डिभी लोटरीको नतिजा सार्वजनिक, परे/नपरेको यसरी चेक गरौं
प्रकाशित मिति : बैशाख २०, २०८२ शनिबार
अमेरिकाको डिभी लोटरीको नतिजा प्रकाशित भएको छ । न्युयोर्क समय अनुशार मध्यान्ह १२ बजे सन् २०२६ को डिभी लोटरीको नतिजा प्रकाशित भएको हो । अब अनलाइनमा हेर्न सकिने अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।
विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।
गतबर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् । डिभी २०२६ का आवेदकहरुलाई कम्तीमा सन् २०२६ को सेप्टेम्बर ३० सम्म कन्फर्मेशन नम्बर साथमा राख्न सुझाव दिइएको छ ।
तपाईसँग कन्फर्मेशन नम्बर छ भने तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ । डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला ।
डिभी परे नपरेको चेक गर्ने एकमात्र आधिकारिक माध्यम भनेको अमेरिकी विदेश मन्त्रालयको यो वेवसाइट नै हो । कतिपय ठगहरुले डिभी परेको भन्दै इमेल पठाउने र ठग्ने गतिविधिसमेत तीब्र भएकाले त्यसबारे सचेत हुन सावधान गराइएको छ ।
यदि तपाई डिभीका लागि छनौट हुनुभएन भने तपाई छनौट नहुनुभएको सुचना स्क्रीनमा देख्न सक्नुहुनेछ । यदि तपाई छनौट हुनुभएको खण्डमा त्यसपछिको प्रकृयासहितको पत्र स्क्रीनमा देख्न सक्नुहुनेछ ।
अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ (सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।
डाइभर्सिटी भिसा लोटरी कार्यक्रम अध्यागमन र राष्ट्रियता ऐन द्वारा स्थापित गरिएको थियो, यसको समाप्ति वा परिमार्जन केवल संसदले बिल पारित गरेमामात्र सम्भव छ । सन् १९९५ देखि ५७ हजार भन्दा बढी नेपालीहरूले डिभी चिठ्ठा मार्फत ग्रीन कार्ड प्राप्त गरेका छन्, जुन अमेरिकामा रहेका सबै नेपाली ग्रीनकार्ड प्राप्तकर्ताहरूको २५ प्रतिशत भन्दा बढी हो । नेपालीहरूलाई विश्वभर डिभी लोटरीबाट ग्रीन कार्ड प्राप्त गर्नेहरूमध्ये शीर्ष स्थानमा रहेका छन् ।
पछिल्ला वर्षहरूमा वार्षिक १० लाखभन्दा बढी नेपालीले डिभी कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् । यो कार्यक्रममा सहभागी हुने नेपालीहरूको संख्या वर्षौंदेखि निरन्तर बढ्दै गएको छ। पासपोर्ट आवश्यक पर्ने वर्षहरूमा सहभागिता अस्थायी रूपमा घटेको भएपनि त्यसपछि भने सहभागितामा बृद्धि भएको छ ।






