प्रेमिकामाथि प्रेमीको घात


प्रकाशित मिति : भाद्र १, २०७४ बिहीबार

यसरी बदलियो दुई वर्ष लामो प्रेम हत्यामा

धादिङकी २५ वर्षीया राधिका श्रेष्ठ न्युरोडको मख्खनगल्लीस्थित न्यु डालिज साडी संसारमा काम गर्थिन् । कालीमाटी तरकारी बजारनजिकै बस्ने राधिका नियमित हिँड्ने बाटो थियो— मरु । जहाँ भक्तपुर बागेश्वरीका २८ वर्षीय प्रकाश लामिछानेको मोबाइल पसल थियो । सानैदेखि बुवा–आमालाई नटेर्ने प्रकाश आइटीमा पोख्त थिए । त्यसैले आमाबुवाले छोरा नबरालियोस् भनेर मरुमा मोबाइल पसल खोलिदिएका थिए, जसलाई प्रकाश तथा उनका नातेदार भाइ मिलेर चलाउँथे ।

राधिका मरुकै बाटो भएर न्युरोड आउ–जाउ गर्थिन् । यही ओहोर–दोहोर नै उनीहरूबीच चीनजानको माध्यम बन्यो । त्यो चीनजान दुई वर्षअघि प्रेममा परिणत भयो । राधिका र प्रकाश दुवैको आर्थिक अवस्था राम्रै थियो, तर प्रकाशको महत्वाकांक्षाले त्यसमा उनलाई खुसी प्रदान गर्न सकेन ।

पैसा कमाउने लोभमा प्रकाशले अपहरणको एउटा योजना बनाए । उनको योजनामा उनका मामाका छोरा भक्तपुर बागेश्वरीका २७ वर्षीय सरोज घोरासैनी तथा साथी २४ वर्षीय किशोर गिरी सम्मिलित भए । प्रकाशको अपहरणको योजनाको टार्गेट बनाइए प्रेमिका राधिकाले काम गर्ने साडी पसलका सञ्चालक— श्यामसुन्दर अग्रवाल । ‘अपहरण गरेर फिरौती असुल्ने योजनाअनुसार राधिकालाई अग्रवालसम्म पुग्ने माध्यमका रूपमा प्रयोग गरियो,’ अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसीले भने, ‘राधिकाको माध्यमबाट व्यापारी अग्रवालसम्म पुगेका उनीहरूले ५ फागुनमा उनलाई सुन्धाराको एक होटलमा बन्धक बनाउँदै १० लाख ७० हजार रुपैयाँ फिरौती असुले ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रेमीको यो योजनामा मतियार बन्ने राधिकाको निर्णय नै उनको मृत्युको कारण बन्न पुगेको प्रहरीको भनाइ छ । ५ फागुनमा अग्रवालको अपहरण गरेर फिरौती असुलेको केही घण्टामै उनले आफ्नो ज्यान गुमाइन् । उक्त साँझ वसन्तपुरमा फिरौतीबापत प्राप्त रकम बाँडफाँड भयो । बाँडफाँडपछि ६ बजे प्रकाश र राधिका ट्याक्सी लिएर भक्तपुर बागेश्वरीस्थित प्रकाशको घरमा पुगे । अर्को ट्याक्सीमा किशोर र सरोज पनि त्यहीँ पुगे । उक्त घरमा प्रकाश एक्लै बस्थे । नमिल्ने र अराजक स्वभावका छोरासँग बस्न नसकेपछि प्रकाशका बुवाआमा छुट्टै पसल खोलेर अन्तै बस्छन् ।

घरमा पुगेपछि प्रकाशलाई राधिकाका कारण आफू पक्राउ पर्ने र पोल खुल्ने डर भयो, जसका कारण उनले आफ्नी दुई वर्षदेखिकी प्रेमिका राधिकाकै हत्या गर्ने मनसाय बनाए । सोही योजनाअनुरूप अपहरणमा प्रयोग गर्न जैसीदेवलमा किनिएको डोरी र कार्टुन टेपको सहायताले राधिकाको मुख बन्द गरियो भने उनको खुट्टा डोरीले बाँधियो । त्यसपछि प्रकाशले उनको घाँटी थिचेर हत्या गरे । राधिकाको हत्यापछि उनको मृतक शरीरलाई प्लास्टिकको बोरामा हालेर मोटरसाइकलमा राखी घरभन्दा झन्डै २ सय मिटर तल मुहानपोखरी भन्ने ठाउँमा खाल्डो खनी पुरियो ।

अपहरणको १५ दिनपछि २० फागुनमा प्रहरीले सडेगलेको अवस्थामा राधिको शव फेला पार्‍यो । त्यसमा अनुसन्धान गर्दै जाँदा अपहरणसँग जोडिएको यो हत्याको पर्दाफास भएको हो । ‘राधिकालाई आफ्नो कमजोर कडी मानेपछि प्रकाशले उनको हत्या गरेको देखिन्छ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य भन्छन्, ‘यो अपराध मनोवृत्तिको पराकाष्ठा हो ।’ अमात्यका अनुसार बयानका क्रममा पक्राउ परेका किशोर गिरीले पनि प्रकाशले अग्रवालको अपहरण पश्चात आफूहरूको पोल खुल्ने डरले प्रेमिकाको हत्या गर्ने योजना बनाएको बयान प्रहरीलाई दिएका छन् ।

हत्या गरेको भोलिपल्ट प्रकाश प्लेन चढेर नयाँदिल्ली गए भने किशोर स्थलमार्ग हुँदै नयाँदिल्ली पुगे । सरोज भने काठमाडौंमै थिए । लामो समय दिल्ली बसेपछि किशोर गत बुधबार राति नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परे भने सरोजलाई भने दिउँसो प्रहरीले न्युरोडबाट पक्राउ गरिसकेको थियो । अपहरण र हत्याका मुख्य योजनाकार प्रकाश भने अझै फरार छन्।

यसरी भएको थियो अपहरण
४ फागुनमा साडी पसलका मालिक श्यामसुन्दर अग्रवालको अपहरण गर्ने योजनाअनुसार प्रकाश लामिछाने र किशोर गिरी काठमाडौंको गणबहालस्थित भारत होटल होलिल्याण्डको ५०१ नम्बर कोठा लिएर बसे, तर त्यसदिन अपहरणको योजना पूरा हुन सकेन् । त्यसको भोलिपल्ट दिउँसो ११ बजे उनीहरू भारत होटल होलिल्यान्ड छाडेर सुन्धाराको अर्को होटलमा सिफ्ट भए । राधिकाले सुन्धारास्थित सनसाइन होटलमा कोठा नम्बर ४०३ र ४०४ बुक गरिन् ।

४०३ नम्बरमा अग्रवालको अपहरणका लागि राधिका श्रेष्ठ, प्रकाश लामिछाने, सरोज घोरासैनी तथा किशोर गिरी तयारी अवस्थामा बसे । दिउँसो १ बजे राधिकाले श्यामसुन्दर अग्रवाललाई अर्जेन्ट काम छ भनेर सुन्धारा बोलाइन् । अग्रवाल सुन्धारा पुगेपछि उनलाई सनसाइन होटलको कोठा नम्बर ४०४ मा पुर्‍याइयो । दिउँसो २ बजे सोही कोठामा श्यामसुन्दर र राधिकाले रक्सी सेवन गरे । त्यसको केही समयपछि योजना मुताविक नै कोठा नम्बर ४०३ मा अग्रवाललाई अपहरण गर्न बसेका प्रकाश लामिछाने, सरोज घोरासैने र किशोर गिरी ४०४ नम्बर कोठामा प्रवेश गरे । उनीहरू सबै मिलेर श्यामसुन्दरको हातखुट्टा बाँधेर फिरौती मागे ।

अग्रवालले आफूसँग रहेको ७० हजार रुपैयाँ तुरुन्तै दिए । यति पैसाले मात्र उनीहरूलाई पुगेन् । राधिका पसलमा पुगी २ लाख नगद र ८ लाखको चेक लिएर आइन् । चेकमा अग्रवालले हस्ताक्षर गरे । १० लाख ७० हजार फिरौती लिएपछि उनीहरू अग्रवाललाई कोठामै छाडेर फरार भए । उनीहरू फरार भएपछि श्याम सुन्दरले निरन्तर ढोका ढकढक गरेपछि उनी अपहरणमा परेको रहस्य खुल्यो । दिउँसै राधिका र अग्रवाल बेपत्ता भएपछि उनको परिवार अपराध महाशाखा पुगिसकेको थियो ।

फरार भएका अपहरणकारीले भने साढे ४ बजे बैकबाट चेक साटे र वसन्तपुर पुगेर फिरौतीवापत आएको रकम बाँडफाँड गरे, जसमा सरोज र किशोरले २/२ लाख रुपैयाँ लिए भने बाँकी प्रकाश र राधिकाले आफूसँगै राखे । उनीहरू त्यहाँबाट प्रकाशको भक्तपुर बागेश्वरीस्थित घरमा पुगे, जहाँ प्रकाशलाई प्रेमिका राधिकाबाट पोल खुल्ने डर भयो । फलस्वरूप प्रकाशले राधिकाको हत्या गर्ने योजना बनाए जसमा उनले सरोज र किशोरको साथ प्राप्त गरे ।

एउटा रहस्यमय हत्याकाण्ड

दुई साताअघि मोरङको कटहरीमा मध्यदिनमै घरभित्रै सासू–बुहारीको गोली हानेर गरिएको हत्याको रहस्य प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । ४ चैतमा ४५ वर्षीया दीपा निरौला (डाँगा) तथा २३ वर्षीया अस्मिता भट्टराई (डाँगा) को दिउँसो घरभित्र एकैचोटि गोली हानी हत्या गरिएको थियो ।
मोरङको कर्सियामा धान–चामलको व्यापार गर्ने ६० वर्षीय इन्द्रचन्द्र डाँगाले आफ्नी जेठी श्रीमतीको मृत्युपछि अढाई वर्षअघि सोही ठाउँकी दीपा निरौलासँग अन्तरजातीय विवाह गरेका थिए । त्यस्तै इन्द्रचन्द्रका जेठी श्रीमतीतर्फका एकमात्र छोरा ३० वर्षीय राम डाँगाले पनि एक वर्षअघि काठमाडांै घर भै विराटनगर बस्दै आएकी अस्मिता भट्टराईसँग गत माघमा मारवाडी तथा हिन्दू संस्कारअनुसार विवाह गरेका थिए ।

सगोलमा बस्दै आएको उक्त परिवारको निवास विराटनगरसँग जोडिएको कटहरी, आदर्श टोलस्थित डाँगा निवासमा थियो जहाँ चैत ४ गते दिउँसो ४ बजे सासू–बुहारीको टाउकोमा गोली हानी विभत्स हत्या भयो । हत्याको कारण पैसा, यौन वा अरू के थियो अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय, मोरङका एसपी सन्दीपराज भण्डारी घटनाको अनुसन्धान भैरहेको र चाँडै सत्य–तथ्य बाहिर आउने दाबी गर्छन् । भण्डारीका अनुसार हत्यापछि सासू–बुहारीले लगाएका सुनका गहना र थोरै मात्र नगद हराएकाले लुटपाटका लागि अपराध भएको हो भन्ने कुरामा प्रहरी विश्वस्त हुन सकेको छैन ।

प्रोफेसनल सुटर प्रयोग भएको आशंका

डाँगा परिवारको घर बाक्लो बस्तीबीच भए पनि उक्त घटनाका सम्बन्धमा छिमेकीहरू कसैले पनि कुनै सुइँको पाउन सकेनन् । हत्या गरेर अपराधी भाग्न सफल भए पनि आसपासका कसैले पनि गोलीको आवाजका साथै चिच्याएको आवाजसमेत नसुनेकाले हत्यामा साइलेन्सर जडित पेस्तोल तथा पेसेवर हत्यारा प्रयोग भएको हुनसक्ने आशंका प्रहरीको छ । बिहान आफ्नो कारोबारमा गएका इन्द्रचन्द्र घर फर्किएपछि श्रीमती र बुहारीको बिभत्स मृत्यु भएको देखेका थिए र उनैले छोरा तथा प्रहरीलाई खबर गरेका थिए ।

दुवै सासू–बुहारीबीच सुमधुर सम्बन्ध रहेको तथा कुनै पारिवारिक खटपट नभएको बाबु–छोराले बताउँदै आएका छन् । हाल आ–आफ्ना पत्नीको आशौच बारेर बसिरहेका दुवैले उक्त हत्यालाई लिएर कसैमाथि शंका नभएकाले प्रहरीले चाँडोभन्दा चाँडो हत्यारा पत्ता लगाई आफूहरूलाई न्याय दिलाउनुपर्ने माग गरेका छन् । बाबु इन्द्रचन्द्र तथा छोरा राम एकै स्वरमा भन्छन्–किन र कसले हाम्रो खुसी खोसेको हो, हामी जान्न चाहन्छौँ, हाम्रा श्रीमतीको हत्या गर्नेहरूले उन्मुक्ति पाउनु हँदैन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com