अमेरिकी सहयोगले नेपालमा लगानी गर्ने वातावरण छ भन्ने सन्देश दिएको छ : अर्थमन्त्री कार्की


प्रकाशित मिति : आश्विन ३, २०७४ मंगलबार

आश्विन ३, २०७४-नेपाललाई अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो दुईपक्षीय सहयोग उपलब्ध गराएको छ । त्यही सहयोग सम्वन्धी सम्झौतामा हस्ताक्षर गर्न अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अमेरिका आइपुगे । नेपाल फर्कनुअघि मन्त्री कार्कीसंग कान्तिपुरका चन्द्रशेखर अधिकारीले वासिङ्टन डीसीस्थित नेपाली दूतवासमा गरेको कुराकानी

मिलेनीयम च्यालेन्ज कोअपरेसन (एमसीसी) मा हस्ताक्षर गर्न आफैं नेपालदेखि अमेरिका आउनु भयो नि, किन ?

नेपालले पहिलो पटक यति ठूलो सहयोग पाउने भएकाले निकै ब्यस्त कार्यतालिका रहँदा रहँदै पनि दुई दिनको लागि अमेरिका आएको हुँ । यसअघिको प्रयास धेरैको भएपनि मेरो समयमा हस्ताक्षर हुन लागेको र सहयोगमा एउटा ठूलो सन्देश समेत रहेकाले आफै आउनु परेको हो । मलाई पनि आउन किन मन लाग्यो भने नेपालमा यति धेरै रकम दुईपक्षीय अनुदान सहयोगमा आएको पहिलो हो । त्यो पनि मित्र मुलुक अमेरिकाले दिन लागेको । यसैले एक दिनको लागि दुई दिन यात्रा गरें । अन्य मुलुकका त राष्ट्रपति (कार्यकारी प्रमुख) नै उपस्थित भएर वा आफैले हस्ताक्षर गर्ने भएकाले यसलाई हामीले पनि उच्च महत्व दिएका हौं ।

प्रधानमन्त्री नै अमेरिका आउँदै हुनुहुन्थ्यो । प्रधानमन्त्रीकै टोली मध्ये कसैको उपस्थितिमा गराएको भए हुन्थेन ?

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

हुन्थ्यो होला । तर, समयको कुरा थियो । अनि अर्को कुरा धेरै विषय अर्थ मन्त्रालयसँग नै सम्बन्धित रहेकाले पनि अर्थमन्त्री स्तरमा सम्झौता गर्न परेको हो । सरकारको निर्णय हो यो । मैले भन्ने भन्दा पनि सरकारले निर्णय गरेर म आएको हुँ । म आउँदा वेफाइदा भन्दा बढि फाइदा नै भएको होला । अमेरिकाले हामीलाई सहयोग गरेर एक प्रकारको सन्देश पनि दिएको छ ।

कस्तो सन्देश ?

नेपालमा अब लगानी गर्न मिल्ने अवस्था छ भन्ने सन्देश गएको छ । यो सहयोग असल शासन, राजनीति स्थायित्वतर्फ उन्मुख मुलुक, लोकतन्त्रमा र मानवअधिकारमा विश्वास तथा विकासमा जोड दिएकाहरुलाई दिने हुनाले यसबाट राम्रो सन्देश गएको हो । मुलुकमा विकासको प्रक्रिया अघि बढेको भन्ने सकारात्मक सन्देश जानु आफैमा निकै राम्रो कुरा हो । नेपालमा लगानी गर्ने अवस्था छैन भन्ने धारणाहरु ब्यक्त भइरहेको हुन्छ । तर, त्यस्तो अवस्था छैन अहिले । संविधान जारी गर्दै स्थानीय निर्वाचन सम्पन्न गराएर प्रदेश र संघको निर्वाचन गराउन लागेका छौं । यो सन्देश चानचुने होइन ।

अमेरिकाको यो सहयोगले हामीलाई हौसला मिलेको र अन्य मुलुकलाई पनि नेपालमा लगानी गर्न हुन्छ भन्ने सकारात्मक सन्देश दिन सफल भएको भन्ने यहाँको धारणा हो ?

निश्चय नै । कतिपयले नेपालमा लगानी गर्ने अबस्था राम्रो छैन भनेका होलान् । कति हिचकिचाएका होलान् । तर, अहिलेअमेरिकाले निश्चित समय सीमा तोकेर सहयोग गर्नु भनेको नेपाल अब स्थायीत्वतिर गएको छ भन्ने सन्देश हो । नेपालमा काम गर्न सकिन्छ लगानी गर्दा हुन्छ भन्ने ठूलो सन्देश गएको मेरो बुझाई छ ।

किन अमेरिकाले नेपाललाई यस्तो सहयोग गरेको होला ? यसको कुनै भित्रि कारण छन् की ?

हामीमा सबै पक्षलाई सकारात्मक भन्दा बढि नकारात्मक कोणबाट हेरिहाल्ने बानी छ । त्यो राम्रो होइन । त्यसमा अध्ययन गरेर विचार पुर्‍याएर मात्र बोल्न वा टिप्पणी गर्नुपर्छ । सामाजिक सञ्जालमा के के लेखेको पनि देखें । सतही रुपमा होइन, यथार्थमा हामी पुग्न सक्नुपर्छ । यो सहयोग अमेरिकी चाहनाबाट मात्र होइन, हाम्रो अथक प्रयासबाट भएको हो । आरम्भदेखि अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र अमेरिकास्थित राजदूतावासको सक्रियता बिना सफल हुन सक्ने नै थिएन । हो, अमेरिकाले पनि नेपाललाई सहयोग गर्ने रोस्टरमा राखेर छलफल अघि बढाएपछि हाम्रोतर्फ भएको गृहकार्यले नै यो निष्कर्षमा पुगेको छ । मैले राजदूत डा. अर्जुनबहादुर कार्की र उनको टिम, अर्थमन्त्रालयका बैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र उनको टिम, अन्य प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने निकायको टिकवर्कको रुपमा यसलाई लिएको छु । यसमा अमेरिकी चाहना भनेको नेपालको विकास प्रक्रिया अघि बढोस भन्ने नै हो । त्यसको लागि यो एमसीसी स्थापना गरेर विश्वभर सहयोग गरिरहेको छ । यसमा नेपाल पर्नु स्वभाविक हो । अमेरिका र नेपालको सम्वन्धको ७० औं बर्ष गाँठमा पुगेको अवसरमा पनि हो यो । अमेरिकी ५० अर्वसँगै हामीले पनि १३ अर्व रुपैयाँ यसमा राखेका छौं । यो संयुक्त कार्ययोजना हो ।

समय सीमा तोकिएकोले यो अलिक चुनौतिपूर्ण झै लाग्दैन ?

ठीक भन्नु भयो । समय सीमाले गर्दा गाह्रो हुने हो की भन्ने पनि छ । तर, हामी सधै एउटै परियोजनामा बर्षौं लगाएर बसिरहने हो र ? त्यसैले यो परियोजना समयमा सम्पन्न गरेर यसबाट केही सन्देश दिनु महत्वपूर्ण छ । परियोजना समयै सकाएर मुलुक अब विकासको प्रक्रियामा अघि बढेको छ भन्ने सन्देश दिने अवसर पनि हो यो । नेपाल शान्ति प्रक्रियापछि राजनीतिक स्थायित्वसँगै बिस्तारै विकास प्रकृयामा अघि बढेको सन्देश यो सहयोगबाट गएको छ । त्यो सन्देश दिन जरुरी पनि छ । राजनीतिक अस्थिरता विकासको बाधक थियो भन्ने सन्देश दिन पनि जरुरी छ ।

लामो समयपछि अमेरिका आउनु भएको रहेछ । गैरआवासीय नेपालीलाई पनि भेट्नु भयो कस्तो पाउनु भयो अमेरिकामा नेपालीको उपस्थिति ?

हो, म अमेरिका २५ बर्षपछि आएँ । मलाई लामो प्लेन यात्रामा खासै रुचि छैन । तर, सम्झौताको लागि आउनै पर्ने भएकोले आएको हुँ । यो छोटो समयमा पनि धेरै नेपालीसँग भेट भयो । उहाँहरुको कुरा सुनियो । उहाँहरु सबै नेपालको राजदुतको रुपमा अभ्यस्त हुन आवश्यक छ । सरकारी काम गर्ने निकाय दूतावास भए पनि जनस्तरबाट काम गर्ने उहाँहरु नै हो । कति हामी अझै नेपाली नै होला, कति पय अमेरिकन भइसकेका छौं होला । तर, मन हाम्रो नेपाली नै हो । मुलुकको विकासको लागि केही काम गर्न आवश्यक छ । नेपालीहरुले आफ्नो मुलुकप्रति देखाएको सद्भावनालाई म सम्मान गर्छु । यस्तो सद्भाव सधै रहोस् । अनि विदेशमा रहेका नेपालीहरु मिलेर बस्न सक्नुपर्छ । मुलुक स्थायित्वतिर गइरहेको बेला सबै मिलेर अघि बढेको सन्देश दिन जरुरी छ ।

Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com