पहिलेको गाउँ, अहिलेको बजार अक्षते


प्रकाशित मिति : चैत्र १३, २०७९ सोमबार

अक्षते पहिलेको गाउँ, अहिलेको बजार । वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो । खासगरी काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँ यही बजार हुँदै जानु पर्छ । त्यसले गर्दा यहाँ व्यापार व्यवसाय पनि राम्रो हुने गरेको पाइन्छ ।

विसं २०५४ मा सडकले जोडिएको अक्षते बजारमा लामो समयसम्म बस्ती विस्तार हुनसकेको थिएन । पछिल्लो आधा दशकमा यहाँ घर भवन बन्ने र बजार विस्तार तीव्रगतिमा भएको छ । कुनै बेला दैनिक उपभोग्य सामान किनमेल गर्न टाढा–टाढा पुग्ने स्थानीय अहिले घरमै पाउँछन् । अहिले अक्षते बजार काठेखोला गाउँपालिकाको पाला, भीमापोखरा, बिहुँ, तङ्ग्राम, धम्जालगायतका गाउँका स्थानीयको नजिकको बजार बनेको छ ।

गाउँमा सडक सञ्जाले जोडिन थालेपछि यस ठाउँमा चहलपहल बढ्न थालेको स्थानीय ५६ वर्षीय तोरणध्वज मल्लले बताउनुभयो । उहाँले एक दशक अगाडिसम्म अक्षतेमा दुई–चारवटा घरमात्रै रहेकामा अहिले दिनप्रतिदिन बढ्दै गएको सुनाउनुभयो । साढे दुई दशक पहिले यो ठाउँ सडक सञ्जालले जोडिए पनि पूर्वाधारका हिसाबले पछाडि परेको भन्दै अहिले सबै किसिमका सेवा–सुविधा थपिँदै गएपछि बस्तीसमेत विस्तार हुँदै गएको मल्लको भनाइ छ ।

उदयमान सहरका रूपमा विकास हुँदै गएको अक्षतेलाई व्यवस्थापन गर्न अहिलेदेखि नै लाग्नुपर्ने बताउनुहुन्छ । ढल व्यवस्थापन, नक्सा पासलगायतका कामको सुरुआत गर्नुपर्ने उहाँको भनाइ छ । अहिले बजार व्यवस्थापनका खाका नकोरे पछि समस्या आउने मल्ल बताउनुहुन्छ । खानेपानी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा पनि सरकारले काम गर्न बाँकी रहेको उहाँ सुनाउनुहुन्छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

“अक्षते पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ, यहाँ सडक आएपछि मात्रै विकासको सुरुआत भएको हो, सडक नआउनुभन्दा पहिले यहाँका मान्छे नुन– तेल ल्याउन पर्वतको कार्कीनेट पुग्थे, एक दिनमै गएर आउन गाह्रो पथ्र्यो, बागलुङ बजारमा पनि गाडी आइसकेको थिएन”, मल्लले भन्नुभयो, “अहिले त पहिलेको जस्तो समस्या छैन, सबै सेवा–सुविधा घरै अगाडि आएका छन्, यहाँ नपाएको सुविधा आधा घण्टामै बागलुङ बजारमा पुगेर लिन सकिन्छ ।”

स्थानीय तलबहादुर पुनले अक्षतेमा सेवा–सुविधा बढ्न थालेपछि ग्रामीण क्षेत्रबाट झरेर बसाइँ गर्न थालेको बताउनुभयो । पहिले यस ठाउँ खेतीयोग्य जमिन रहेको सुनाउँदै अहिले बजारका रूपमा विकास भएको पुनको भनाइ छ । सबैभन्दा पहिले यहाँ एसियाली विकास बैंक (एडिबी)ले सडक खुलाएको भन्दै पछि सरकारले मध्यपहाडी लोकमार्ग बनाएपछि अक्षतेले मुहार फर्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले जुन बजार बन्दै गरेको ठाउँ छ, यहाँ खेतीपाती हुन्थ्यो, धान, गहुँ र मकै फल्थ्यो, पछि–पछि बस्ती विस्तार हुँदै गएपछि खेतीयोग्य जमिनमा घर–भवन बन्न थाले, अहिले धेरै परिवर्तन भएको छ यो ठाउँ, पहिले सडक साँघुरो थियो, अहिले हिलो धुलो भए पनि अलि फराकिलो भएको छ, सडक कालोपत्र गर्ने काम पनि हुँदैछ ।

काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले गाउँपालिकाले बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि योजना बनाएको बताउनुभयो । घर भवन निर्माण लागि मापदण्डसमेत लागू गर्ने तयारीमा रहेको भन्दै जग्गा वर्गीकरण पनि गरिरहेको बताउनुभयो । पालिकाअन्तर्गत पर्ने बजारमा दीर्घकालीन व्यवस्थापन गर्ने गरी पालिकाले योजनाको सुनाउनुभयो ।

“गाउँ तथा बजार सबैतिर पालिकाले धेरै काम गर्नुपर्ने छ, अक्षते बजार काठेखोला गाउँपालिकाको मुख्य बजार रहेको हुँदा यहाँको सौन्दर्यकरणदेखि फोहर व्यवस्थापन, ढललगायत अन्य व्यवस्थापकीय पक्षलाई के–कसरी सुधार गर्न सकिन्छ र दीर्घकालीन हुनसक्छ भनी अध्ययन गरेका छौँ”, उहाँले भन्नुभयो, “अब विस्तारै यहाँको विकास र व्यवस्थापका काम हुँदै जाने छन् ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com