साउदी अरबलाई १४२ बिलियन डलर मूल्यको हतियार प्याकेज बिक्री गर्न अमेरिका सहमत
प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार
APTOPIX Trump Mideast
अमेरिकाले साउदी अरबलाई १४२ बिलियन डलर मूल्यको हतियार प्याकेज बिक्री गर्न मंगलबार सहमति जनाएको छ। ह्वाइट हाउसको तथ्य पत्रअनुसार यो सम्झौता अमेरिकी इतिहासमा ‘सबैभन्दा ठूलो रक्षा सहयोग सम्झौता’ हो।
यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी राजधानी रियाद भ्रमणका क्रममा हस्ताक्षर गरिएको हो। सम्झौतामा हवाई र मिसाइल रक्षा, वायुसेना र अन्तरिक्ष प्रगति, समुद्री सुरक्षा र सञ्चार क्षेत्रमा एक दर्जनभन्दा बढी अमेरिकी रक्षा कम्पनीहरूसँगको सहकार्य समावेश छ।
ह्वाइट हाउसले यो सम्झौतालाई दुई देशबीचको साझेदारी सुदृढ गर्ने प्रतिबद्धताको स्पष्ट प्रदर्शन भएको बताएको छ। रोयटर्सका अनुसार यो प्याकेज १०० अर्ब डलरभन्दा बढी मूल्यको हुने अनुमान गरिएको थियो।
लकहिड मार्टिन कर्पले सी-१३० परिवहन विमान, मिसाइल र रडार बिक्री गर्ने अपेक्षा गरिएको छ। आरटीएक्स कर्प, बोइङ र नर्थ्रोप ग्रुम्मनका प्रमुख कार्यकारीहरू साउदीमा उपस्थित हुने अनुमान छ, यद्यपि ह्वाइट हाउसले कुनै विशेष उपकरण वा निर्माताको पुष्टि गरेको छैन।
साउदी अरब अमेरिकी हतियारको सबैभन्दा ठूलो ग्राहक हो। सन् २०१७ मा ट्रम्पले ११० बिलियन डलरको बिक्री प्रस्ताव गरेका थिए, तर सन् २०१८ सम्म केवल १४ दशमलव ५ अर्ब डलरको बिक्री शुरू भएको थियो। साउदी पत्रकार जमाल खाशोगीको हत्यापछि अमेरिकी कंग्रेसले यी सम्झौतामाथि प्रश्न उठाएको थियो।
यसैबीच, साउदीले लकहिडको एफ-३५ लडाकू विमान खरिद गर्न इच्छुक रहेको चर्चा छ, तर अमेरिकाले यो उन्नत हतियार बिक्री गर्न अनुमति दिने वा नदिने स्पष्ट छैन। इजरायल, जसले नौ वर्षदेखि एफ ३५ सञ्चालन गरिरहेको छ, लाई उन्नत हतियारमा प्राथमिकता दिने अमेरिकी नीतिका कारण यो सम्झौता जटिल बन्न सक्छ।
यदि यो बिक्री स्वीकृत भएमा, साउदी अरब मध्यपूर्वमा इजरायलपछि एफ-३५ सञ्चालन गर्ने दोस्रो देश बन्नेछ।






