पूर्णिमाको उभौली साकेला र मंसिरे पूर्णिमाको उधौली साकेलामा पितृ पूजा गर्दा पितृहरू चूलामा आउन, रहन र बस्न सकून् भन्ने उद्देश्यले स्थापना गरिएको हो। यो चूला सम्पूर्ण किरात राईभाषीहरूको साझा हुने गरी संस्कार र संस्कृति हस्तान्तरण/पुस्तान्तरण गर्ने हेतुले युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले यसको स्थापना गरेको छ। एउटा अण्डाकार सेतो ढुंगालाई भने साकेलाभूमीमा रहेको सल्लाको फेदमा साकेवा/साकेलुडको रूपमा साकेलाथान बनाई स्थापना गरिएको छ । 

नोक्छो/धामी/मांग्पा/रिसिमी/तयामी/पासोंले यस सांस्कृतिक चूलाको नाम युक्रोआ – दायाहुईलुग/सुप्तुलुंग/सुप्तुलु/बोकोली चूला राखिदिएका छन्। अब  सांस्कृतिक नाम पुकार गरेर नै चूलामा गरिने सबै प्रकारका पूजा-आजा प्रारम्भ गरिनेछ र पित्री/मांगहरूबाट ज्ञान, बुद्धि र बलको आशीर्वाद लिइनेछ।

यो चूला सबै किरात राईभाषीहरूको साझा हो भन्ने जनाउनका लागि नोक्छोबाट सबै भाषामा बोलिने चूलाका नामहरू पुकारेर, दर्शाएर अक्षेता, बेछु, वासिम, दाम चढाएर विधिवत रूपमा यो सांस्कृतिक चूला स्थापना गरिएको छ।

विवाह जस्ता कार्यका लागि एउटै चूलाबाट निकाल्ने र भित्र्याउने कुरा नमिल्ने भएकाले महिला पक्ष अर्थात् दुलहीको हकमा अस्थायी चूला बनाई विवाह प्रयोजनका लागि मात्र प्रयोग गर्न सकिने गरी यो बाध्यात्मक परिस्थितिमा पनि चूला स्थापित  गरिएको छ। यसबाट सुम्निमा पारुहांग र पितृहरू/मांगहरूबाट कुनै बाधा, अड्चन, आपत-विपत र दोष नआओस् भनी नोक्छोबाट विधिवत मुद्दुमी ढंगबाट नै चूलामा बिन्ती चढाएर चूला स्थापना गरिएको जनाइएको छ ।

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले यो वर्षको उभौली आफ्नै जग्गामा मनाउने निर्णय गरेको थियो। जग्गा समथर बनाउन, गाडी जाने बाटो बनाउन र चूलाघर मर्मत गरी चूलाथान स्थापना गर्न समय छोटो भए तापनि संयोजक बिष्णु राईको नेतृत्वमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका  केन्द्र र न्यू इङ्गल्याण्ड च्याप्टरको सक्रिय सहयोगबाट यो सम्भव भएको छ । 

संयोजक बिष्णु राईले यस कार्यमा सहयोग पुर्‍याउने युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाका  केन्द्रीय अध्यक्ष  जय थुलुंग राई, महासचिव  मुक्ति राई, कोषाध्यक्ष राजेन कुथुमी लगायत न्यू इङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण राई र उपाध्यक्षहरू सदस्य राई,  हरि राई, महासचिव  राकेश राई, कोषाध्यक्ष चन्द्र राई, कार्य समिति सदस्य  तेजिन्द्र खत्री,  नुरहॉंग राई र युवराज राई, सल्लाहकार  केबी राई, तथा चम्पा राई, निंग्मा राई, भोज कुमारी राई, प्रमिला राई, प्रेमा राई, सबिना राई र भेनिसा राईलाई धन्यवाद दिएका छन् । साथै, उपयुक्त जग्गा खोज्ने  टेक नारायण यादवलाई पनि सधैं सम्झिरहने बताएका छन् । संयोजकले यस परियोजनालाई सफल बनाउन आर्थिक सहयोग गर्ने सबै महानुभावहरूलाई धन्यवाद दिएका छन् । 

अमेरिकन नेपाली कलाकार संघकी अध्यक्ष तथा राई समुदायकी चर्चित कलाकार बसन्ती राईले साकेलाथान परियोजनाका संयोजक विष्णुकुमार राईलाई सम्मान गरेकी छिन्। यो सम्मान साकेला उभौलीको अवसरमा प्रदान गरिएको हो।

राईले विष्णुकुमार राईलाई १ हजार डलर मूल्य बराबरको २४ क्यारेट सुनको ब्याज लगाई हार्दिकताका साथ सम्मान गरिएको हो । राईका अनुसार यो पवित्र वागोको चिन्ह अंकित ब्याज व्यक्तिगत रूपमा प्रदान गरिएको हो।

अमेरिकावासी किरात राईहरूको लागि साकेलाथान र चूलाघर निर्माण गर्ने सपनाको परियोजना सफलतापूर्वक सम्पन्न गर्न विष्णुकुमार राईले देखाएको अथक परिश्रम, मेहनत र कुशल नेतृत्वदायी भूमिकाको कदर स्वरूप यो सम्मान प्रदान गरिएको हो। 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com